बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी मलमा राखियो ट्रम्पले एपस्टाइनलाई जन्मदिनमा पठाएको सन्देशको १० फिट अग्लो प्रतिकृति

बुधबार, ०७ माघ २०८२, ०७ : २४
बुधबार, ०७ माघ २०८२

सारांश

  • जेफ्री एपस्टाइनलाई जन्मदिनको शुभकामना दिँदै डोनाल्ड ट्रम्पले पठाएका पत्रहरूको विशाल प्रतिकृति वाशिंगटन डीसीको नेशनल मलमा राखियो।
  • प्रतिकृतिको आधा भागमा ट्रम्पले एपस्टाइनलाई पठाएको नोट राखिएको छ, जसमा एक नाङ्गो महिलाको रूपरेखा र हस्ताक्षर छ।
  • यौन दूराचारमा दोषी एपस्टाइनको जेलमा मृत्यु भएको थियो र ट्रम्पले एपस्टाइनसँगको सम्बन्ध अस्वीकार गरेका छन्।

वासिङटन डीसी । यौन दूराचारमा दोषी ठहर भएका जेफ्री एपस्टाइनलाई उनको जन्मदिनमा वर्षौं अघि डोनाल्ड ट्रम्पले पठाएका पत्रको सङ्ग्रह सहितको विशाल प्रतिकृति वाशिंगटन डीसीको नेशनल मलमा राखिएको छ । यो काम आफूलाई ‘द सेक्रेट ह्यान्डशेक’ भनेर चिनाउने समूहले गरेको हो ।

१० फिट अग्लो यो प्रतिकृतिको आधा भागमा ट्रम्पले एपस्टाइनलाई पठाएको नोट राखिएको छ । यो २००० को दशकको सुरुमा ट्रम्पले एपस्टाइनलाई उपहार दिएको पत्रहरूको सङ्ग्रहको अंश हो । नोटमा एक नाङ्गो महिलाको रूपरेखा र डोनाल्ड ट्रम्पको हस्ताक्षर छ । यसको पुछारमा ‘जन्मदिनको शुभकामना– र हरेक दिन अर्काे अद्भुत रहस्य बनोस्’ भनेर लेखिएको छ ।

अर्कोपट्टी ‘भयानक केटालाई जन्मदिनको शुभकामना !’ लेखिएको छ । एपस्टाइनको जन्मदिन जनवरी २० मा पर्छ । आफूले त्यस्तो कुनै पत्रमा हस्ताक्षर गरेको र एपस्टाइनसँग आफ्नो नजिकको सम्बन्ध रहेको कुरालाई ट्रम्पले अस्वीकार गरेको भन्दै गत वर्षको जुलाईमा वाल स्ट्रीट जर्नलले समाचार छापेको थियो ।

यस समाचारका लागि ट्रम्पले वाल स्ट्रीट जर्नलमाथि मुद्दा दायर गरेका छन् । अरु कसैले सो पत्र लेखेर त्यसमा हस्ताक्षर गरेको हुन सक्ने ट्रम्पको भनाइ छ ।

यौन बेचबिखनको आरोपको मुद्दा खेपिरहँदा २०१९ मा एपस्टाइनको जेलमा मृत्यु भएको थियो । यस मामिलामा ट्रम्पमाथि कानुनी रूपमा गलत काम गरेको आरोप लागेको छैन ।

सेप्टेम्बरमा द हाउस ओभरसाइट कमिटीद्वारा एपस्टाइनको ५० वर्षभन्दा अघिको जीवन, जन्मसम्बद्ध कागजातहरू र कब स्काउट डकुमेन्टदेखि उनका निजी निवासका कलाकृति, जन्मदिनका शुभकामना नोट, फोटो र निजी पलहरू आदि सार्वजनिक गरिएको थियो । एपस्टाइनका थप फाइलहरू जारी गर्न प्रशासनमाथि दबाब आइरहेका बेला नेशनल मलमा यो कटआउट राखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप