स्पेनिस सुपर कपको फाइनल सिजनको दोस्रो एल क्लासिको हुने
सारांश
- रियल मड्रिडले एट्लेटिको मड्रिडलाई हराएर स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाएको छ।
- खेलमा फेडरिको भल्भर्डे र रोड्रिगोले गोल गरे, जसले रियललाई जित दिलायो।
- अब रियलले फाइनलमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ, जुन खेल साउदी अरबमा हुनेछ।
जेदाह । फेडरिको भल्भर्डेको उत्कृष्ट फ्रि-किक र रोड्रिगोको गोलको मद्दतले एट्लेटिको मड्रिडलाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ।
साउदी अरबको जेदाहमा बिहीबार राति भएको रोमाञ्चक सेमिफाइनल खेलमा रियलले छिमेकी प्रतिद्वन्द्वी एट्लेटिकोलाई स्तब्ध पार्दै उपाधि नजिक पुगेको हो। अब आइतबार हुने फाइनलमा रियलले चीरप्रतिद्वन्द्वी बार्सिलोनाको सामना गर्नेछ।
खेल सुरु भएको ७७ सेकेन्डमै रियलले अग्रता लिएको थियो। कप्तान भल्भर्डेले ३० यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली फ्रि-किक एट्लेटिकोका गोलकिपर जान ओब्लाकलाई जिल्याउँदै सिधै जालीमा छिरेको थियो। पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलका लागि ५५ औँ मिनेटमा रोड्रिगोले दोस्रो गोल थपे। भल्भर्डेको पासलाई उत्कृष्ट ढंगले नियन्त्रणमा लिँदै डिफेन्डर रोबिन ले नर्मन्डलाई जिल्याएर रोड्रिगोले सुन्दर गोल गरेका थिए।
एट्लेटिकोका लागि अलेक्जेन्डर सोर्लोथले गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए। उनले खेल सकिन आधा घण्टा बाँकी छँदा राहुल एसेन्सियोलाई माथ दिँदै हेडमार्फत गोल गरे। तर, त्यसपछिका थुप्रै अवसरलाई एट्लेटिकोले सदुपयोग गर्न सकेन। पूरै खेलभर २२ पटक गोलको प्रयास गरे पनि एट्लेटिकोले थप गोल गर्न सकेन।
एट्लेटिकोका स्ट्राइकर सोर्लोथ र जुलियन अल्भारेजले गोलका सुवर्ण अवसरहरू गुमाएका थिए। विशेषगरी इन्जुरी समयमा अल्भारेजले गरेको प्रहार बाहिरिँदा एट्लेटिको बराबरी गर्ने मौकाबाट चुक्यो। घाइते किलियान एमबाप्पे बिना मैदान उत्रिएको जाबी अलोन्सोको टोली रियलले अन्तिम समयमा निकै दबाब झेल्नुपरेको थियो। भिनिसियस जुनियर र रोड्रिगोले पनि केही राम्रा अवसर खेर फालेका थिए।
यस जितसँगै रियलले सिजनको दोस्रो ‘एल क्लासिको’ खेल्ने पक्का गरेको छ। यसअघि अक्टोबरमा भएको लिग भिडन्तमा रियलले बार्सिलोनालाई २-१ ले पराजित गरेको थियो। बार्सिलोना भने बुधबार भएको पहिलो सेमिफाइनलमा एथलेटिक क्लबलाई ५-० को फराकिलो अन्तरले हराउँदै फाइनल पुगिसकेको छ।
स्पेनिस फुटबल फेडेरेसन र साउदी अरबबिचको सम्झौता अनुसार सन् २०२९ सम्म यो प्रतियोगिता साउदीमै आयोजना हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण