एन्फा चुनाव रोके नेपाललाई निलम्बन गर्ने फिफाको चेतावनी
सारांश
- एन्फाले माघ २८ गते झापामा हुने निर्वाचन तोकिएकै मितिमा गर्ने जनाएको छ।
- फिफा र एएफसीले निर्वाचन रोक्न निर्देशन दिएको र हस्तक्षेप भए एन्फा निलम्बन हुने चेतावनी दिएका छन्।
- निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ, र एन्फाले प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघ २८ गते झापामा तय भएको केन्द्रीय निर्वाचन तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ । एन्फा महासचिव किरण राईले एक पत्र जारी गर्दै निर्वाचन रोक्न विभिन्न निकायमा उजुरी परे पनि विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) ले निर्वाचन नरोक्न कडा निर्देशन दिएको जानकारी दिएका छन् ।
एन्फाको २०८२ पुस १६ गते बसेको कार्यसमिति बैठकले माघ २८ गते झापामा साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, एन्फा सदस्य संस्थाभन्दा बाहिरका ‘तेस्रो पक्ष’ ले निर्वाचन रोक्न युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र उच्च अदालतमा उजुरी दिएपछि अन्योल सिर्जना भएको थियो । यसै सन्दर्भमा फिफा र एएफसीले माघ २ गते संयुक्त पत्र पठाउँदै एन्फाको विधानअनुसार अघि बढेको निर्वाचन प्रक्रिया वैधानिक रहेको ठहर गरेका छन् ।
फिफा र एएफसीले एन्फालाई पठाएको पत्रमा कुनै पनि तेस्रो पक्षको हस्तक्षेप बिना तोकिएकै मितिमा साधारण सभा र निर्वाचन सम्पन्न गर्न निर्देशन दिइएको छ । यदि बाह्य हस्तक्षेपका कारण निर्वाचन प्रक्रिया रोकिएमा वा अवरोध सिर्जना भएमा एन्फालाई निलम्बन गर्न सकिने चेतावनी अन्तर्राष्ट्रिय निकायले दिएका छन् ।
एन्फा निलम्बनमा परे नेपाली फुटबलमा ठूलो दुर्घटना निम्तिने, सबै प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बन्द हुने र फिफा तथा एएफसीबाट प्राप्त हुने आर्थिक अनुदानसमेत रोकिने खतरा महासचिव राईले औँल्याएका छन् ।
एन्फाले निर्वाचनका लागि १०६ सदस्य संस्थाबाट मताधिकार प्रतिनिधिहरूको नामावली प्राप्त भइसकेको र उम्मेदवारी दर्ता प्रक्रियासमेत सम्पन्न भइसकेको जनाएको छ । निर्वाचनका सम्पूर्ण कार्यक्रमबारे राखेपलाई पहिले नै जानकारी गराइएको र फिफा तथा एएफसीबाट अनुमति लिइएको एन्फाको भनाइ छ । फिफाको गम्भीर चेतावनी आएपछि अब कुनै पनि हस्तक्षेप बिना माघ २८ गते झापामा नै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता एन्फाले व्यक्त गरेको छ ।




Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण