कांग्रेस-एमाले गठबन्धनले कोशीमा नेकपाको अवस्था खराब, कस्तो छ मतभार ?
विराटनगर । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बुधबार मनोनयन भइसकेको छ । कोशी प्रदेशमा तीन पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । अन्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध भएका छन् ।
कांग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) तथा नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र महिलामा नमिता न्यौपानेको उम्मेदवारी परेको छ । उम्मेदवारी दिएका नेताहरू अब आफ्ना एजेन्डासहित मतदाता (प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख) कहाँ पुग्ने छन् । कांग्रेस–एमाले र जसपाको मतभार दुई तिहाइ बढी भएकाले उनका उम्मेदवारले नै जित्नेमा शंका छैन । तर उनीहरुलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले चुनौती दिँदैछन् ।
५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य नयाँ आउने व्यवस्था छ । जसअनुसार यस पटक निर्वाचनबाट १८ जना राष्ट्रियसभामा जानेछन् । दलित कोटाबाट कोशीबाट माओवादीका गोपी अछामी, अन्य समूहबाट एमालेका देवेन्द्र दाहाल र महिला कोटाकी इन्दु गौतमको कार्यकाल सकिने भएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो ।
मनोनयनपछि पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । यस्तै पुस २८ गते निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । मतदान माघ ११ गतेका लागि राखिएको छ ।
कोशीमा राष्ट्रियसभाका लागि ३६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । स्थानीय तहका २७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ । प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार २१०, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २९७, राप्रपाको ३९४, एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।
यद्यपि राष्ट्रियसभाको यसअघिका दुईवटा निर्वाचनमा दलहरुबिच गठबन्धन भएपनि कोशी प्रदेशमा पूर्ण सफल हुन भने सकेको छैन । २०७८ माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा मत क्रस हुँदा तत्कालीन सत्ता गठबन्धन (कांग्रेस-माओवादी-एकीकृत समाजवादी–जसपा)का उम्मेदवार हेमराज राईलाई पराजित गर्दै एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका थिए । तर त्यसबेला सत्ता गठबन्धनको मत र एमाले गठबन्धनको मतको अन्तर निकै कम थियो । त्यसबेला स्थानीय तहतर्फबाट गठबन्धनका २९ जनाले फ्लोर क्रस गरेर एमालेका शेर्पालाई मत दिएका थिए ।
यस्तै २०८० माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा रोचक हारजित भएको थियो । सत्तारुढ गठबन्धन (कांग्रेस–माओवादी–एकीकृत समाजवादी)को मतभार बढी हुँदाहुँदै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी थिइन् । गठबन्धनका अर्का उम्मेदवार कांग्रेसका कृष्णप्रसाद सिटौलाले पनि आफ्नो गठबन्धनको सबै मत पाएका थिएनन् ।
सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा विपक्षी गठबन्धन (एमाले–राप्रपा)का उद्धव पौडेलले ४७ सांसदको मत पाए । यस्तै उम्मेदवारी निष्क्रिय बनाएपनि एमालेका पर्शुराम अधिकारीले १ जना सांसदको मत पाए । यसैगरी स्थानीय तहतर्फ सिटौलाले १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाएका थिए ।
उता महिलातर्फको निर्वाचनमा भने सत्ता गठबन्धनकी उम्मेदवार माओवादीकी चम्पा कार्कीलाई एमालेकी रुक्मिणी कोइरालाले पराजित गरेकी थिइन् । गठबन्धन गर्दा यसअघिका राष्ट्रियसभा निर्वाचनको परिणामले पहिलो र दोस्रो ठुला पार्टी कांग्रेस र एमालेले आफ्ना उम्मेदवार सुरक्षित गर्न सफल भएका थिए भने तेस्रो दल माओवादी भने असुरक्षित बनेको थियो ।
यद्यपि २०७८ साल माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, तत्कालीन माओवादी र एकीकृत समाजवादी लगायतले गठबन्धन गरेका थिए भने एमाले र राप्रपाले अर्को गठबन्धन गरेका थिए । यद्यपि उक्त निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनले मत बढी हुँदाहुँदै पनि निर्वाचनमा पराजय व्यहोर्नु परेको थियो । यस पटक राप्रपाले भने आफ्नो उम्मेदवारी दर्ता गरेन । राप्रपाले मत कसलाई दिन्छ भन्ने खुलाइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण