बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

एमालेबाट गण्डकीमा टुङ्गिए उम्मेदवार, पालिका अध्यक्षदेखि गुण्डा नाइकेसम्म

आइतबार, ०४ माघ २०८२, ०० : ०९
आइतबार, ०४ माघ २०८२

सारांश

  • नेकपा एमालेले गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।
  • कास्की, नवलपुर, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, म्याग्दी, बागलुङ, मुस्ताङ, र मनाङमा उम्मेदवारहरुको टुंगो लाग्यो।
  • एमालेका उम्मेदवारहरूमा पालिका अध्यक्षदेखि गुण्डा नाइकेसम्म रहेका छन्।

पोखरा । नेकपा एमालेले गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।

एमालेले प्रदेश राजधानी कास्कीको क्षेत्र नम्बर १ मा जिल्ला अध्यक्ष बैनबहादुर अधिकारीलाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर २ मा कृष्ण थापा र क्षेत्र नम्बर ३ मा दामोदर बैरागीलाई टिकट दिएको छ । यसअघि तीनवटै क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाउने चर्चा थियो । १ बाट दिलिप न्यौपाने, २ बाट रश्मि आचार्य र ३ बाट माधव बास्तोलाको नाम चर्चामा भएपनि अन्तिम समयमा टिकट उलटफेर भएको एमाले नेताहरू बताउँछन् ।

यस्तै, नवलपुर १ मा भगीरथ सापकोटा र २ मा तिलबहादुर महत उम्मेदवार बनेका छन् । गोरखाबाट १ मा आरसी लामिछाने र २ बाट मिलन गुरुङ उर्फ चक्रे मिलनले टिकट पाएका छन् । लमजुङबाट पृथ्वी सुब्बा गुरुङको नाम टुङ्गिएको छ । तनहुँ १ मा भगवती न्यौपाने र २ मा केदार सिग्देल उम्मेदवार भएका छन् ।

स्याङ्जा १ मा मिनप्रसाद गुरुङ र २ मा खिमबहादुर थापा उम्मेदवार बनेका छन् । म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ चुनावी उम्मेदवार बनेका छन् । बागलुङ १ बाट हिरा केसी र २ बाट मन्जु शर्मा चालिसे उम्मेदवार बनिन् । मुस्ताङबाट इन्द्रधारा बिष्ट, मनाङबाट पोल्देन छोपाङ गुरुङ र पर्वतबाट पदम गिरीको नाम टुङ्गिएको छ ।

एमालेले तय गरेका उम्मेदवारमा पालिका अध्यक्षदेखि गुण्डा नाइकेसम्म छन् । स्याङ्जा २ बाट उम्मेदवार बनेका खिमबहादुर थापा कालिगण्डकी गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय महासचिव हुन् । गोरखा २ बाट उम्मेदवार बनेका चक्रे मिलन गुण्डा नाइके हुन् ।

लमजुङका उम्मेदवार पिएस नवौं पटक उम्मेदवार बन्ने पक्का हुँदा पर्वतका पदम गिरी ह्याट्रिक गर्ने दाउमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप