बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमाः महासचिव पोखरेल

सोमबार, २८ पुस २०८२, २१ : ४८
सोमबार, २८ पुस २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेका पक्षमा हुने बताएका छन् ।

बागमती प्रदेश सङ्गठन कमिटीले साेमबार आयोजना गरेको बागमती प्रदेशस्तरीय सयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनको परिणामलाई आफ्नो अनुकूल बनाउने बताए ।

उनले पार्टीले धेरै कार्यक्रम गरे पनि जनताको घरघरमा पुगेर संवाद गर्न भने नसकेको स्वीकार गरे । “हामी धेरै गतिविधि गर्दैछौँ । मुख्य कुरा जनताको घरघरमा पुगेर संवाद गर्नु हो, तर त्यो हामीले अहिलेसम्म गर्न सकेका छैनौँ । त्यो हाम्रो कमजोरी हो”, उनले भने, “पहिले हामी हरेक व्यक्तिका घरघर पुगेर संवाद गर्थ्याैँ । उनीहरुलाई एमाले बनाउन मेहनत गर्थ्याैँ । तर पछिल्लो समय हामी उम्मेदवारका पछाडि मात्र देखिन थालेका छौँ ।”

महासचिव पोखरेलले उम्मेदवारको अगाडि पछाडि घुमेर चुनावी सफलता प्राप्त गर्न नसकिने बताए । उनले चुनावी अभियान पार्टीको आन्दोलनको भविष्यसँग जोडिएको बताए । “चुनावी अभियानमा चुक्यौँ भने मुलुक राजनीतिक द्वन्द्वको क्रिडास्थल बन्ने छ । त्यसैले चुनावी अभियानमा जुट्नु आवश्यक छ”, उनले भने ।

कार्यक्रममा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेशले सबै निर्वाचन क्षेत्र जित्ने गरी रणनीति बनाउनुपर्नेमा जोड दिए। बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष नारायण सिलवालले कमिटीले निर्वाचन केन्द्रित अभियान सुरु गरेको जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप