स्वदेशी उत्पादनमा भेदभावः आयातित लसुन र गोलभेडा किन महँगिए ?
सारांश
- बजारमा स्वदेशी उत्पादनभन्दा आयातित तरकारीको मूल्य महँगो छ, जसमा लसुन र गोलभेडा मुख्य छन्।
- चीनबाट लसुन आयातमा अवरोध र चाडपर्वका कारणले मूल्य बढेको बताइएको छ, साथै होटल तथा रेष्टुरेन्टको माग बढी छ।
- उपभोक्ता अधिकारकर्मीहरूले व्यापारीको बेइमानी र 'महँगो नै राम्रो' भन्ने भ्रमका कारण यस्तो अवस्था आएको आरोप लगाएका छन्।
काठमाडौँ । अहिले बजारमा एकै किसिमका तरकारीजन्य वस्तुमा फरक–फरक मूल्य छन् । अर्थात् स्वदेशी उत्पादनभन्दा आयातितको बजार मूल्य महँगो छ ।
कृषि विभागको एग्रिकल्चर मार्केट प्राइस इन्फमेसन सिस्टमद्वारा सार्वजनिक देशका विभिन्न तरकारी बजारहरूको मूल्य विवरणअनुसार भारत, चीनलगायत मुलुकबाट आयात गरिएका लसुन र गोलभेडा स्वदेशीभन्दा महँगो मूल्यमा बिक्री भइरहेको पाइएको छ । खासगरी स्वेदेशीभन्दा आयातित लसुनको मूल्य आकासिएको छ, स्वेदशीसँग मूल्यमा ठुलो अन्तर छ ।
कालीमाटी तरकारी बजार विकास समितिका अनुसार २०८२ पुस २२ गतेको मूल्य विवरणमा चिनियाँ लसुनको औसत मूल्य प्रतिकिलो ३३६.६७ रुपैयाँ छ भने नेपाली लसुनको मूल्य प्रतिकिलो औसत १९८.५७ रुपैयाँ । सामान्यतया नेपाली लसुन महँगो हुने गरे पनि अहिले अवस्था ठीकविपरीत छ ।
यस्तै कालीमाटी बजारमा नेपाली ठुलो गोलभेडाको मूल्य प्रतिकिलो औसत ११० रुपैयाँ हुँदा सोही खालको भारतीय गोलभेँडा भने १२० रुपैयाँ औसत मूल्यमा कारोबार भइरहेको छ । देशका ५ वटा तरकारी बजारहरूको मूल्य अवस्था हेर्दा लसुन र ठुलो गोलभेडा दुवैमा स्वदेशीभन्दा आयातितको मूल्य बढी देखिन्छ ।
कुन वस्तुको कहाँ कति छ मूल्य ? (२०८१ पुस २२ गतेको मूल्य विवरण)

स्रोतः कृषि विभाग
किन महँगो भयो चाइनिज लसुन ?
यसबारे कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक तथा सूचना अधिकारी विनय श्रेष्ठ बाटोको अवरोध र उपभोक्ताको माग धेरै भएका कारण मूल्य बढेको बताउँछन् । रातोपाटीसँगको कुराकानीमा निर्देशक श्रेष्ठले चीनतर्फको बाटोको अवस्था र चाडपर्वका कारण सामान आयातमा अवरोध हुँदा बजारमा चाइनिज लसुन अभाव भएको र मूल्य बढेको जानकारी दिए ।
उनका अनुसार चिनियाँ लसुनको प्रमुख उपभोक्ता आम सर्वसाधारण नभई होटल, रेष्टुरेन्ट र ठुला घरानाहरू हुन् । ‘नेपाली लसुन हामीजस्ता सामान्य उपभोक्ताले प्रयोग गर्छौँ, तर संस्थागत ग्राहकहरूले चाइनिज लसुन नै खोज्छन्,’ श्रेष्ठ खुलाउँछन् ।
हाल बजारमा उपलब्ध नेपाली लसुन पुरानो भइसकेको र गुणस्तर कम छ । यस्तोमा चाइनिज लसुनको माग होटल तथा रेष्टुरेन्ट क्षेत्रमा यथावत् छ । यताबाट माग नियमित हुने, तर उताबाट आपूर्तिमा समस्या आएपछि मूल्यमा चाप परेको उनले स्पष्ट पारे । यद्यपि अहिले नाकाको बाटो खुलिसकेको र आपूर्ति सहज हुँदै गरेकाले सम्भवतः अर्को हप्तादेखि लसुनको भाउ घट्ने उनले अनुमान गरे ।
यस्तै भारतीय ठुलो गोलभेडा महँगो हुनुको कारण पनि यसको विशेष प्रयोग नै रहेको श्रेष्ठ तर्क गर्छन् । ‘भारतीय ठुलो गोलभेडा विशेषगरी होटल, पार्टी र भोजभतेरमा सलादका लागि प्रयोग हुन्छ । यसको स्वाद र प्रयोग नेपाली सानो गोलभेडाभन्दा फरक हुन्छ,’ उनले भने ।
नेपाली गोलभेडा सामान्य भान्छामा पाक्ने भए पनि सलादका लागि ‘इन्डियन हाइब्रिड’ नै खोजिने हुँदा यसको मूल्य सधैं माथि हुने गरेको उनले बताए ।
‘व्यापारिक बेइमानी’ अर्को कारण
बजारमा देखिएको यो विरोधाभासपूर्ण अवस्थाका पछाडि व्यापारीहरूको ‘व्यापारिक बेइमानी’ मुख्य कारण रहेको उपभोक्ता अधिकारकर्मीहरूले आरोप लगाएका छन् । उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव विष्णुप्रसाद तिमिल्सिनाले व्यापारीहरूले विदेशी वस्तुमा बढी मुनाफा (कमिसन) देख्दा स्वदेशी उत्पादनलाई निरुत्साहित गरेको आरोप लगाएका छन् । उनका अनुसार व्यापारीहरूले उपभोक्तालाई ‘चिटिक्क परेको सेतो’ देखिने विदेशी लसुन भित्र्याएर बढी नाफा कमाउने खेल खेलिरहेका छन्, जबकि नेपाली लसुन स्वास्थ्यवद्र्धक भए पनि हेर्दा सानो र कालो देखिन्छ ।
‘महँगो नै राम्रो’ भन्ने भ्रममा उपभोक्ता
अधिकारकर्मी तिमिल्सिनाले व्यापारीहरूले बाहिरबाट आयात गरिने वस्तुमा अत्याधिक मुनाफा राख्ने गरेको र उपभोक्तामा ‘सस्तो वस्तु राम्रो हुँदैन’ तथा ‘महँगो वस्तु नै गुणस्तरीय हुन्छ’ भन्ने भ्रम परेको बताए ।
उनले आयातित तरकारीमा विषादीको प्रयोग र हाइब्रिडको जोखिम बढी हुन्छ भन्ने कुरा बुझाउन नसक्दा उपभोक्ताहरू महँगो विदेशी वस्तुतर्फ आकर्षित भएको बताए ।
स्वदेशी वस्तुलाई ‘स्टोरेज’ गर्ने र संरक्षण गर्ने दायित्वमा सरकार चुकेको पनि उनले आरोप लगाए । राज्य र स्थानीय तहले किसानको उत्पादनलाई बजारसम्म पुर्याउने र उचित भण्डारणको व्यवस्था गर्ने काममा पहल नगरेको उनको तर्क छ । स्वदेशी कृषि उपजको प्रवद्र्धन गर्न र उपभोक्तालाई विषादीरहित अर्गानिक उत्पादनको महत्त्व बुझाउन राज्यले नै पहल गर्नुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण