घट्यो महँगी
सारांश
- आर्थिक वर्ष २०८२/८३ को मंसिरमा उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ६.०५ प्रतिशत थियो।
- खाद्य तथा पेय पदार्थको मूल्य २.०५ प्रतिशतले घटेको छ भने गैर-खाद्य सेवा समूहमा ३.७५ प्रतिशतले वृद्धि भएको छ।
- कोशी प्रदेशमा सबैभन्दा बढी र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम मुद्रास्फीति देखिएको छ।
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति उल्लेख्य रूपमा घटेर १.६३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुस विशेषगरी खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि २.०५ प्रतिशतले ऋणात्मक देखिएको छ ।
अघिल्लो वर्ष यसै अवधिमा खाद्य समूहको मुद्रास्फीति ९.९९ प्रतिशत पुगेको थियो । यद्यपि गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.७५ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको औसत मुद्रास्फीति १.५५ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.८९ प्रतिशत थियो ।
तरकारी र मसला सस्तिए, शिक्षा र कपडामा चर्को मूल्यवृद्धि
पछिल्लो समय बजारमा तरकारी र मरमसलाको मूल्यमा भारी गिरावट आएको छ । २०८२ मङ्सिरको तथ्याङ्क अनुसार तरकारी उप–समूहको मूल्य ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको मूल्य ५.७९ प्रतिशतले घटेको छ ।
तर उपभोक्ताका लागि अन्य क्षेत्र भने महँगो बन्दै गएको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य १८.५६ प्रतिशतले बढेको छ ।
त्यस्तै शिक्षामा ७.५६ प्रतिशत, कपडा तथा जुत्ताचप्पलमा ५.२९ प्रतिशत र घ्यू तथा तेलमा ५.५२ प्रतिशतले मूल्यवृद्धि भएको छ । मदिराजन्य पेय पदार्थ र सुर्तीजन्य पदार्थको मूल्य पनि क्रमशः ३.८५ र ४.१५ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ । थोक मुद्रास्फीतितर्फ भने निर्माण सामग्रीको मूल्य ४.५२ प्रतिशतले बढेको छ ।
कोशीमा सबैभन्दा महँगो, सुदूरपश्चिममा सबैभन्दा कम
मुलुकभरको मुद्रास्फीति १.६३ प्रतिशत रहँदा प्रादेशिक रूपमा भने यसको प्रभाव फरक देखिएको छ । २०८२ मङ्सिर महिनासम्ममा कोशी प्रदेशमा सबैभन्दा बढी २.५४ प्रतिशत मुद्रास्फीति देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम अर्थात् ०.४० प्रतिशत मात्र रहेको छ ।
राष्ट्र बैंकका अनुसार मधेस प्रदेशमा २.०१ प्रतिशत, बागमतीमा १.४८ प्रतिशत, गण्डकीमा १.०८ प्रतिशत, लुम्बिनीमा १.६७ प्रतिशत र कर्णाली प्रदेशमा १.०९ प्रतिशत मुद्रास्फीति रहेको छ ।
क्षेत्रगत आधारमा हेर्दा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा बढी महँगी देखिएको छ । ग्रामीण क्षेत्रको मूल्यवृद्धि १.०९ प्रतिशत रहँदा सहरमा १.८३ प्रतिशत पुगेको छ ।
काठमाडौँ उपत्यकामा १.९५ प्रतिशत, तराईमा १.७१ प्रतिशत, पहाडमा १.३६ प्रतिशत र हिमालमा १.४७ प्रतिशत मुद्रास्फीति कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण