बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

शनिबार, २६ पुस २०८२, १६ : १६
शनिबार, २६ पुस २०८२

सारांश

  • हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ, जसमा ६६ जना यात्रु सवार थिए।
  • सोलनबाट हरिपुरधारतर्फ जाँदै गरेको बस अनियन्त्रित भई ५०० मिटर गहिरो खोँचमा खसेको थियो, जसमा ४० जना घाइते भएका छन्।
  • दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ भने घाइतेहरुको उपचार भइरहेको छ।

शिमला । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शुक्रबार भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ। ६६ जना यात्रु बोकेर सोलनबाट हरिपुरधारतर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट चिप्लिएर झण्डै ५०० मिटर गहिरो खोँचमा खस्दा ठूलो मानवीय क्षति भएको हो।

हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब १४२ किलोमिटर दक्षिणपूर्वमा पर्ने सिरमौर जिल्लाको हरिपुरधार गाउँ नजिकै यो दुर्घटना भएको हो। स्थानीय प्रशासनले शनिबार दिएको जानकारी अनुसार दुर्घटनामा परी ४० जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये केहीको अवस्था अत्यन्तै नाजुक रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ।

स्थानीय सरकारका मन्त्री जगत सिंह नेगीले अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै अस्पतालमा उपचाररत धेरैको अवस्था गम्भीर रहेको बताएका छन्। पहाडी र कठिन सडकमा बस कसरी चिप्लियो भन्नेबारे यकिन कारण खुल्न सकेको छैन। यद्यपि, दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अधिकारीहरूले अनुसन्धान सुरु गरिसकेको भारतको अल इन्डिया रेडियोले जनाएको छ।

घटनास्थल दुर्गम र खोँच गहिरो भएका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको थियो। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सक्रियतामा घाइतेहरूको उद्धार गरी उपचारको व्यवस्था मिलाइएको छ। हिमाचलका पहाडी सडकहरूमा हुने यस्ता सवारी दुर्घटनाले सडक सुरक्षाको विषयमा फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप