बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकको घरदैलोमै भत्तासँगै न्यानो कपडा

बिहीबार, २४ पुस २०८२, ०२ : १४
बिहीबार, २४ पुस २०८२

सारांश

  • रामप्रसाद राई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै भत्ता र न्यानो कपडा दिने भएको छ।
  • अध्यक्ष थामबहादुर राईका अनुसार दुर्गम क्षेत्रका मानिसलाई सहज बनाउन घुम्ती शिविर सञ्चालन गरिएको हो।
  • स्थानीय बासिन्दाका अनुसार घरमै सेवा पाउँदा वृद्धवृद्धाहरूलाई धेरै सहज भएको छ।

भोजपुर । रामप्रसाद राई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणसँगै न्यानो कपडा उपलब्ध गराउने उद्देश्यसहित घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई कठिनाइ भएपछि वडास्तरमै सेवा प्रवाह थालिएको हो ।

घुम्ती शिविरमार्फत ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नाका साथै ७० वर्षमाथिका नागरिकलाई न्यानो कपडा वितरण र निःशुल्क स्वास्थ्य परीक्षणसमेत भइरहेको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिए । भौगोलिक विकटताका कारण सेवा लिन गाउँपालिका केन्द्रसम्म आउन कठिन भएकाले घरपायकमै सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।

“नागरिकको सहजतालाई प्राथमिकतामा राख्दै हामीले घुम्ती शिविरमार्फत सेवा प्रदान गर्दै आएका छौँ,” अध्यक्ष राईले भने, “भौगोलिक विकटताका कारण सेवा लिन समस्या भइरहेकाले स्थानीय सरकारको सेवा जनताको घरदैलोसम्म पुर्‍याउने लक्ष्यका साथ यो अभियान सञ्चालन भइरहेको छ ।”

ज्येष्ठ नागरिकप्रति स्थानीय सरकारको दायित्वलाई आत्मसात् गर्दै गाउँपालिकाले ‘ज्येष्ठ नागरिकप्रति दायित्व कार्यक्रम’ अन्तर्गत ७० वर्षमाथिका नागरिकलाई न्यानो कपडा वितरण गर्दै आएको छ । जाडो मौसममा न्यानो कपडा पाएपछि आफूहरूलाई राहत मिलेको ज्येष्ठ नागरिकले बताएका छन् । स्थानीय बासिन्दाका अनुसार घरदैलोमै भत्ता, स्वास्थ्य सेवा र न्यानो कपडा वितरण हुँदा सेवा लिन टाढा धाउनु नपर्ने भएकाले कार्यक्रम प्रभावकारी बनेको छ । आगामी दिनमा पनि यस्ता घुम्ती शिविरलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप