कांग्रेसमा कोही कसैको ‘झोले’ हुनु पर्दैन: गगन थापा
सारांश
- विशेष महाधिवेशनमा सभापतिमा निर्वाचित व्यक्तिले पार्टीमा गुटबन्दी अन्त्य र विधि-पद्धतिको सुरुवात गर्ने प्रतिबद्धता जनाए।
- उनले पार्टीभित्रको 'बोस' संस्कृति अन्त्य गर्दै सबै सदस्यलाई समान हैसियत दिने कुरामा जोड दिए।
- उनले पार्टीलाई युवामैत्री बनाउँदै आगामी चुनावमा कांग्रेसलाई देशको ठूलो पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे।
राजनीतिमा सधैँ दुईवटा बाटो हुन्छन्– एउटा सजिलो, जहाँ पद, प्रतिष्ठा र सुबिस्ता हुन्छ अर्को कठिन, जहाँ जोखिम, संघर्ष र अनिश्चितता हुन्छ । विद्यार्थी आन्दोलनको बेला पनि मसँग कोठाभित्र लुकेर सुरक्षित हुने विकल्प थियो, तर मैले सडक रोजेँ । आज नेपाली कांग्रेसको राजनीतिमा पनि मलाई सजिलो बाटो हिँड्ने सुविधा थियो । मन्त्री बन्ने प्रस्ताव थियो, नेतृत्वसँग सम्झौता गरेर भागबन्डामा राम्रो अवसर थियो। तर, मैले जानेरै त्यो सजिलो बाटो रोजिनँ । किनभने, पार्टी जमेको पोखरी जस्तो हुँदा र लाखौँ कार्यकर्तामा निराशा छाउँदा, पदको न्यानोमा रम्नु मेरो नैतिकताले दिएन ।
यो विशेष महाधिवेशन कसैको रहर थिएन, यो समयको बाध्यात्मक माग थियो । जब पार्टीको नेतृत्व विधि, विधान र पद्धतिभन्दा माथि आफूलाई ठान्न थाल्छ, जब कार्यकर्ताको आवाज र भावनाको सुनुवाइ बन्द हुन्छ, तब ‘सडक’ ले हस्तक्षेप गर्नुपर्छ। इतिहास साक्षी छ, सुवर्ण शमशेरले पनि विशेष महाधिवेशनबाटै बीपी कोइरालालाई निर्विरोध सभापति बनाएर पार्टीलाई नयाँ जीवन दिनुभएको थियो। आज हामीले चालेको कदम पनि त्यही ऐतिहासिक विरासतको निरन्तरता हो। यो विद्रोह मात्र होइन, यो कांग्रेसको नवनिर्माणको अभियान हो ।
कांग्रेसभित्र वर्षौँदेखि जरा गाडेर बसेको ‘बोस’ संस्कृति अब अन्त्य हुनुपर्छ । पार्टीभित्र कोही पनि मालिक र कोही पनि दास हुनु हुँदैन। मेरो स्पष्ट मान्यता छ– यो विशेष महाधिवेशनले निर्वाचित गरेको सभापति र गाउँको साधारण सदस्यको हैसियत बराबर हो, मात्र जिम्मेवारी फरक हो। जुन पार्टीमा सदस्यहरू नेतृत्वसँग डराउँछन्, जहाँ प्रश्नहरू मर्छन्, त्यो पार्टीले लोकतन्त्रको रक्षा गर्न सक्दैन। अबको कांग्रेसमा कोही कसैको ‘झोले’हुनु पर्दैन, कोही कसैको गुटको भारी बोक्नु पर्दैन। आजबाट कांग्रेसमा गुट तन्त्रको समाप्ति भएको छ र विधि–पद्धतिको सुरुवात भएको छ।
हामीले यो कदम चाल्दै गर्दा अग्रज नेताहरू, विशेष गरी शेरबहादुर देउवाप्रति कुनै व्यक्तिगत द्वेष राखेका छैनौँ । उहाँको इतिहास र योगदानलाई हामी उच्च सम्मान गर्छौँ। तर, सम्मानको अर्थ सधैँ भरी नेतृत्वमा एकै पुस्ता रहिरहनुपर्छ भन्ने होइन। २००७, २०१५ वा २०४६ सालको कांग्रेसको गौरवमय इतिहास भजाएर मात्र अब नयाँ पुस्तालाई आकर्षित गर्न सकिँदैन। अबको कांग्रेस २०८० को दशक सुहाउँदो, प्रविधिमैत्री र युवाहरूको सपना बोक्न सक्ने हुनुपर्छ।
यो विशेष महाधिवेशनले मलाई सभापति चुनेको होइन, एउटा ठुलो जिम्मेवारी र भारी बोकाएको छ। यो काठमाडौँको हलमा मात्र सीमित छैन, यो देशका कुना-कन्दरामा रहेका ती कार्यकर्ताहरूको आवाज हो जो वर्षौँदेखि पार्टी सुध्रिएला कि भनेर आसमा बसेका थिए। हामी निर्वाचन आयोगमा जान्छौँ, वैधानिकताको लडाइँ जित्छौँ र आगामी चुनावमा कांग्रेसलाई देशको सबैभन्दा ठुलो र भरोसायोग्य पार्टी बनाउँछौँ।
जसरी सडकबाट उठेको आवाजले देशमा ठुला–ठुला परिवर्तन ल्यायो, आज पार्टीभित्रको सडक (तल्लो तह) बाट उठेको यो आवाजले कांग्रेसलाई पुनर्जीवन दिनेछ। यो जोखिमपूर्ण यात्रामा साथ दिने सबैप्रति म ऋणी छु। अबको कांग्रेसमा भागबन्डा होइन, विचारको राजनीति हुनेछ व्यक्ति पूजा होइन, विधिको शासन हुनेछ।
बुधबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा सर्वसम्मत चयन भए लगत्तै विशेष महाधिवेशनमा उनले गरेको सम्बोधनको सम्पादित अंश
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण