प्रदेश र पालिका छोडेर प्रतिनिधि सभा जान चाहने बढ्दै
सारांश
- प्रतिनिधि सभा निर्वाचनका लागि प्रदेश सांसद र पालिका प्रमुखहरू उम्मेदवार बन्ने आकाङ्क्षी देखिएका छन्।
- एमाले, नेकपा र नेपाली कांग्रेसका नेताहरूले विभिन्न क्षेत्रबाट चुनाव लड्ने इच्छा देखाएका छन्।
- बहालवाला जनप्रतिनिधिले राजीनामा दिए राष्ट्रिय सभा निर्वाचनमा मतभार परिवर्तन हुनसक्ने चिन्ता व्यक्त गरिएको छ।
विराटनगर । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि प्रदेश सांसद र पालिका प्रमुख/अध्यक्षमा बहाल जनप्रतिनिधिहरू पनि उम्मेदवार बन्ने आकाङ्क्षी देखिएका छन् ।
प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते (आउँदो मंगलबार) उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ । त्यसका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध प्रदेश सांसद तथा पालिकाका प्रमुख/अध्यक्षहरूले आकाङ्क्षा राखेका हुन् ।
प्रतिनिधि सभामा उम्मेदवारी दिन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्नेछ । आफ्ना जनप्रतिनिधिले राजीनामा दिए माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनको मतभार परिवर्तन हुनेमा कतिपय पार्टी सचेत देखिएका छन् ।
हालसम्म नेकपा एमालेबाट ताप्लेजुङ (१) प्रदेश सभामा निर्वाचित तिलकुमार मेन्याङ्बो प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका आकाङ्क्षी हुन् । उनी ताप्लेजुङबाटै प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्न चाहन्छन् । एमाले स्रोतका अनुसार सो जिल्लाबाट पार्टीका उपमहासचिव योगेश भट्टराईलाई अन्यत्रै व्यवस्थापन गरेर मेन्याङ्बोलाई उम्मेदवारी दिने तयारी गरिएको छ ।
यस्तै एमालेले मोरङको २ नम्बर निर्वाचन क्षेत्रका लागि रंगेलीका प्रमुख दिलिप अग्रवाललाई टिकट दिने सम्भावना बढेको स्रोतको दाबी छ । सो क्षेत्रबाट यसअघि एमालेका केन्द्रीय सदस्य ऋषिकेश पोखरेलले जितेका थिए । यस पटक उनलाई रोकेर अग्रवाललाई टिकट दिने एमाले वृत्तमा चर्चा छ । अग्रवाल रंगेली नगरपालिकामा दोस्रो पटक कार्यभार सम्हालिरहेका छन् ।
यस्तै मोरङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा कानेपोखरीकी अध्यक्ष राजमति इङ्नामलाई उम्मेदवार बनाउने तयारी एमालेले गरेको सो पार्टी सम्बद्ध स्रोतको दाबी छ । एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले इङ्नाम, मेन्याङ्बो र अग्रवालको नाम केन्द्रमा सिफारिस गरिएको बताए । यद्यपि उनले प्रदेश सांसद र पालिकाका जनप्रतिनिधिले राजीनामा दिँदा माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनमा मत प्रभावित हुनसक्ने तर्फ आफूहरू सजग रहेको बताए ।
‘प्रदेश समितिको तर्फबाट हाल प्रदेश र पालिकामा बहाल रहेकालाई टिकट नदिनु नै उपर्युक्त भएको भनेर केन्द्रमा सुझाव पठाएका छौँ,’ उनले भने । उनका अनुसार शनिबार बस्ने एमाले सचिवालय बैठकले सबै क्षेत्रको टिकट फाइनल गर्नेछ ।
यस्तै एमाले प्रदेश सांसद तथा पूर्वमन्त्री रेवतीरमण भण्डारीको नाम पनि सुनसरी–२ नम्बरमा उम्मेदवारका रूपमा चर्चामा छ । यद्यपि भण्डारी आफैँले यसबारे निर्णय गरिनसकेको बताए ।
निर्वाचनको मुखमा विवादको भूमरीमा परेको नेपाली कांग्रेसका केही प्रदेश सांसद पनि प्रतिनिधि सभाका लागि टिकटको लबिङमा छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका केदार कार्की आफू पनि उपर्युक्त ठाउँमा टिकट पाए प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बन्ने बताउँदै आएका छन् ।
उता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पनि चार जना जनप्रतिनिधिले प्रतिनिधि सभामा चुनाव लड्ने इच्छा राखेका छन् । जसमा इलाम १ बाट सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले आकाङ्क्षा राखेका छन् । उनी दोस्रो पटक पालिका प्रमुखको रूपमा कार्यरत छन् । सो क्षेत्रबाट पार्टी नेता झलनाथ खनालको नाम आए पनि उनले आफू त्यहाँबाट नलड्ने बताइसकेका छन् ।
यस्तै नेकपाका युवा नेतासमेत रहेका सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले प्रतिनिधि सभामा जाने इच्छा राखेका छन् । उनले पालिकामा दोस्रो कार्यकाल सम्हालिरहेका छन् । यसअघि सो क्षेत्रबाट एमालेका मानवीर राईले जितेका थिए । नेकपाका नेता सुरविर राईको नाम पनि सो जिल्लाबाट चर्चामा छ ।
यस्तै उदयपुर लिम्चुङबुङका अध्यक्ष मेजर राईले पनि उदयपुर–२ बाट प्रतिनिधि सभा निर्वाचनमा लड्ने इच्छा राखेका छन् । राई सो पालिकामा दोस्रो पटक निर्वाचित भएका थिए । सो क्षेत्रबाट यसअघि एमालेका अम्बरबहादुर रायमाझीले जितेका थिए । सोही क्षेत्रमा नेकपाका सुरेशकुमार राई (हिमाल) र जगन्नाथ खतिवडा पनि आकाङ्क्षी हुन् ।
यस्तै ओखलढुंगा चिसंखुगढीका अध्यक्ष निशान्त शर्मा बास्तोलाले पनि प्रतिनिधि सभामा जाने आकाङ्क्षा राखेका छन् । पालिकाको अध्यक्षका रूपमा दोस्रो कार्यकालका लागि विजयी भएका शर्मा पार्टीले टिकट दिए प्रतिनिधि सभामा चुनाव लड्ने बताउँदै आएका छन् । ओखलढुंगा प्रतिनिधि सभामा यसअघि नेपाली कांग्रेसका रामहरि खतिवडाले जितेका थिए ।
नेपाली कम्युनिस्ट पार्टीका नेता इन्द्रबहादुर आङ्बो पार्टीले टिकट फाइनल गरिनसकेको बताउँछन् । उनका अनुसार प्रदेश सांसदहरू कसैले पनि प्रतिनिधि सभामा लड्ने इच्छा राखेका छैनन् ।
उता, निर्वाचनको मुखमा विवादको भूमरीमा परेको नेपाली कांग्रेसका केही प्रदेश सांसद पनि प्रतिनिधि सभाका लागि टिकटको लबिङमा छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका केदार कार्की आफू पनि उपर्युक्त ठाउँमा टिकट पाए प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बन्ने बताउँदै आएका छन् ।
यस्तै निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका कांग्रेस कोशीका महामन्त्री भुपेन्द्र राईले खोटाङबाट प्रतिनिधि सभामा निर्वाचन लड्ने इच्छा राख्दै आएका छन् । ‘पार्टीभित्रको विवाद समाधान नभएसम्म केही पनि बोल्न सक्ने अवस्थामा छैन,’ उनले भने । यसअघि उनले पार्टीले टिकट दिएको अवस्थामा निर्वाचन लड्ने बताउँदै आएका थिए ।
यस्तै ताप्लेजुङबाट प्रदेश सांसद बनेका खगेनसिंह हाङ्गामले पनि प्रतिनिधि सभा निर्वाचनमा चुनाव लड्ने चाहना राखेको कांग्रेस स्रोत बताउँछ । सो क्षेत्रबाट यसअघि कांग्रेसका भीष्मराज आङ्देम्बे विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण