शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी चर्चा

विप्लव रोल्पाबाट चुनाव लड्ने पक्का, वर्षमानसँग प्रतिस्पर्धा

बिहीबार, २४ पुस २०८२, १७ : ५५
बिहीबार, २४ पुस २०८२

सारांश

  • रोल्पाबाट वर्षमान पुन र विप्लवले आगामी निर्वाचन लड्ने सम्भावना रहेको छ।
  • विप्लव पहिलो पटक संसदीय निर्वाचनमा होमिन लागेका छन्, जसले चुनावी माहोल रोचक बनाउने देखिएको छ।
  • माओवादी घटकको आधार क्षेत्रबाट विप्लव उठ्ने भएपछि वर्षमान पुनलाई चुनौती थपिने निश्चित छ।

काठमाडौँ । साबिकको नेकपा माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी)का नेता वर्षमान पुनले पछिल्लो दुई निर्वाचन जितेको क्षेत्र हो, रोल्पा ।  फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समितिले पुनको नाम नै १ नम्बरमा राखेर सिफारिस गरेको छ ।  

  एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाटै नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समेत संसदीय निर्वाचन लड्ने निश्चित भएसँगै चुनावी माहौल रोचक बन्ने देखिएको छ ।  सशस्त्र युद्ध अन्त्य गरेर शान्ति प्रक्रियामा आएको १९ वर्षमा विप्लव पहिलो पटक संसदीय निर्वाचनमा होमिन लागेका हुन् ।  बुधबार बसेको माओवादी जिल्ला समितिको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत रूपमा विप्लवको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । 

स्थायी घर रोल्पा रहेका विप्लव अहिले कपिलवस्तु शिवगढी बसोबास गर्दै आएका छन् । तर, उनी रोल्पाबाटै उम्मेदवार बन्ने पक्का भएको माओवादीका स्थायी समिति सदस्य सन्तोष बुढाले रातोपाटीलाई बताए । बुढाले आफूचाहिँ उम्मेदवार नबन्ने भन्दै विप्लव सहित पार्टीका उम्मेदवारलाई जिताउन लागिपर्ने बताए । 

‘महासचिव रोल्पाबाट उम्मेदवार बन्ने पक्का भएको छ । म उहाँसहित पार्टीका उम्मेदवारलाई जिताउन लाग्छु । यस पटक उम्मेदवार बन्दिनँ’, उनले रातोपाटीसँग भने ।

वर्षमानमाथि चुनौती

माओवादी घटकको आधार क्षेत्रबाटै विप्लव रोल्पाबाट उठ्ने भएपछि वर्षमान पुनलाई चुनौती थपिने निश्चित छ । २०७९ सालको निर्वाचनमा पुन सोही क्षेत्रबाट निर्वाचित भएका थिए । यस्तै २०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 

यस्तै २०६४ सालको संविधानसभा निर्वाचनमा रोल्पा १ बाट तत्कालीन माओवादीकी जयपुरी घर्ती र रोल्पा २ बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतले विजयी भएका थिए । उपनिर्वाचनमा प्रचण्डले रोल्पा त्यागेपछि सन्तोष बुढा निर्वाचित भएका थिए । यस्तै २०७० सालको निर्वाचनमा रोल्पा १ बाट माओवादीका कृष्णबहादुर महरा र रोल्पा–२ बाट पूर्वसभामुख ओनसरी घर्ती विजयी भएका थिए । त्यतिबेला मोरङ–९ बाट चुनावी प्रतिस्पर्धामा सहभागी पुन पराजित भएका थिए । यस्तै २०६४ को निर्वाचनमा वर्षमान ललितपुर–१ बाट विजयी भएका थिए । 

 २०७३ सालमा भएको राज्य पुनसंरचनापछि भने रोल्पा एक मात्र निर्वाचन क्षेत्र बनेको थियो ।  २०७४ सालमा एमाले र माओवादी केन्द्रबिच चुनावी तालमेल हुँदा वर्षमान पुन सोही क्षेत्रबाट विजयी भएका हुन् । पुनले ४२ हजार ८४ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले २० हजार ३३७ मत प्राप्त गरेका थिए । २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट पुन नै निर्वाचित भएका थिए । पुनले ४१ हजार ७१४ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले कांग्रेससँग चुनावी तालमेल गरेको थियो ।  

 शान्ति प्रक्रियामा आएपश्चात वर्षमान पटक पटक मन्त्री बन्न सफल भएका छन् । यस्तै एक पटकबाहेक सबै निर्वाचन जितेका छन् ।  उनै पुनलाई विप्लव र वर्षमान उम्मेदवार बनेमा यी दुई पूर्वमाओवादीको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ । यद्यपि रोल्पाबाट चुनाव लड्ने वा नलड्नेबारे पुनले केही बताएका छैनन् ।

माओवादीका स्थायी समिति सदस्य बुढाका अनुसार चुनावी तालमेलको विषयमा आफ्नै पार्टी उदार रहेको बताए । उनले सम्पूर्ण वामपन्थीबिच चुनावी तालमेल गर्ने योजनामा पार्टी रहेको उनले बताए । त्यो सम्भव नभएमा कम्युनिस्ट घटकबिच जोसँग सकिन्छ, त्योसँग चुनावी सहकार्य गर्ने उनको भनाइ छ । त्यो पनि सफल नभए एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिने बुढाले जानकारी दिए ।

विप्लवको परीक्षा

विप्लव २०२४ फागुन ११ गते रोल्पामा जन्मेका हुन् । २०४५ सालमा उनको परिवार कपिलवस्तु बसाइँ सरेको थियो । विद्यार्थी राजनीतिमा सक्रिय रहेका विप्लव २०५२ सालमा माओवादीले सुरु गरेको जनयुद्धमा प्रत्यक्ष सहभागी भए । २०५४ मा उनले ललितपुर पार्टी सेक्रेटरी जिम्मेवारी पाए भने २०५५ भदौमा सम्पन्न पार्टीको चौथो विस्तारित बैठकबाट उनी माओवादी केन्द्रीय सदस्य बन्न सफल भए । २०५९ सालमा पोलिटब्युरो सदस्य भए । 

२०६१ सालमा जनयुद्ध रोकेर शान्ति प्रक्रियामा आउने नेतृत्वको निर्णयप्रति विप्लवले खरो रूपमा विरोध गरेका थिए । त्यसपछि २०६४ साल साउनको तेस्रो साता सम्पन्न बालाजु विस्तारित बैठकमा विद्रोहको कार्यदिशा अँगाल्न नेतृत्वसमक्ष दबाब बढाएका थिए । उनलाई मोहन वैद्य ‘किरण’, रामबहादुर थापा ‘बादल’, सीपी गजुरेल लगायतले साथ दिएका थिए ।

पार्टीभित्र अन्तर्विरोध बढ्दै जाँदा २०६९ असारको पहिलो साता प्रचण्ड नेतृत्वको माओवादीमा विभाजन आयो । सोही वर्ष विभाजित भएर बनेको नेकपा–माओवादीको सम्पन्न महाधिवेशनले मोहन वैद्य ‘किरण’ अध्यक्ष, रामबहादुर थापा ‘बादल’ महासचिव र विप्लव सचिव भए । विभाजन भएर बनेको नेकपा–माओवादीले २०७० को दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्‍यो । 

यद्यपि वैद्यको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै नेकपा–माओवादी पनि फुट्यो । २०७१ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गठन गरेका विप्लवले २०७३ फागुनमा पार्टीको नाम परिवर्तन गरी नेकपा राखेका थिए । 

यस्तै २०७९ साल वैशाखमा बसेको केन्द्रीय समिति बैठकमा उनले आवधिक निर्वाचन उपयोग गर्ने नीति लिएपछि असन्तुष्ट हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला समूहले पार्टी विभाजन गरेका थिए ।

उसो त विप्लव नेतृत्वको पार्टीले एक वर्षअघि साबिकको नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । यद्यपि वामपन्थीबिच ध्रुवीकरण र एकताको निर्णय यथावत् रहेको विप्लव बताउँछन् । शान्ति प्रक्रियामा आएको १८ वर्षमा संसदीय राजनीतिको खेलमा प्रचण्ड फसिरहेका बेला विप्लवले के गर्छन् भन्ने राजनीतिक वृत्तमा निकै  चासोपूर्वक हेरिएको छ ।

प्रचण्ड नेतृत्वको माओवादीले प्रधानमन्त्री, मन्त्री, सांसद तथा राजनीतिक नियुक्तिको पटक–पटक लाभ लिइसक्दा विप्लवले भने अहिलेसम्म कुनै राजकीय पदको लाभ लिएका छैनन् । अहिले आएर विप्लवले एक पटक सरकारको नेतृत्व लिएर देश चलाउन मन लागेको सार्वजनिक रूपमै बताउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप