बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बङ्गलादेशका क्रिकेट खेलाडी र बोर्डबिच के थियो विवाद ?

आइतबार, ०४ माघ २०८२, ०६ : ३५
आइतबार, ०४ माघ २०८२

सारांश

  • बङ्गलादेशका क्रिकेटरहरूले बहिष्कार फिर्ता लिएपछि बङ्गलादेश प्रिमियर लिग (बीपीएल) का खेलहरू पुनः सुरु भएका छन्।
  • बीसीबी र सीडब्लुएबीबीचको सहमतिपछि खेल सुचारु भएको हो, जसमा बोर्डले खेलाडीका माग पूरा गर्ने आश्वासन दिएको छ।
  • विवाद नजमुल इस्लामको खेलाडीहरूबारेको अपमानजनक टिप्पणीबाट सुरु भएको थियो, जसका कारण उनलाई बोर्डबाट हटाउने निर्णय गरियो।

काठमाडौँ । बङ्गलादेशका क्रिकेटरहरूले आफ्नो बहिष्कार फिर्ता लिएपछि शुक्रबारबाट बङ्गलादेश प्रिमियर लिग (बीपीएल) का खेलहरू आयोजना भएका छन् । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) र बङ्गलादेश क्रिकेटर कल्याण संघ (सीडब्लुएबी) बीच बिहीबार राति भएको बैठकमा सहमति जुटेपछि यस्तो निर्णय भएको हो ।

बीसीबीको मुख्यालयमा राति ११ः४५ बजे सुरु भएको पत्रकार सम्मेलनमा बीसीबी निर्देशक इफ्तेखार रहमान र सीडब्लुएबी अध्यक्ष मोहम्मद मिथुनले भने, ‘क्रिकेटको हितलाई ध्यानमा राख्दै हामी खेल पुनः सुरु गर्दैछौँ । बीसीबीले आफ्ना निर्देशक नजमुल इस्लामसँग छलफल गर्ने र हाम्रा मागहरू यथाशीघ्र पूरा गर्ने आश्वासन दिएको छ ।’

यसअघि साँझ सीडब्लुएबीले जारी गरेको विज्ञप्तिमा नजमुल इस्लामलाई निलम्बन नगरेसम्म वार्तामा नबस्ने शर्त राखेको थियो । बीसीबीले नजमुललाई वित्त समितिको अध्यक्ष पदबाट हटाए पनि उनी बोर्डको निर्देशकका रूपमा भने पुनरवलोकन प्रक्रिया पूरा नहुँदासम्म कायम रहनेछन् ।

प्रदर्शनमा उत्रिएका खेलाडीहरूले उक्त निर्णयको स्वागत गरेका छन्, तर उनीहरूको सार्वजनिक माफीको माग अझै कायम राखेका छन् । ईएसपीएन क्रिकइन्फोका अनुसार माफीको विषय सीडब्लुएबी र बीसीबी अध्यक्ष अमिनुल इस्लामबिच अझै विवादको विषय बनेको छ । 

बीसीबीले बिहीबार राति करिब १०ः३० बजे खेलाडी प्रतिनिधिहरूसँग भेटघाट गर्नुअघि बीपीएल फ्रेन्चाइज अधिकारीहरूसँग पनि छलफल गरेको थियो ।

के थियो विवाद ?

यो विवाद बुधबार सुरु भएको थियो, जब नजमुल इस्लामले पूर्वप्रधानमन्त्री खालिदा जियाको सम्मानमा आयोजित बीसीबीको प्रार्थना सभाको क्रममा देशका क्रिकेटरहरूबारे अपमानजनक टिप्पणी गरेका थिए ।

भारत र श्रीलङ्कामा हुने आगामी टी–२० विश्वकपमा बङ्गलादेश सहभागी नभए आर्थिक असर के पर्छ भन्ने प्रश्नमा नजमुलले बोर्डलाई कुनै घाटा नहुने, तर खेलाडीहरूलाई मात्रै असर पर्ने बताएका थिए । उनले खेलाडीहरूलाई कुनै क्षतिपूर्ति नदिइने समेत बताएका थिए ।

‘किन क्षतिपूर्ति दिनुपर्‍यो ? हामीले उनीहरूका लागि खर्च गरिरहेका करोडौँ टाका फिर्ता मागिरहेका छौँ त ? पहिले मलाई यसको जवाफ दिनुहोस्,’ नजमुलले भनेका थिए ।

‘हामी यति धेरै पैसा खर्च गरिरहेका छौँ, तर उनीहरूले केही गर्न सकेका छैनन् । हामीले कुनै अन्तर्राष्ट्रिय पुरस्कार जितेका छौँ ? कुनै पनि तहमा के हासिल गरेका छौँ ? अब त उनीहरूले खेल्न नसकेको हरेक पटक पैसा फिर्ता माग्नुपर्छ । फिर्ता देऊ । खेलाडीलाई क्षतिपूर्ति दिनुपर्छ भन्ने प्रश्न नै किन उठ्नु ?’

त्यसपछि बीसीबीले तत्कालै विज्ञप्ति जारी गर्दै नजमुलका भनाइहरू व्यक्तिगत विचार मात्र भएको स्पष्ट पारेको थियो । बोर्डले ‘खेद’ प्रकट गर्दै औपचारिक माध्यमबाट जारी नगरिएका कुनै पनि निर्देशक वा बोर्ड सदस्यका टिप्पणीहरूको जिम्मेवारी नलिने स्पष्ट पारेको थियो ।

बिहीबार राति बीसीबीका निर्देशक इफ्तेखार रहमानले नजमुलका टिप्पणीलाई ‘दुर्भाग्यपूर्ण’ भनेका थिए, तर बोर्ड अझै नजमुलसँग सम्पर्कमा आउन नसकेको बताएका थिए । 

‘पछिल्ला दुई दिनमा केही दुर्भाग्यपूर्ण घटनाहरू भए, जसका कारण बीपीएल खेलहरू आयोजना हुन सकेनन्,’ इफ्तेखारले भने ।

‘टिप्पणी सार्वजनिक भएपछि उनलाई उनको समितिबाट (वित्त समिति) हटाइएको छ । हाम्रो विधानअनुसार उनलाई कारण देखाउने पत्र पठाइएको छ । जवाफ दिन ४८ घण्टाको समय दिइएको छ। त्यसपछि विषय अनुशासन समितिमा जानेछ र प्रक्रिया विधानअनुसार अगाडि बढ्नेछ ।’

उनले थपे, ‘हामीले दिनभर उहाँसँग सम्पर्क गर्ने प्रयास गर्‍यौँ, उहाँलाई यहाँ ल्याउन चाहन्थ्यौँ, तर सम्पर्क हुन सकेन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप