शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संस्कृति

काठमाडौंको टुँडिखेलमा थारू राष्ट्रिय माघी महोत्सव हुने

सोमबार, २८ पुस २०८२, १४ : ३०
सोमबार, २८ पुस २०८२

काठमाडौँ । आगामी माघ १ गते काठमाडौंको टुँडिखेलमा ‘थारू राष्ट्रिय माघी महोत्सव-२०८२’ हुने भएको छ । थारू समुदाय सम्बद्ध विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा ‘थारू कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र सम्वर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ माघी महोत्सव हुने लागेको हो । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्वदेखि पश्चिमसम्मका थारू समुदायको साझा पर्व माघीलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्ने उद्देश्यले यो महोत्सव आयोजना गर्न लागिएको जानकारी गराइयो । 

अन्य समुदायले माघे संक्रान्तिका रूपमा मनाउने माघ १ गतेलाई थारू समुदायले माघी पर्व मनाउँछन् । यो थारू समुदायको सबैभन्दा ठुलो चाड हो । माघीमा थारू समुदायले कुल पूजा, दानपुण्य र विभिन्न परम्परागत कार्य गर्छन् । माघीका दिन बिहानै नुहाएर दान गर्ने, ढिक्री, माछा, घोङ्घी लगायत परम्परागत परिकार खाने प्रचलन छ । 

Maghi Mahotsav1

महोत्सवमा थारू समुदायको मौलिक संस्कृति, वेशभूषा, कला र परम्परा झल्किने स्टल राखिने जनाइएको छ । परम्परागत वेशभूषामा सजिएका थारू युवायुवतीहरूले झुम्रा, लठ्ठी, मयुर लगायत नाचहरू प्रस्तुत गर्नेछन् । साथै, थारू परिकारका स्टलहरू र सांस्कृतिक कार्यक्रम पनि महोत्सवका मुख्य आकर्षण रहनेछन् । 

थारू कल्याणकारिणी सभा, थारू विद्यार्थी समाज, थारू महिला समाज, थारू पत्रकार संघ लगायतका विभिन्न २२ वटा संघसंस्था महोत्सवको मूल आयोजक तथा सहकार्यका रूपमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप