गण्डकीका १८ क्षेत्रमा २४७ उम्मेदवार, ‘हेभीवेट’ देखि चर्चित उम्मेदवारसम्म
सारांश
- गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भयो, जसमा विभिन्न दलका उम्मेदवारहरू सहभागी थिए।
- गोरखा २ र तनहुँ १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ, जहाँ पुराना नेता र स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुनेछ।
- नवलपुर १ मा कांग्रेसका २ उम्मेदवार र कास्की २ मा पार्टीको निर्णयप्रति असन्तुष्ट नेताले बागी उम्मेदवारी दिएका छन्।
पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता सकिएको छ । मंगलबार भएको मनोनयन दर्तामा पुराना दलका शीर्ष नेता, चर्चित अनुहारदेखि राष्ट्रिय चर्चामा रहेका स्वतन्त्र उम्मेदवारसम्म सहभागी भए । ११ वटै जिल्लाबाट २ सय ४७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यसपटकको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हाराहारीको चुनौती दिने पक्का छ । साना दल र स्वतन्त्र उम्मेदवार पनि उत्साहका साथ चुनावमा होमिएका छन् ।
चर्चामा गोरखा २ र तनहुँ १
गोरखा २ यसपालि पनि चर्चाको शिखरमा छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मैदानमा उत्रिँदा एमालेले ‘चक्रे मिलन’ भनेर चिनिने मिलन गुरुङलाई उम्मेदवार बनाएको छ । कांग्रेसका प्रकाशचन्द्र दवाडी, रास्वपाका कवीन्द्र बुर्लाकोटी र नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपाने यही क्षेत्रबाट उम्मेदवार बन्दा रोचक प्रतिस्पर्धा हुने निश्चित छ ।
गोरखा २ जस्तै यसपालि तनहुँ क्षेत्र नम्बर १ मा पनि सबैको आँखा छ । २०८० को उपनिर्वाचनमा विजयी भएका रास्वपा उपसभापति स्वर्णिम वाग्ले र कांग्रेसका गोविन्द भट्टराई पुनः आमनेसामने भएका छन् । एमालेले राष्ट्रिय सभा सदस्यबाट राजीनामा गराएर भगवती न्यौपानेलाई टिकट दिएपछि यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित छ । यता, तनहुँ २ मा पनि २०७४ का विजेता एमालेका केदार सिग्देल र २०७९ का विजेता काँग्रेसका शंकर भण्डारी बिच कडा भिडन्त हुँदैछ ।
यता, म्याग्दीमा राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक तथा पूर्वमन्त्री महावीर पुनले स्वतन्त्र उम्मेदवारी दिएर सबैको ध्यान खिचेका छन् । लमजुङमा एमालेका ‘हेभीवेट’ उम्मेदवार पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका गमप्रसाद गुरुङबिच हुने प्रतिस्पर्धालाई रोचक मानिएको छ ।
एउटै पार्टीको टिकट लिएर दुईजना आएपछि...
नवलपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका २ उम्मेदवार उठेका छन् । एउटै क्षेत्रमा गजेन्द्रबहादुर आले र बालकृष्ण घिमिरेले सभापति गगन थापाको हस्ताक्षर भएको आधिकारिक टिकट लिएर मनोनयन दर्ता गराएका हुन् । सुरुमा आलेलाई टिकट दिइएकोमा पनि घिमिरेलाई पनि टिकट थमाएपछि तनाव सुरु भएको छ । यद्यपि, बुधबार काँग्रेसले दुई उम्मेदवार भएको क्षेत्रमा समस्याको समाधान गर्ने जनाएको छ ।
यता, कास्की २ मा कांग्रेसका नेता निर्दोष विक्रम पौडेलले पार्टी नेतृत्वले व्यापारीलाई टिकट दिएको भन्दै बागी उम्मेदवारी दिएका छन् । नेविसंघको राजनीति गरिरहेका उनी विशेष महाधिवेशनमा पारित नीति अनुसार पार्टी नचलेको आरोप लगाउँछन् । मनाङमा रास्वपाका उम्मेदवार अनिल गुरुङ अन्तिम समयसम्म सम्पर्कविहीन भएपछि रास्वपाले उम्मेदवारी नै दिन सकेन ।
कुन जिल्लामा कति उम्मेदवार ?
कास्कीका ३ क्षेत्रमा ४९ जना उम्मेदवार छन् । नवलपुरको २ क्षेत्रबाट ३७ जना उठ्दा तनहुँका दुवै क्षेत्रबाट २८ जना चुनावी मैदानमा छन् । बागलुङमा पनि २ क्षेत्रका २३ उम्मेदवारले मनोनयन दर्ता गराए भने स्याङ्जाबाट २८ जना उम्मेदवार छन् । गोरखाका दुवै क्षेत्रमा २७ जना चुनावी दौडमा छन् । पर्वतमा १७, म्याग्दीमा १३, लमजुङमा १२, मुस्ताङमा ८ र मनाङमा ५ जनाको मनोनयन परेको निर्वाचन आयोगले जनाएको छ । प्रदेशभरिमै सबैभन्दा धेरै उम्मेदवार नवलपुर १ मा १९ जना छन् भने सबैभन्दा कम मनाङमा ५ जना छन् । नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, नेपाली कम्युनिस्ट पार्टी राप्रपा मुख्य प्रतिस्पर्धी भएर खडा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण