बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रोचक बन्दै चुनावी माहाेल

दैलेख–१ मा कांग्रेसले १० वर्षपछि पायो उम्मेदवार

कांग्रेसकी महिला नेतृ थापाले गुमेको साख फर्काउलिन् ?
सोमबार, ०५ माघ २०८२, २१ : ३१
सोमबार, ०५ माघ २०८२

सारांश

  • दैलेख क्षेत्र नम्बर १ मा कांग्रेसले १० वर्षपछि उम्मेदवार पाएको छ, जसमा बासना थापाले टिकट पाएकी छिन्।
  • २०७४ मा वाम गठबन्धन र ०७९ मा गठबन्धन हुँदा अन्य दलका उम्मेदवारले जिते पनि यसपटक कांग्रेसको प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
  • एमालेबाट रविन्द्रराज शर्मा र नेकपाबाट अम्मरबहादुर थापा पनि उम्मेदवार छन्, जसले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने अनुमान गरिएको छ।

सुर्खेत । सदरमुकाम समेत पर्ने दैलेख क्षेत्र नम्बर १ मा कुनै वेला कांग्रेस एक मात्र बलियो शक्ति थियो । तर सङ्घीयतापछिका कुनै पनि प्रतिनिधि सभा चुनावमा उम्मेदवार पाएन ।

०७४ मा वाम गठबन्धनको सामना गर्न कठिन हुने देखेर राप्रपालाई साथ दिएको कांग्रेसले ०७९ मा कांग्रेस–माओवादी–समाजवादीको गठबन्धन हुँदा समाजवादीका अम्मरबहादुर थापाले टिकट पाए ।

०७४ मा कांग्रेसको समर्थन पाएका राप्रपाका दीपककुमार शाहीले १७ हजार २५२ मत पाउँदा बाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका रविन्द्रराज शर्माले २३ हजार ७७३ मतसहित चुनाव जिते ।

०७९ मा कांग्रेसको समर्थन पाएका समाजवादीका नेता अम्मरबहादुर थापाले १८ हजार २९७ मतसहित चुनाव जिते ।

०७४ मा जितेका शर्माले १७ हजार ४४५ मत पाए । बलियो गढ रहेको क्षेत्रमै आफ्नो उम्मेदवार र आफ्नो चुनाव चिन्हमा भोट हाल्न पाएका थिएनन् । 

अहिले १० वर्षपछि भने कांग्रेसले उम्मेदवार पाएको छ । कांग्रेसबाट महिला नेतृ बासना थापाले कांग्रेसको टिकट पाएकी छिन् ।

सदरमुकाममा रहेको होटल पार्किङकी सञ्चालक समेत रहेकी थापा युवा महिला नेतृ हुन् । उनी दैलेखमा चर्चित महिला नेतृ हुन् ।

नेविसंघको राजनीतिबाट उदाएकी उनी ०७४ मा नारायण नगरपालिकाको उपप्रमुखमा चुनाव लडेकी थिइन् । तर उनी थोरै मतान्तरले पराजित भइन् । 

कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहकी थापाले अन्य पार्टीका पुराना नेताहरूसँग चुनावी प्रतिस्पर्धा गर्नेछिन् । 

कांग्रेसले उम्मेदवार पाएसँगै दैलेख–१ को चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । यहाँ एमालेबाट रविन्द्रराज शर्मा नै उम्मेदवार बनेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट अम्मरबहादुर थापाले नै टिकट पाएका छन् । थापा र शर्मा दुवै परीक्षण भइसकेका नेताहरू हुन् । रास्वपाले एनके बस्नेतलाई उम्मेदवार बनाएको छ । 

बस्नेत केही समयअघिसम्म एमालेमा थिए । टिकट नपाउने भएपछि रास्वपा प्रवेश गरेका उनले टिकट ल्याउन सफल भएका छन् ।

यो क्षेत्रमा ०४८ साल यता लगातार चुनाव लड्दै आएका कांग्रेसका गणेश खड्का ०७० को चुनावमा पार्टीभित्रको गुटबन्दीका कारण पराजित भएका थिए ।

०३३ देखि ०४८ सम्म कांग्रेस दैलेखको सभापति भएर काम गरेका उनी भौतिक योजना तथा निर्माण एवं यातायात मन्त्रीसमेत भएका थिए । उनकै पालामा यहाँ मोटर बाटो र बिजुली बत्ती पुगेको हो ।

यहाँ ०४८, ०५१ र ०६४ मा कांग्रेसले जितेको छ । तीनै पटक खड्काले नै चुनाव जितेका थिए । अहिले एमालेबाट उम्मेदवार बनेका रविन्द्रराज शर्माले ०४८ र ०५२ को निर्वाचन खड्कासँग हारेका थिए । त्यसपछि संसदीय चुनावमा भाग नलिएका शर्माले ०७४ मा प्रतिनिधिसभा चुनाव जितेका थिए । अहिले पनि उनै उम्मेदवार छन् ।

यस्तै ०५६ मा नेमकिपा र ०७० मा अहिले नेकपाबाट उम्मेदवार बनेका थापाले जितेका थिए । दुई पुराना नेता थापा र शर्मासँग कांग्रेसकी महिला नेतृ थापाको चुनावी प्रतिस्पर्धा रोचक बन्ने नेताहरूको विश्लेषण छ । 

यो क्षेत्रमा सदरमुकाम समेत रहेको नारायण नगरपालिका, महावु, भगवतीमाई, डुङ्गेश्वर र गुराँस गाउँपालिका पर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप