लुम्बिनीका ८ क्षेत्रका टिकट अध्यक्ष ओलीको ‘जेबमा’
सारांश
- लुम्बिनी प्रदेशमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरणमा निर्णय होल्ड गरेका छन्।
- रुपन्देही, दाङ, बाँके, कपिलवस्तु र पूर्वीरुकुमका केही सिटमा अध्यक्षले निर्णय गर्ने भएका छन्।
- विभिन्न नेताहरूले टिकट वितरणमा असन्तुष्टि जनाएका छन्, कतिपयले पटक-पटक टिकट पाएका छन्।
बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा बाँडिने झण्डै एक तिहाइ टिकट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘आफैं निर्णय गर्ने’ भन्दै अझैसम्म होल्डमा राखेका छन् ।
प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये १८ सिटका उम्मेदवारको नाम बाहिरिए पनि अझै ८ सिटका लागि पार्टी अध्यक्षले टुंग्याउने भन्दै होल्ड गरिएको छ । शनिबार राति केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले लुम्बिनी प्रदेशबाट एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको हो । सो बैठकले प्रदेशका सबै जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवारहरूको सूची तयार गरेको छ ।
जसमा केही क्षेत्र, जिल्ला र प्रदेशबाट सिफारिस भएका नेताहरूको नाम काट्नेदेखि एक ठाउँमा सिफारिस भएका नेतालाई अर्कोमा पठाउनेसम्म काम भएका छन् ।
रुपन्देही क्षेत्र नम्बर १, २ र ४ मा अध्यक्षले निर्णय गर्ने गरी टिकट होल्ड गरिएको छ । दाङ क्षेत्र नम्बर १ मा घनश्याम पाण्डेलाई टिकट दिएको छ भने क्षेत्र नम्बर २ र ३ मा होल्ड गरिएको छ । यस्तै, बाँके क्षेत्र नम्बर २, कपिलवस्तु क्षेत्र नम्बर २ र पूर्वीरुकुम पनि होल्डमै छ ।
नवलपरासी क्षेत्र नम्बर २ बाट क्षेत्र, जिल्ला र प्रदेशबाट एकल सिफारिस भए पनि बैजनाथ चौधरीले टिकट पाएनन् । उनको क्षेत्रमा हाल नवलपरासी जिल्ला समन्वय प्रमुख भगवतीप्रसाद यादवलाई टिकट दिइएको छ । चौधरीजस्तै एकल सिफारिस भएका कपिलवस्तु क्षेत्र नम्बर २ का दीर्घनारायण पाण्डेयको टिकट पनि अध्यक्षले निर्णय गर्ने भन्दै सचिवालयले होल्ड गरेको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका चौधरीले एमाले महाधिवेशनमा ईश्वर पक्षको प्यानलबाट केन्द्रीय उपमहासचिवमा उम्मेदवारी दिएका थिए । अध्यक्षले टिकट वितरण गर्दा अन्याय गरेको उनको गुनासो छ । ‘ईश्वर पक्षको उम्मेदवार बनेका पदाधिकारीहरूमा गोकर्णबाहेक अन्यलाई टिकट दिइएन, त्योभन्दा ठुलो अन्याय के हुन्छ ?’ उनले प्रश्न गरे ।
२०७९ सालको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट सिफारिस भएका थिए, तर पार्टीले उनलाई टिकट दिएको थिएन । पार्टी नेतृत्वले अन्याय गर्दा कार्यकर्ताले साथ नदिने र अन्ततः पार्टीलाई समस्या पर्ने उनले चेतावनी पनि दिएका छन् ।
कपिलवस्तु–२ बाट एकल सिफारिस भएका दीर्घनारायण पाण्डेलाई पनि टिकट दिइएको छैन । उनी पूर्वराष्ट्रिय सभा सदस्यसमेत हुन् । उनको टिकट पनि अध्यक्षले टुंग्याउने भनिएको छ । सोही जिल्लामा हिजो (शनिबार) मात्र कांग्रेस छाडेर एमाले प्रवेश गरेका वीरेन्द्र कनौडियालाई भने टिकट दिइएको छ ।
६ पटकभन्दा धेरै टिकट पाउने नेताहरू
लुम्बिनी प्रदेशमा तीन नेताहरूले निरन्तर ६ पटकसम्म टिकट पाएका छन् । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सात पटक टिकट पाइसके । यस्तै गुल्मी क्षेत्र नम्बर २ बाट गोकर्ण विष्टले ६ पटक र क्षेत्र नम्बर १ बाट प्रदीप ज्ञवालीले पनि ६ पटक टिकट पाएका छन् ।
उपाध्यक्ष पौडेलले जिल्ला फेरबदल गरी निर्वाचन लड्ने अवसर पाएका छन् । उनले पाल्पा–१ बाट २०५१ सालमा निर्वाचन जितेका थिए, तर २०५६ मा रुपन्देही क्षेत्र नम्बर ३ मा कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भएका थिए । त्यसपछि भने उनले रुपन्देही–२ बाट लगातार निर्वाचन जित्दै आएका छन् । हाल भने उनले पाल्पा–२ बाट टिकट पाएका छन्, तर पार्टी क्षेत्रीय कमिटीले पाल्पा–१ बाट सिफारिस गरे पनि उनले किन पाल्पा– २ बाट टिकट ल्याए भन्ने स्पष्ट छैन ।
पटक–पटक उपाध्यक्ष पौडेल र उनका स्वकीय सचिव यम पाण्डेसँगको सम्पर्कको प्रयास सफल भएन । पाण्डे रुपन्देही–२ बाट एकल सिफारिस भएका थिए भने रुपन्देही–३ र पाल्पा–१ बाट पनि उनको नाम सिफारिस भएको थियो ।
धेरै पटक टिकट पाउनेमा गुल्मी–२ का विष्ट पनि पर्छन् । उनी उक्त निर्वाचन क्षेत्रबाट २०५६ सालदेखि निरन्तर मैदानमा छन्, २०६४ सालमा भने विष्ट पराजित भएका थिए । त्यसयता उनले निरन्तर जितिरहेका छन् ।
गुल्मी–२ का एमाले नेता प्रदीप ज्ञवालीले पनि २०५६ सालदेखि टिकट पाइरहेका छन् । ज्ञवालीले कहिले जित र कहिले हार बेहोरेका छन् । उनी २०७९ मा कांग्रेस नेता चन्द्र भण्डारीसँग पराजित भएका थिए ।
टिकट पाउनेहरू
एमालेबाट नवलपरासी–१ मा रामप्रसाद पाण्डे, २ मा भगवतीप्रसाद यादव, रुपन्देही–३ बाट बासुदेव घिमिरे र ५ नम्बर क्षेत्रबाट खिमलाल भट्टराई, कपिलवस्तु –१ मा विश्राम चौधरी र ३ मा वीरेन्द्र कडौनियालाई टिकट तय भएको छ ।
त्यस्तै दाङ–३ मा घनश्याम पाण्डे, बाँके–१ मा सूर्य ढकाल, ३ मा दलबहादुर सुनार, बर्दिया–१ मा सालिकराम अधिकारी र २ मा विमला विक, पाल्पा–१ मा नारायण आचार्य र २ मा विष्णुप्रसाद पौडेललाई टिकट दिइएको छ ।
यस्तै रोल्पामा गोकुल घर्ती, प्युठानमा सूर्यबहादुर थापा र अर्घाखाँचीमा पीताम्बर भुसालको टिकट तय भएको छ । यी जिल्लामा एक–एक निर्वाचन क्षेत्र रहेका छन् ।
एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले टिकट आउने क्रम जारी रहेको बताएका छन् । कतिपय निर्वाचनका बेला सामान्य असन्तुष्टिहरू मिलाउँदै पार्टी अघि बढ्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण