कांग्रेसभन्दा तीन वर्ष जेठो ओमकारप्रसाद श्रेष्ठ भन्छन्– बल्ल भेट्टाएँ वास्तविक कांग्रेस
सारांश
- नेपाली कांग्रेसका महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएपछि पार्टीमा पुराना र अनुभवी नेताहरू 'हराएको कांग्रेस' खोज्दै भेला भए।
- विशेष महाधिवेशनले नीति परिवर्तनका साथै नेतृत्व परिवर्तन हुनसक्ने संकेत देखिएको छ, तर यसको वैधानिकताको विषयमा प्रश्न उठेको छ।
- कांग्रेसका पुराना नेता ओमकार प्रसाद श्रेष्ठले पार्टीभित्रको वर्तमान अवस्था र विशेष महाधिवेशनको आवश्यकता बारे आफ्नो धारणा राखे।
नेपाली कांग्रेसभन्दा तीन वर्ष जेठा ओमकार प्रसाद श्रेष्ठ सोमबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको विशेष महाधिवेशनमा पुगे ।
भदौमा भएको जेनजी विद्रोहपछि असोज २८ गते बसेको पार्टीको कार्यसमिति बैठकमा महामन्त्रीद्वय थापा र शर्माले नीति तथा नेतृत्व फेर्न पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव नेतृत्वले अस्वीकार गरेपछि थापा र शर्माकै अगुवाइमा पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन बोलाइएको हो ।
संस्थापन पक्षका नेताहरू सहभागी नभएको महाधिवेशनमा पुराना र अनुभवी नेताहरू समेत ‘हराएको कांग्रेस’ खोज्दै पुगेका थिए । यस महाधिवेशनले नीतिमात्र नभइ नेतृत्व नै परिवर्तन हुनसक्ने संकेत दुवै महामन्त्रीले दिएका छन् । यद्यपि नेतृत्व परिवर्तन भएमा वैधानिकता पाउँछ कि पाउँदैन, त्यो अर्को पाटो छ ।
विशेष महाधिवेशन पक्षधरलाई नेतृत्वले कारबाही गरेमा के हुन्छ ? यसै विषयमा ओमकार प्रसाद श्रेष्ठसँग रातोपाटीका संवाददाता गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश-
- अहिले कति वर्षको हुनुभयो ?
म ८६ वर्ष भएँ ।
- पार्टीमा लागेको कति भयो ?
७० वर्ष भयो ।
- नेपाली कांग्रेसको पहिलो विशेष महाधिवेशन हुँदा तपाईं ठ्याक्कै कति वर्ष हुनुहुन्थ्यो ?
त्यो बेला म १७ वर्षको थिएँ ।
- त्यो महाधिवेशनमा जानुभएको थियो ?
म त्यहाँ पुगेको थिएँ ।
- त्यतिबेला विशेष महाधिवेशन आयोजना हुने परिस्थिति कसरी बन्यो ?
२०१५ सालमा आम निर्वाचन हुने भयो । त्यतिबेला सुवर्ण शमशेर कांग्रेसको सभापति हुनुहुन्थ्यो । उहाँले भन्नुभएको थियो– ‘म सभापति छु, चुनाव हुने भयो । जनताले विश्वास गरेको मान्छे नेतृत्वमा जान पायो भने चुनाव जित्न सकिन्छ । त्यसैले बीपी कोइराला सभापति भइदिनुप¥यो ।’
बीपीलाई सभापति पद सुम्पिनका लागि सुवर्णजीले विशेष महाधिवेशन बोलाउनु भएको थियो । सुवर्णजी आफैँले बीपीलाई सभापतिमा प्रस्ताव गर्नुभयो । उहाँकै प्रस्तावमा बीपी कोइराला सभापति हुनुभयो । बीपीको नेतृत्वमा २०१५ को निर्वाचनमा कांग्रेसले दुई तिहाइ मत ल्यायो ।
- ठ्याक्कै २०१५ सालको निर्वाचनमा जस्तै अहिले निर्वाचनकै मुखमा विशेष महाधिवेशन भइराखेको छ । त्यतिबेलाको र अहिलेको विशेष महाधिवेशनमा के फरक छ ?
त्यतिबेला र अहिले धेरै फरक छ । त्यतिबेला सभापतिले नै विशेष महाधिवेशन बोलाएर पद हस्तान्तरण गरेका थिए । अहिले महाधिवेशनका प्रतिनिधिहरूले ‘समयमा महाधिवेशन गर’ भन्दा नगरेपछि ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेको हो । हाम्रो विधानमा ४० प्रतिशतले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्छ ।
महाधिवेशन बोलाउने अधिकार केन्द्रीय समितिलाई छ । केन्द्रीय समितिले बोलाइदिए राम्रो हुन्थ्यो, तर केन्द्रीय समिति भाग्न खोज्यो । महाधिवेशनका प्रतिनिधिहरूले माग गरिसकेपछि त्यसलाई नकार्ने अधिकार केन्द्रीय समितिलाई छैन, तर उहाँहरूले अहिले विशेष महाधिवेशन आवश्यक छैन भन्नुभयो ।
त्यसपछि अलि तँछाडमछाड भयो, किचलो भयो । किचलो भएपछि केही लागेन । विशेष महाधिवेशन भनेर हामी अगाडि बढेपछि नेतृत्वले होइन, नियमित नै गरौँ भन्यो । नियमित महाधिवेशन गर्ने हो भने हामी विशेष महाधिवेशनसँग त्यति अडिग छैनौँ भन्यौँ । जसरी पनि महाधिवेशन होस् भन्ने हाम्रो चाहना हो । किनभने जेनजी आन्दोलन पुरानो नेतृत्वको विरुद्धमा थियो । त्यसैले अब नयाँ नेतृत्व आओस्, नयाँ नीति आओस् भन्ने उनीहरूको चाहना थियो । त्यो चाहनाविरुद्ध उहाँहरूले विशेष महाधिवेशन गर्न खोज्नुभएन । पेलेरै नियमित महाधिवेशन गर्ने पक्षमा नेतृत्व उभियो । त्यसकारण हामीले ठिक छ, नियमित नै गरौँ भन्यौँ ।
नियमित महाधिवेशन गर्न तल्लो लेभलबाटै सुरुवात गर्नुपर्छ । तलदेखि गर्दै आउनेमा नयाँ क्रियाशील सदस्य पनि वितरण गर्ने भन्ने भयो । नयाँ क्रियाशील सदस्यता वितरण गर्न फर्म वितरण गरियो । केही दिनपछि फर्म भरेर मान्छेहरू आइसकेका थिए । गोदाम भरिसकेका थिए । बिचमा आएर ‘यो क्रम संख्या नभएको फर्म वितरण गरेछ, यो फर्म हुँदैन’ भनियो । क्रम संख्या भएको फर्म त आवश्यक थिएन, त्यो क्रम संख्या नभए पनि केन्द्रमा आइसकेपछि वा जिल्लामा आइसकेपछि इन्ट्री गर्ने बेलामा क्रम संख्या मिलाए भइहाल्थ्यो । यसरी यिनीहरूले नियमित महाधिवेशन नगर्ने दाउ निकाले ।
महाधिवेशनको मिति पुस २६, २७, २८ गते गर्ने भनिएको थियो, तर नगर्ने दाउ भएपछि विशेष महाधिवेशन अपरिहार्य भयो । विशेष महाधिवेशनको माग हामीले भदौमै गरेको थियौँ । तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने भएकाले यही पुस महिनासम्म गरिसक्नुपर्थ्यो । यता विशेष महाधिवेशन नगराउने, उता नियमित पनि नगर्ने, वैशाखमा महाधिवेशन सार्ने भएपछि हामीले ‘होइन, यो त अनटोलरेबल भयो, यो भएन’ भनेर विशेष महाधिवेशन आयोजना गरेको हो ।
यो महाधिवेशन वास्तवमा केन्द्रले बोलाएको पनि होइन, सभापतिले बोलाएको पनि होइन, महामन्त्रीले बोलाएको पनि होइन । यो महाधिवेशन प्रतिनिधिहरूले बोलाएका हुन् । त्यो बेलामा सभापतिले विशेष महाधिवेशन बोलाएका थिए भने अहिले महाधिवेशन प्रतिनिधिले बोलाएका हुन् । उतिबेलाको र अहिलेको विशेष महाधिवेशनमा त्यो तात्विक फरक छ ।
- यस महाधिवेशनलाई केन्द्रीय समितिले अपनत्व नलिएको खण्डमा वैधानिकता पाउँछ ?
विशेष महाधिवेशन भनेको दुवैथरीले बोलाउन पाउने हो । दुवैथरीले भनेको एउटा केन्द्रले बोलाए पनि पाउने, अर्को भनेको महाधिवेशन प्रतिनिधिहरूले पनि बोलाउन पाउने हाम्रो विधानको प्रावधानमा छ । त्यसैले अपनत्व नलिने भन्ने हुँदैन ।
हामीले अहिले पनि भन्यौँ कि ‘तपाईंहरू पनि आएर यसमा अपनत्व लिनुस्, यो एकथरीको मात्रै भएर नबसोस् ।’ तर उहाँहरू आउनुभएन । केन्द्रीय समितिका धेरै साथीहरू आइपुग्नुभयो । ३०–३५ जना जो संस्थापन पक्ष भनेर भन्थे, ती साथीहरू पनि आए । तर केही साथी आउनुभएन ।
- यो महाधिवेशनले नीतिमात्रै बनाउँछ कि नेतृत्व पनि परिवर्तन गर्छ ?
सामान्यतया हामीले पहिले महाधिवेशन गरेर नेतृत्व पनि परिवर्तन गरौँ भनेको हो, तर यो बिचमा एकथरीले किचलो गरिरहेको भएर अहिले हामी नीति, कार्यक्रम बनाउँदै छौँ । जनताले चाहेको के लिएर जान्छौँ चुनावमा ? चुनाव अगाडि आएको छ । चुनावको बेलामा महाधिवेशन गर्नुहुँदैन भन्ने उहाँहरूको कुरा हो, तर चुनावका लागि के लिएर जाने त ? किनभने पहिलेको जनताले नकारिसकेको छ । त्यसैले अहिलेको चुनावमा लिएर जाने पार्टीको नीति के हो ? पदमा कति कति पटकसम्म बस्न पाउने ? सभापति कति पटक हुन पाउने ? अरू पदहरूमा कति पटकसम्म बस्न पाउने ? अथवा जनतालाई चाहिने कुरा के के हुन् ? ती सबै पिपुलको भ्वाइस अनुसारको नीति र कार्यक्रमहरू बनाउँछौँ । त्यो कार्यक्रम लिएर जान्छौँ ।

- चुनावको मुखमै यो आन्तरिक असन्तुष्टि बढेको अवस्थामा विशेष महाधिवेशन भएको छ, यसले कतै पार्टी विभाजन गर्ने हो कि ? निर्वाचनमा गएर अन्तर्घात हुने हो कि, पार्टी झन् कमजोर हुने हो कि भन्ने चिन्ता पनि छ नि ?
अहँ, यो हुँदैन । अन्तर्घातको कुरा पहिलेको चुनावमा पनि भएको थियो । एक–दुई ठाउँमा केही साथीको असन्तुष्टि निस्किहाल्थे । त्यो अन्तर्घातले गर्ने कुरा अर्कै भो । तर समर्पणको रूपमा अहिले पनि हामी आह्वान गर्दैछौँ– शेरबहादुरजी आउनुस्, यो बन्द सेसनमा तपाईं सम्बोधन गर्नुस् । यसलाई अपनत्व लिनुस् । हामी सबै एक भएर जाऔँ ।
हामीले आह्वान गरेका छौँ । त्यसैले हामी अहिले नै पार्टी फुटाउने किसिमले जाँदैनौँ । किनभने यो पार्टीको हितकै लागि हो । पार्टीमा बहुमत र अल्पमतको नाममा जे निर्णय गरेको छ, त्यो निर्णयले जहिले पनि पार्टी फुटेका छन् । पहिले मातृका बाबुको पालामा पनि केन्द्रीय समितिमा गएर बहुमत छ भनेर कारबाही गर्दा उहाँले पार्टी फुटाउनुभयो । पछि गिरिजाबाबुले केन्द्रीय समितिमा मेरो बहुमत छ भनेर शेरबहादुरलाई कारबाही गर्दा पार्टी फुट्यो । त्यो गल्ती हामी गर्न चाहँदैनौँ । त्यसैले हामी बहुमत–अल्पमतको आधारमा गर्दैनौँ, हामी सबैलाई लिएर जाने हो ।
- कांग्रेस झन्डै ८० वर्ष पुरानो पार्टी हो । तपाईं कांग्रेसभन्दा तीन वर्ष जेठो हुनुहुँदोरहेछ । विशेष महाधिवेशनमा खुलेकै कारण नेतृत्वबाट कारबाही भए के गर्नुहुन्छ ?
कारबाही गर्नुहोलाजस्तो लाग्दैन मलाई । यदि कारबाही नै गर्नुभयो भने दुर्भाग्य हुन्छ, किनभने बहुमत यतै छ । कारबाही गर्नुभयो भने उहाँहरू आफैँ निष्कासित र अल्पमतमा पर्नुहोला जस्तो लाग्छ । पार्टी बहुमतकै हुन्छ । पहिले बहुमत छ भनेर गिरिजाबाबुले कारबाही गर्नुभयो, शेरबहादुरले ७० प्रतिशत पाउनुभएको होइन नि । अहिले ७० प्रतिशत नाघिसकेको छ । उहाँहरूलाई नेता बनाएको महाधिवेशनका प्रतिनिधिहरूले हो । त्यसकारण कारबाही भए दुर्भाग्य हुन्छ । त्यस्तो गल्ती उहाँहरूले गर्नुहोला जस्तो लाग्दैन मलाई ।
- नेपाली कांग्रेसको इतिहासमा खास–खास व्यक्तिको आफ्नै विशेषता छ । बीपी, किशुनजी, गणेशमान, गिरिजाप्रसाद, सुशील कोइरालाका आ–आफ्नै विशेषता छ । वर्तमान सभापति शेरबहादुर देउवाको कार्यकाल सुखद् देखिएन नि ?
पहिलेका नेताहरू र अहिलेकोमा धेरै फरक छ । शेरबहादुरजी पार्टीमा कुनै योगदान नगरेको मान्छे होइन । धेरै दुःख गरेको, धेरै संघर्ष गरेको र एउटा राम्रो मान्छे, पढे–लेखेको मान्छे पनि हो । उहाँ धेरै राम्रो हुनुहुन्थ्यो । गृहमन्त्री हुँदासम्म धेरै राम्रो हुनुहुन्थ्यो । प्रधानमन्त्री हुँदा पनि राम्रै हुनुहुन्थ्यो ।
पछि आएर एउटा समूहको घेरामा उहाँ पर्नुभयो । त्यो समूहको स्वार्थका लागि उहाँले गल्ती गर्न थाल्नुभयो । गल्ती त्यहीँबाट हुन थाल्यो । त्यसपछि उहाँ विवादमा पर्नुभयो । अहिले आएर किशुनजी, गणेशमानजीको कुरा तपाईंले पनि निकाल्नुभयो । त्यो बेलामा किशुनजी र गणेशमानजीले यो विकृतिको बारेमा आवाज उठाउनुभएको हो । गणेशमानजीले आवाज उठाउँदा केही युवाले साथ दिएनन् । उहाँले पार्टी छोडेर जानुभयो । किशुनजीले पनि आवाज उठाउनुभयो, ‘यो गिरिजाबाबुले गरेको गल्ती हो, यो भएन’ भन्नुभयो । किशुनजीले आवाज उठाउँदा गिरिजाबाबुले उहाँलाई पन्छाउनुभयो । किशुनजीले विरोध गरेर पार्टी छोड्छु भनेर सूचना ल्याएको हो नि । चिठ्ठी पनि लेख्नुभयो । महासमितिमा त्यो चिठ्ठी ल्याएर मैले पढेको हुँ ।
मैले जुन आवाज उठाएको थिएँ, त्यो बेलामा युवाहरूले साथ दिएको भए किशुनजीले पार्टी छोड्नु हुने थिएन । तर अहिले युवाहरूले आवाज उठाएका छन् । अनि युवाहरूले आवाज उठाउँदा हामी बुढापाकाहरू चुप लागेर बस्यौँ भने अहिले पनि त्यही अवस्था हुन सक्छ भनेर मचाहिँ अहिले आएँ ।
म वास्तवमा पार्टी पदबाट अलिकति पर बसिसकेको थिएँ । पदको राजनीति गर्दिनँ भनेर टाढिएको थिएँ । मैले राजनीति छोडेको थिइनँ, तर पदचाहिँ छोडेको थिएँ, १०–१५ वर्षदेखि । अहिले आएर ‘होइन, चुप लागेर बस्दा यिनीहरूले बढी नै गर्न थाले’ भनेर मैले साथ दिएको हो ।
- नेतृत्वलाई के भन्न चाहनुहुन्छ तपाईं ?
मैले नै झन्डा बोकेर नेता बनेका साथीहरू हुनुहुन्छ । शेरबहादुर, रामचन्द्रलगायत सबैजना मैले बनाएका नेता हुन् । उहाँहरूलाई अझै पनि अनुरोध छ, कृष्ण सिटौलालाई पनि भनेको छु, त्यहाँका अरू साथीहरूलाई पनि भनेको छु । यस महाधिवेशनमा गोपालमानजी पनि आउनुभयो, उहाँ अनुभवी नेता हो । अहिले नआएका साथीहरूलाई अझै पनि समय छ । बन्द सेसनमा आउनोस् । सम्मानका साथ हामी उहाँहरूलाई स्वागत गर्छौं । जसरी पहिले गिरिजाबाबुले पोखराको महाधिवेशनमा विशेष भेला गर्नुभएको थियो, त्यो बेलामा किशुनजी आफैँ जानुभएको थियो । उहाँले सम्बोधन गरेर त्यो भेलालाई इज्जत गरिदिनुभएको थियो । अहिले ७० प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले माग गरेको ठाउँमा नआएर उहाँले उनीहरूलाई नकार्न खोज्नुभएको हो भने राम्रो कुरा होइन ।
त्यसैले त्यो महाधिवेशन, जसले उहाँलाई नेता बनायो, ती महाधिवेशनका प्रतिनिधिलाई सम्मान गर्नुस् । उहाँले आएर महाधिवेशनका प्रतिनिधिलाई सम्बोधन गरेर यो पार्टीलाई बचाएर चुनावमा सबैलाई लैजाँदा राम्रो हुन्छ ।
- अहिले कांग्रेस कहाँ छ ?
१०–१२ वर्षदेखि कांग्रेस हराएको थियो, कांग्रेस खोज्दै थिएँ म । सिङ्गो मुलुकभरि कांग्रेस थियो, पहाडमा कांग्रेस, तराईमा कांग्रेस, जताततै कांग्रेस देखिरहेको थिएँ । तर नेपालमा शुद्ध नेपाली कांग्रेस थिएन । म खोज्दै थिएँ । हिजो मैले बल्ल भेट्टाएँ वास्तविक कांग्रेस । अब म ढुक्क छु ।
कांग्रेस कमजोर हुनु भनेको देशै कमजोर हुनु हो, लोकतन्त्र कमजोर हुनु हो, संविधान कमजोर हुनु हो । अहिलेसम्म देशको राजनीतिको केन्द्रबिन्दु नै कांग्रेस थियो । अहिले कांग्रेस अरूको वरिपरि घुम्न थाल्यो । त्यो दुर्भाग्य हो । बिग्रिएको कारण त्यही हो । कांग्रेसको सिद्धान्त भनेको शाश्वत सिद्धान्त हो । सबैलाई चाहिने स्वतन्त्रता, सबैलाई चाहिने प्रजातन्त्र । यो शाश्वत सिद्धान्त भएको पार्टी कमजोर भइदिँदा धेरै विकृति देखा पर्न थाले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण