अन्तिम घडीमा यसरी टुट्यो कांग्रेस–एमालेसँग नेकपाको चुनावी तालमेल
सारांश
- राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने चर्चा भए पनि अन्ततः नेपाली कांग्रेस, एमाले र नेकपाबीच सहमति जुट्न सकेन।
- नेकपाले कांग्रेस र एमालेसँग चार सिटको माग गरे पनि एमालेले तीन सिट दिन नसक्ने अडान लिएपछि गठबन्धन भएन।
- एमाले र नेकपाबीचको सहकार्य नहुनुको कारण भदौ २३ र २४ गतेको आन्दोलनलाई हेर्ने दृष्टिकोण नमिल्नु हो।
काठमाडौँ । केही दिन अघिसम्म नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच चुनावी तालमेल हुने व्यापक चर्चा भएको थियो । तीन दलबिच राष्ट्रिय सभासँगै प्रतिनिधि सभा सदस्य निर्वाचनमा समेत तालमेल र सहकार्य गर्ने उद्देश्यअनुसार नेताहरूको दौडधुप पनि चल्यो ।
त्यसैक्रममा तीन पार्टीका शीर्ष नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा निवास महाराजगञ्ज, एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डु र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा नेताहरूबिच बाक्लो आउजाउ र ओहोरदोहोर पनि चल्यो । नेताहरूको यो दौडधुपसँगै एमाले र नेकपाबिच चुनावी तालमेलसँगै एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने र पछि पार्टी एकता गर्नेसम्मको चर्चा चुलिएको थियो ।
यस्तो दौडधुप र चर्चा पुस २३ गते राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु केही घण्टा अघिसम्म चले पनि अन्ततः नेपाली कांग्रेस, एमाले र मधेसी दलबिच मात्र राष्ट्रिय सभामा तालमेल गर्ने निर्णयसहित उम्मेदवार उठाए भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नातर्फबाट १७ जना छुट्टै उम्मेदवार तय गरेर उम्मेदवारी दर्ता गरायो ।
_JKpEF0ME8E.jpg)
दुवै पक्षका नेताहरूका अनुसार कांग्रेस–एमालेसँग राष्ट्रिय सभामा तालमेल गर्न नेकपाले आफ्नो मतभार अनुसार १८ मध्ये चार सिट मागेको थियो । तर, नेकपाको उक्त प्रस्तावमा कांग्रेस सकारात्मक देखिए पनि एमालेले ३ सिट भन्दा बढी दिन नसक्ने अडान कस्यो । एमालेले यो अडान कस्नुमा रणनीतिक कारण रहेको नेताहरूको भनाइ छ ।
‘एमाले र नेकपा मिल्दा कांग्रेस अरु शक्तिसँग मिल्ने खतरा हुन्छ, त्यसले कम्युनिस्टहरूलाई थप क्षति हुन सक्ने र ध्रुवीकरण थप बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै एमाले यो निर्वाचनसम्म त्यो दिशामा जाँदैन,’ एमालेका एक पदाधिकारीको भनाइ छ ।
एमालेको सोही अडानका कारण राष्ट्रिय सभा हुँदै प्रतिनिधि सभामा सहकार्यको कुरा भए पनि नटिकेको नेताहरूको भनाइ छ ।

‘हामीले राष्ट्रिय सभामा सहकार्यका लागि हाम्रो मतभार अनुसार चार सिट चाहिन्छ भनेका हौँ, त्यसका आधारमा प्रतिनिधि सभामा पनि सहकार्य गर्न सकिन्छ भन्ने थियो तर एमालेले राष्ट्रिय सभामा ३ सिट भन्दा दिन नसक्ने भनेकाले हामी उनीहरूको सिन्डिकेटमा सामेल भएनौँ,’ नेकपाका नेता वामदेव गौतमले रातोपाटीसँग भने, ‘प्रयास भएको भए पनि टिकेन भनेर बुझ्नुस् ।’
नेता गौतमले यसबारेमा नेताहरूबिच भएका धेरै छलफलमा आफू सामेल नभएको भन्दै छलफलमा सामेल भएका नेताहरूले त्यसबारे आफूलाई प्रस्ट भनिनसकेको बताए । नेकपाको पछिल्लो बैठकमा पार्टी नेतृत्वले गरेको ब्रिफिङ अनुसार कांग्रेस–एमालेले निश्चित भएका सिटमा उनीहरूले नै हकदाबी गर्ने र ३ वटा सिटमा मात्रै नेकपाले पाउने गरी मिलौँ भन्ने कुरा गरेकाले गठबन्धनमा नबस्ने निष्कर्षमा पुगेको बताए ।
‘त्यो चारवटा सिटमा हामी एक्लै जितिहाल्छौँ भन्ने हाम्रो निष्कर्षका कारण हामी त्यो गठबन्धनमा सामेल भएनौँ’, गौतमको भनाइ छ ।

गौतमले देउवा–ओली एकातिर भएपछि अर्कोपक्ष (नेकपालाई) दबाउन सकिहाल्छौँ भनेर अपमान गरेजस्तो आफूहरूलाई महसुस समेत भएका कारण तत्काल सहकार्यको सम्भावना टरेको बताए । गौतमले नेकपाका तर्फबाट पहिला जसको जति शक्ति छ, त्यसैलाई कायम गर्ने गरी गठबन्धनको प्रस्ताव गरिएको बताए ।
‘हामीले पाउने, कांग्रेसले पाउने र एमालेले पाउने भोटका मतदाता जति छन् त्यसमा हामीले न्यूनतम चारवटा पाउने हो,’ उनले भने ।
गौतमले त्यसपछि प्रतिनिधि सभाका बारेमा खासै छलफल अघि नबढेको बताए । ‘म त सबै कम्युनिस्ट एक हुनुपर्छ भन्नेमा हो, तर अरुको म भन्न सक्दिनँ’, गौतमको भनाइ छ ।
गौतमले यसो भने पनि नेकपाका तर्फबाट नेताहरू झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र उनै गौतमले राष्ट्रिय सभा हुँदै प्रतिनिधि सभा सदस्य निर्वाचनमा समेत तालमेल गर्न प्रस्ताव गरेको एमाले नेताहरूको दाबी छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकटका सचिव महेश बस्नेतका अनुसार प्रचण्ड र ओलीबिचको भेटमा पनि त्यसबारे कुराकानी भएको थियो । त्यसअघि नेकपाका नेता श्रेष्ठले उनै बस्नेतसँग पहिलो चरणमा कुरा गरेर दोस्रो चरणमा अध्यक्ष ओलीसँग गुण्डुमै पुगेर तालमेलबारे छलफल गरेका थिए ।
एमाले अध्यक्ष ओलीनिकटका अर्का एक नेताका अनुसार दुवै चुनावमा चुनावी तालमेलका लागि नेकपाका नेताहरूका तर्फबाट तीनवटा प्रस्ताव गरिएको थियो ।
‘पहिलो प्रस्ताव पार्टी एकता, दोस्रो चुनावी तालमेल र तेस्रो शीर्ष नेताका हकमा मात्रै भए पनि उच्च समझदारी गरौँ भन्ने प्रस्तावमा अध्यक्ष ओली तयार हुनुभएन’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तीनवटा शक्तिसँग एमालेको सहकार्य र एकता कठिन छ ।’

त्यसक्रममा ओलीले आगजनी र तोडफोडमा संलग्न माओवादी, रास्वपा र राजावादीसँग सहकार्य र एकता हुन नसक्ने जवाफ दिएका थिए । राष्ट्रिय सभाको हकमा पनि त्यही भएर अन्तिम समयमा बिग्रेको ती नेताको भनाई छ ।
ती नेताले प्रतिनिधि सभामा कांग्रेस र एमालेबिच तालमेल गर्ने कि नगर्ने भन्ने सवालमा उच्च तहको समझदारी हुन सक्ने भन्दै नेकपासँग सम्भावना अत्यन्तै न्यून रहेको बताए ।
पार्टी एकता नै गरौँ भन्ने नेकपा नेताहरूको प्रस्ताव सम्भव नै नभएको भन्दै कोही मान्छे एमालेमा आउन चाहे स्वागत गर्ने ओलीले बताएका थिए ।
नेकपा नेताहरूको दोस्रो प्रस्ताव थियो– चुनावी गठबन्धन गर्ने । यो प्रस्ताव अघि सार्दै नेकपाका नेताहरूले भनेका थिए, ‘कांग्रेससँग गठबन्धन गर्दा भोट इमानदारसँग हाल्दैनन्, कम्युनिस्टहरूले हाल्छन् ।’ यो प्रस्ताव पनि ओलीले अस्वीकार गरेका थिए ।
तेस्रो प्रस्तावका रूपमा शीर्ष नेता चुनाव जित्ने गरी वातावरण बनाऔँ भन्ने थियो ।
‘त्यसमा काठमाडौँ १० मा प्रचण्डलाई छाडौँ, ललितपुर ३ मा नारायणकाजीलाई, काठमाडौँ २ मा माधव नेपाललाई, इलाममा झलनाथ र बर्दियामा वामदेवलाई सुनिश्चित गरौँ भन्ने थियो,’ ओली निकट स्रोतले भन्यो, ‘त्यसमा पनि ओली सकारात्मक नभएपछि प्रचण्ड भाउन्निएर भारत जानुभएको हो ।’
_dI4C2zzL7k.jpg)
नेकपा एमालेका सचिव बस्नेत नेकपासँग एमालेको सहकार्य र एकता सम्भव नहुने केही कारण रहेको बताउँछन् ।
‘भदौ २३ र २४ गतेको आन्दोलनलाई हेर्ने दृष्टिकोण नै नेकपा र एमालेको मिलेको छैन । २४ गते मुलुक बर्बाद गर्ने ध्वस्तको प्रक्रियाको सुरुवात भनेर भनेका छौँ’, बस्नेत भन्छन्, ‘२३ गते जेनजीले उठाएका जायज मागलाई हस्तक्षेप गर्दै कब्जा गरेर नेपाललाई भेनेजुएला बनाउन खोजेको हो भन्ने हाम्रो निष्कर्ष छ ।’ उनले तथ्यहरूले पनि बालेन, रवि, कुलमानहरूका गतिविधिले सो कुरा प्रमाणित गर्दै गएको बताए ।
‘२४ गतेका घोषित स्टेकहोल्डर बालेन, रविहरू भए अघोषित रूपमा माओवादी र राजावादीहरू पनि धेरै ठाउँमा प्रत्यक्ष संलग्न भएको पाइएकाले उनीहरूसँगको सहकार्य न्यून छ,’ बस्नेतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण