बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संस्कृतिको जगेर्ना र पर्यटन विकासमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

सोमबार, ०५ माघ २०८२, १२ : ५३
सोमबार, ०५ माघ २०८२

सारांश

  • मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशमा पर्यटन विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।
  • उनले सोनाम ल्होसार जस्ता पर्वले नेपालीहरूबीच आत्मीयता र एकता कायम गर्न मद्दत गर्ने बताए।
  • मुख्यमन्त्री बानियाँले सबै चाडपर्व र संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए।

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र बसोबास गर्ने विभिन्न जातजातिका संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटन विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसार २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संस्कृतिको जगेर्नालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।

सङ्घीयताको कार्यान्वयनसँगै प्रदेश सरकारले तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याइसकेको जानकारी दिँदै मुख्यमन्त्री बानियाँले यसबाट भाषाको संरक्षण र विकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । सोनाम ल्होसार जस्ता पर्वले नेपालीहरूबीच आत्मीयता, आपसी समझदारी, एकता र सामाजिक सद्भाव कायम गर्न मद्दत पुग्ने उनको भनाइ छ ।

मुख्यमन्त्री बानियाँले सबै चाडपर्व र संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको भन्दै यिनै सांस्कृतिक आधारबाट राष्ट्रिय एकता हासिल गरी समृद्धिको यात्रालाई संस्थागत गर्न प्रदेश सरकार दृढ सङ्कल्पित रहेको स्पष्ट पारे । उनले यस पर्वले समुन्नत प्रदेश निर्माण गर्ने अभियानमा सबैलाई उत्प्रेरणा प्रदान गरोस् भनी कामना समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप