कैलाली–५ मा उम्मेदवार फेरिए, एजेन्डा उही पुरानै
गेटा कलेज, विमानस्थल र सेती अस्पतालमै सीमित चुनावी बहस
सारांश
- कैलाली-५ मा फागुन २१ गते हुने उपनिर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार चुनावी तयारीमा जुटेका छन्।
- उम्मेदवारहरूले पुरानै एजेन्डा दोहोर्याएका छन्, जसमा गेटा मेडिकल कलेज, सेती अस्पतालको स्तरोन्नति र धनगढी विमानस्थलको कुरा छन्।
- चुनावमा युवा पलायन, बेरोजगारी, सुशासन र भ्रष्टाचार नियन्त्रणका मुद्दा उठे पनि ठोस योजना प्रस्तुत हुन सकेको छैन।
धनगढी । सुदूरपश्चिमको चर्चित निर्वाचन क्षेत्र कैलाली–५ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी तयारीमा जुटेका छन् । प्रदेशको अस्थायी राजधानी धनगढी समेटिएको यो क्षेत्र प्रदेशका ८८ स्थानीय तहमध्ये एक मात्र उपमहानगरपालिका समेत भएकाले हरेक चुनावमा विशेष चासोको केन्द्र बन्छ ।
२०७९ को निर्वाचनमा दलहरूलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार गोपाल हमालको जितपछि कैलाली–५ अझ बढी चर्चामा आएको थियो । यसपटक मंगलबार ठुला, साना र स्वतन्त्र गरी १६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ताका दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसर बाजागाजा, नाराबाजी र कार्यकर्ताको भीडले भरिएको थियो । बाहिरी दृश्यले केही नयाँ राजनीतिक संकेत दिएको जस्तो देखिए पनि उम्मेदवारहरूले सार्वजनिक गरेका चुनावी एजेन्डा भने पुरानै दोहोरिएका छन् ।

मुलुकभर जेनजी पुस्ताको असन्तोष, आन्दोलन र वैकल्पिक राजनीतिक सोचको चर्चा भइरहँदा कैलाली–५ का उम्मेदवारहरूसँग मतदातालाई आकर्षित गर्ने ठोस र नवीन योजना भने देखिएन । बरु, दशकौँदेखि हरेक चुनावमा दोहोरिँदै आएका तर कार्यान्वयन हुन नसकेका उही एजेन्डालाई नै जितको आधार बनाइएको छ ।
कैलाली–५ को चुनावी बहसमा सधैँझैँ तीन मुख्य विषय केन्द्रमा छन् । गेटा मेडिकल कलेज सञ्चालन, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति र धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना। २०७४ र २०७९ को चुनावमा सुनाइएका यी एजेन्डा यसपटक पनि जस्ताको तस्तै दोहोरिएका छन्। उम्मेदवार फेरिए, तर प्रतिबद्धता फेरिएन ।

नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका पूर्वमन्त्री प्रेम आलेले पनि यिनै विषयलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। डोटीबाट पटक–पटक निर्वाचित भई मन्त्रीसमेत भइसकेका आलेले मन्त्री हुँदा थालेका काम अधुरै रहेकाले अब पूरा गर्ने दाबी गरे ।
‘मन्त्री हुँदा धनगढी विमानस्थलको १८ सय मिटर रनवे विस्तारका लागि बजेट विनियोजन गरिएको थियो। तर म हटेपछि काम रोकियो। अब जितेपछि त्यो पूरा गर्छु,’ आलेले भने।
गेटा मेडिकल कलेजमा हाल ५० बेडको अस्पताल मात्र सञ्चालन भएकोप्रति असन्तुष्टि जनाउँदै उनले त्यसलाई ५ सय बेडको बनाउने प्रतिबद्धता व्यक्त गरे। फाप्ला क्रिकेट मैदान र सेती प्रादेशिक अस्पतालको स्तरोन्नति पनि उनको प्राथमिकतामा रहेको बताए। यी सबै विषय विगतदेखि नै प्रमुख दलका चुनावी एजेन्डामा पर्दै आएका छन्।
आफूलाई ‘टुरिस्ट उम्मेदवार’ भनिएको आरोप अस्वीकार गर्दै आलेले धनगढीमा घर र लगानी रहेको दाबी गरे पनि उनका एजेन्डामा मौलिकता भने देखिएन ।
नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगानाले ठुला पूर्वाधार योजनाभन्दा बढी सुशासन र भ्रष्टाचार नियन्त्रणलाई मुख्य मुद्दा बनाएका छन्। वर्तमान राजनीतिक वितृष्णालाई ध्यानमा राख्दै जेनजीको भावना अनुसार अघि बढ्ने उनको भनाइ छ।
‘अहिले देशको मूल समस्या भ्रष्टाचार हो। सरकारी कार्यालयमा नागरिकले सास्ती भोग्नुपरेको छ। मेरो उम्मेदवारी त्यसको अन्त्यका लागि हो,’ उनले भने।
कृषि, मलखाद अभाव, स्वास्थ्य र शिक्षाका विषय उठाए पनि समाधानका ठोस कार्ययोजना भने उनले प्रस्तुत गर्न सकेनन्। अन्य दलभित्रको विवाद र सत्ता गठबन्धनप्रतिको असन्तुष्टिले एमालेलाई फाइदा पुग्ने उनको विश्लेषण थियो।
सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह मनुले युवा पलायन र बेरोजगारीलाई मुख्य मुद्दा बनाउने प्रयास गरे।
‘युवाहरू ठुलो संख्यामा विदेश गइरहेका छन्। उनीहरूलाई स्वदेशमै रोक्न सीप र रोजगारी सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो,’ उनले भने ।
धनगढीलाई सुदूरपश्चिमको मुटु मान्दै गरिबीको रेखामुनि रहेका नागरिकका लागि गाँस, बास र कपासको ग्यारेन्टी गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
अन्य उम्मेदवारहरूले पनि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिने बताएका छन्। तर सुदूरपश्चिममा वर्षौँदेखि चुनावी भाषणमा दोहोरिँदै आएको पश्चिम सेती परियोजना पनि यसपटक फेरि उठाइएको छ। प्रेम आलेसहित अधिकांश उम्मेदवारले जितेपछि परियोजना पूरा गर्ने दाबी गरेका छन् ।
जेनजी पुस्ताले खोजेको सुशासन, पारदर्शिता, डिजिटल रूपान्तरण र उद्यमशीलताको विकासजस्ता विषय उम्मेदवारका प्राथमिकतामा खासै परेका छैनन् । बरु, एक–अर्कालाई आरोप लगाउने र महत्वाकांक्षी तर अव्यवहारिक योजना सुनाउने पुरानै शैली हाबी भएको धनगढीका ओमप्रकाश रानाले बताए ।
‘सेती अस्पताल, गेटा मेडिकल कलेज, विमानस्थल स्तरोन्नति, सडक र फाप्ला क्रिकेट मैदान— यी कुरा हामीले पहिल्यैदेखि सुन्दै आएका हौँ। तर उल्लेखनीय प्रगति छैन। अहिलेको चुनावमा पनि उही कुरा सुन्दा अचम्म लाग्छ,’ उनले भने।
गरिबी हटाउने कुरा गरिए पनि त्यसका लागि स्पष्ट योजना नदेखिएको उनको टिप्पणी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण