बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विचार

अबका मतदाता कुनै दलको ‘बँधुवा मजदुर’ होइनन्

बिहीबार, ०१ माघ २०८२, ०७ : ३०
बिहीबार, ०१ माघ २०८२

सारांश

  • नेपालको राजनीति तरल अवस्थामा पुगेको छ, पुरानो सिद्धान्तले वर्तमानलाई व्याख्या गर्न नसक्ने अवस्था आएको छ।
  • नयाँ पुस्ताको विद्रोह (जेनजी) ले राजनीतिमा नयाँ सिद्धान्तको माग गरेको छ, जुन विश्वव्यापी लहरको रूपमा देखा परेको छ।
  • युवा पुस्ता परम्परागत राजनीतिक दलको 'बँधुवा मजदुर' होइनन् र परिवर्तनका लागि सचेत छन्, जसले गर्दा मतदाताको मनस्थितिमा ठूलो परिवर्तन आएको छ।
00:00 / NaN:NaN
Audio By AI

नेपालको समसामयिक राजनीति अहिले एउटा यस्तो कठिन र तरल मोडमा आइपुगेको छ, जहाँ पुराना सिद्धान्तहरूले मात्रै वर्तमानको जटिलतालाई व्याख्या गर्न सम्भव देखिँदैन । राजनीतिशास्त्रको लामो प्राध्यापन र अनुभवका आधारमा भन्नुपर्दा हामीले अहिलेसम्म पढेका र पढाएका कतिपय राजनीतिक मान्यताहरू अहिले व्यवहारमा खण्डित हुँदै गइरहेका छन् ।

हालै श्रम संस्कृति पार्टीको एउटा कार्यक्रममा सहभागी हुँदा मैले त्यहाँ जुन खालको जनउत्साह र ऊर्जा देखेँ, त्यसले नेपाली समाज भित्रभित्रै ठुलो परिवर्तनको पर्खाइमा छ भन्ने प्रस्ट संकेत गरेको छ । यसले के देखाउँछ भने अबको राजनीति व्यक्ति वा नेताको वरिपरिमात्रै घुम्ने छैन । बरु एउटा विचार र एजेन्डाको खोजीमा जनता आफैँ सडकमा निस्कन तयार छन् ।

राजनीतिशास्त्रमा हामीले थुप्रै सिद्धान्त पढ्ने गर्छौं । जसमध्ये कतिपय त केवल बन्द कोठामा बसेर गरिएका अनुसन्धानका उपजमात्रै हुन् । तर वास्तविक राजनीति सधैँ सडकको अभ्यास र समाजको घर्षणबाट उत्पन्न हुने गर्दछ । नेपालमा अहिले जुन ‘जेनजी’ अर्थात् नयाँ पुस्ताको विद्रोह देखिएको छ, यसले राजनीतिशास्त्रमा नयाँ सिद्धान्तको माग गरेको छ । यो विद्रोह केवल नेपालमा मात्रै सीमित छैन, बरु विश्वभर नै एउटा लहरको रूपमा देखा परेको छ ।

केही समयअघि श्रीलङ्कामा भएको जनविद्रोह, बंगलादेशको विद्यार्थी आन्दोलन, इन्डोनेसिया र टिमोर लिस्टेजस्ता मुलुकमा देखिएका परिवर्तनका लहरहरूलाई सुक्ष्म रूपमा अध्ययन गर्दा एक्काइसौँ शताब्दीका विद्रोहका केही अनौठा र नयाँ चरित्र फेला पर्छन् । यी चरित्रलाई बुझ्न सकेमात्रै हामीले अबको नेपालको दिशा पहिल्याउन सक्छौँ ।

पहिलो कुरा त आधुनिक युगका यी राजनीतिक आन्दोलन वा विद्रोह कुनै पनि राजनीतिक दलको मुख्यालयबाट तय भएर सुरु हुँदैनन् । विगतमा कुनै पनि आन्दोलन हुनका लागि पार्टीको ह्वीप, संगठनको निर्णय र नेताको निर्देशन अनिवार्य हुन्थ्यो, तर अहिलेको समयमा सामाजिक सञ्जालको माध्यमबाट युवाहरू आपसमा जोडिन्छन् र कुनै निश्चित केन्द्रको निर्देशनविना नै सडकमा उत्रिन्छन् । यसले परम्परागत संगठनको संरचनालाई चुनौती दिएको छ ।

दोस्रो चरित्र भनेको यी विद्रोह अत्यन्तै छोटो समयका हुन्छन्, तर निकै प्रभावकारी र कतिपय अवस्थामा ध्वंसात्मक पनि हुन्छन् । लामो समयसम्म आन्दोलन तन्काउने भन्दा पनि छोटो समयमा ठुलो धक्का दिने रणनीतिमा अहिलेको पुस्ता देखिन्छ । तेस्रो र सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको यो पुस्ताको विद्रोह ‘लीडरलेस’ अर्थात्् नेताविहीन जस्तो देखिन्छ । कुनै एउटा अनुहारलाई अगाडि सारेर आन्दोलन गर्नुभन्दा पनि विचार र सामूहिक भावनालाई प्रधानता दिने गरिन्छ । यसले गर्दा सत्ता पक्षलाई आन्दोलन दबाउन वा नेतासँग सम्झौता गरेर आन्दोलन मत्थर पार्न कठिन भइरहेको छ । चौथो विशेषता भनेको यस्ता विद्रोहले समस्याहरूलाई त उजागर गरिदिन्छन्, तर तत्कालै समाधानको पूर्ण खाका भने दिँदैनन् । यसले व्यवस्थामा रहेका बेथिति र भ्रष्टाचारलाई सडकमा ल्याएर नाङ्गो पारिदिन्छ, तर त्यसपछिको निर्माणको पाटोमा भने एउटा रिक्तता देखिने गर्दछ ।

नेपालको सन्दर्भमा कुरा गर्दा अबका मतदाता कुनै पनि दलको ‘बँधुवा मजदुर’ रहेनन् भन्ने सत्यलाई सबैले स्वीकार गर्नुपर्छ । विगतमा कतिपय निर्वाचन क्षेत्रलाई कुनै निश्चित दल वा नेताको ‘गढ’ मान्ने गरिन्थ्यो, तर अब त्यो ‘गढ’ को अवधारणा पूर्ण रूपमा ध्वस्त भएको छ । जनताले अब केवल झन्डा र चुनाव चिह्नका आधारमा मात्रै मतदान गर्ने छैनन् । हिजोका दिनमा आफूलाई अत्यन्तै शक्तिशाली ठान्ने स्थापित दलहरूले पनि अबको निर्वाचनमा शून्यबाटै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नयाँ खुलेका पार्टीहरूले त शून्यबाटै सुरु गर्ने नै भए, तर पुराना दलहरूले पनि विगतको बिरासतका आधारमा मात्रै अब चुनाव जित्ने कल्पना गर्नु हुँदैन । मतदाताको मनस्थितिमा आएको यो ठुलो खलबललाई जसले सही ढङ्गले सम्बोधन गर्न सक्छ, उसैले अबको राजनीतिमा नेतृत्व गर्नेछ ।

नेपालमा युवाहरूको राजनीतिप्रतिको दृष्टिकोणमा पनि व्यापक परिवर्तन आएको छ । एउटा समय थियो, जब घरमा टेलिभिजनमा समाचार आउँदा युवाहरू कोठा छोडेर बाहिर जान्थे किनभने समाचारमा केवल नेताका भाषण र राजनीतिक खिचातानीमात्रै हुन्थ्यो । अहिलेको पुस्ता राजनीतिक रूपमा निकै सचेत र अपडेटेड छ । उनीहरूलाई राजनीति मन नपर्न सक्छ, तर राजनीतिले उनीहरूको दैनिक जीवनमा कसरी प्रभाव पारिरहेको छ भन्ने कुरामा उनीहरू जानकार छन् ।

सामाजिक सञ्जालमा उनीहरूले व्यक्त गर्ने प्रतिक्रिया, एनसेल काण्डजस्ता विषयमा उनीहरूको चासो र टिकटक जस्ता माध्यममा लगाइएको प्रतिबन्ध विरुद्धको आवाजले उनीहरूको राजनीतिक सक्रियतालाई प्रस्ट पार्छ । यो पुस्ता इतिहासको पाङ्ग्र्रालाई पछाडि फर्काउन चाहँदैन । उनीहरू भविष्यतिर हेर्न चाहन्छन् । उनीहरूले अहिलेको ‘वृद्धतन्त्र’ अर्थात् शासन सत्तामा हावी भएको पुराना पुस्ताको एकाधिकारलाई विस्थापित गरेर नयाँ सोच र ऊर्जालाई ठाउँ दिन खोजिरहेका छन् ।

मुलुकको सुशासन र डेलिभरीको अवस्था अहिले अत्यन्तै दयनीय छ । राजनीतिक नेताहरूले विभिन्न सिद्धान्तका कुरा गरे पनि जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् । भ्रष्टाचार र बेथिति यति गहिरोसँग जकडिएको छ कि सामान्य नागरिकले राज्यबाट पाउनुपर्ने सेवा सुविधाहरू पनि सहजै पाउन सकेका छैनन् । यही कारणले गर्दा नै जनतामा चरम आक्रोश र निराशा छ । यो निराशालाई कतिपय शक्तिहरूले आफ्नो फाइदाका लागि प्रयोग गर्न खोजेको पनि देखिन्छ, तर युवाहरू अब कसैको गोटी बन्न तयार छैनन् । उनीहरू आफ्नै विवेकले एउटा नयाँ बाटो खन्न चाहन्छन् ।

आजको अर्को ठुलो चुनौती भनेको ‘ब्रेन ड्रेन’ हो । नेपालका दक्ष र शिक्षित युवाहरू अवसरको अभावमा दिन प्रतिदिन विदेश पलायन भइरहेका छन् । यहाँ राम्रो शासन र अवसर नभएकै कारण उनीहरू बाहिरिएका हुन्, तर यदि हामीले मुलुकमा सही नेतृत्व र सुशासनको प्रत्याभूति गर्न सक्यौँ भने यो ‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा बदल्न असम्भव छैन । विदेशमा रहेका नेपाली युवाहरूले त्यहाँ सिकेको सिप, अनुभव र उनीहरूले कमाएको पुँजीलाई नेपालको विकासमा लगाउन सक्ने वातावरण बनाउनु पर्छ । यसका लागि पहिलो सर्त भनेको राजनीतिक स्थिरता र इमानदार नेतृत्व नै हो ।

श्रम संस्कृति पार्टीजस्ता नयाँ र उदयीमान शक्तिहरूले जनताको यो चाहना र भावनालाई बुझ्न जरुरी छ । नेपालको माटो र यहाँको परिवेशबाट जन्मिएका ‘अर्गानिक’ नेताहरूको खाँचो अहिले मुलुकलाई छ । विदेशी मोडल वा अरुको नक्कल गरेरभन्दा पनि नेपालकै मौलिक समस्याहरूको पहिचान गरी त्यसको समाधान खोज्ने नेतृत्व नै आजको आवश्यकता हो । अबको निर्वाचनमा मतदाताले परिवर्तनको पक्षमा उभिएर मतदान गर्ने निश्चित प्रायः छ, तर परिवर्तनको नाममा कतै हामीले फेरि अर्को गल्ती त गरिरहेका छैनौँ भन्ने कुरामा पनि सचेत हुन जरुरी छ ।

अन्त्यमा, राजनीति भनेको केवल सत्ता प्राप्तिमात्रै होइन, यो त समाजलाई सही दिशा दिने एउटा पवित्र माध्यम हुनुपर्छ । हाम्रा राजनीतिक दलहरू र तिनका नेताहरूले यो कुरालाई जति छिटो बुझ्छन्, त्यति नै मुलुकका लागि हित हुनेछ । अबको बाटो सजिलो छैन, तर असम्भव पनि छैन । युवाहरूको ऊर्जा, पुरानाको अनुभव र जनताको सचेतताले मात्रै नेपाललाई एउटा समृद्ध र समुन्नत राष्ट्रको रूपमा अगाडि बढाउन सक्छ । अबको मतदाता सचेत छ । उनीहरू कसैको प्रलोभनमा पर्ने छैनन् र आफ्नो भविष्यको फैसला आफैँ गर्ने सामर्थ्य राख्छन् । त्यसैले हरेक नागरिकले आफ्नो मतको महत्त्व बुझेर परिवर्तनका लागि तयार हुनुपर्ने बेला आएको छ । यो नै आजको राजनीतिक यथार्थ र हाम्रो साझा दायित्व पनि हो । अबको नेपाल कस्तो बनाउने भन्ने कुरा आजका युवाहरू र सचेत नागरिकहरूको हातमा छ । हामी सबैले आफ्नो तर्फबाट इमान्दार प्रयास गर्ने हो भने पक्कै पनि नेपालले एउटा नयाँ र सुनौलो बिहानी देख्न पाउनेछ ।

(प्राध्यापक पोखरेलले बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा व्यक्त गरेको विचारमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा. कृष्ण पोखरेल
प्रा. कृष्ण पोखरेल
लेखकबाट थप