यसकारण ग्रीनल्याण्डमा आँखा लगाउँदैछ अमेरिका
सारांश
- ग्रीनल्याण्ड जलवायु परिवर्तन र नयाँ समुद्री मार्गका कारण चर्चामा छ, जसमा अमेरिकाको चासो बढेको छ।
- आर्कटिक क्षेत्रमा पग्लिँदै गएको बरफले नयाँ जलमार्गहरू खोल्दैछ, जसले व्यापारिक मार्गहरूमा परिवर्तन ल्याउँदैछ।
- ग्रीनल्याण्डमा दुर्लभ खनिज पदार्थको भण्डार रहेको र यसमा विभिन्न राष्ट्रहरूको चासो बढेको छ।
रुस र अमेरिकाको बीचमा अवस्थित ग्रीनल्याण्ड अहिले चौतर्फी चर्चाको विषय बनेको छ । वैश्विक तापमान वृद्धिका कारण आर्कटिक क्षेत्र खुला हुन थालेपछि उक्त क्षेत्र अहिले महत्त्वपूर्ण बन्न पुगेको छ ।
नेटोमा सम्मिलित साझेदार राष्ट्र डेनमार्कको स्वामित्वमा रहेको ग्रीनल्याण्ड या त किनेर नत्र बल प्रयोग गरेर भए पनि हात पारेरै छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलेआम घोषणाले यसको महत्त्व झन् बढाएको छ ।
जलवायु संकटले ग्रीनल्याण्डको बरफको सतह घटाइरहेको छ । आर्कटिक क्षेत्रको समुद्री बरफ पनि पगालिरहेको छ । यसले गर्दा नयाँ सामुद्रिक मार्गहरू खुल्दैछन् । मूल्यवान् संसाधनहरू फेला परिरहेका छन् ।
यसैबीच ट्रम्पका धम्कीहरू बढ्दै गएका छन् । सुरुमा ठट्टा जस्ता ठानिएका उनका अभिव्यक्तिपश्चात् अहिले बरफ पग्लिँदै गएको ग्रीनल्याण्ड विस्तारै महत्त्वपूर्ण भूराजनीतिक तनाव विन्दु बन्दैछ । ग्रीनल्याण्ड कसरी फेरिँदैछ भन्ने बुझ्नलाई हामी तलको नक्सा हेर्न सक्छौँ ।
- पग्लिँदै गएको सामुद्रिक बरफ
पाँच वर्ष अघिसम्म आर्कटिक क्षेत्रमा समुद्री बरफको क्षेत्रफल करिब ४६ लाख वर्ग किलोमिटर थियो । यो आकार लगभग युरोपेली संघसँग बराबर हो ।
तर ‘नेसनल स्नो एन्ड आइस डाटा सेन्टर’ को तथ्याङ्क अनुसार सन् १९८१ देखि २०१० बीच कायम रहेको औसत ६४ लाख वर्ग किलोमिटर क्षेत्रको तुलनामा यो २७ प्रतिशत कम भएको हो । यसबीच हराएको सामुद्रिक बरफको क्षेत्रफल लगभग लिबियासँग बराबर छ ।
आर्कटिक क्षेत्रमा घट्दै गएको बरफको अर्थ हो, अब वर्षाको समयमा रुसी तथा क्यानेडाली समुद्री किनारामा बरफ रहने छैन । उत्तरी ध्रुवमा बरफ पग्लिएर समुद्रको क्षेत्र बढ्न जाँदा कुनै समय पहुँचयोग्य नमानिएको आर्कटिक क्षेत्रमा अब पहुँच सम्भव हुँदैछ ।

- आर्कटिक क्षेत्रका जलमार्गहरू सहज बन्दै
त्यहाँ नयाँ जलमार्गहरू खुल्दैछन् । ध्रुवीय समुद्रहरू लामो अवधिका लागि जलमार्गका लागि खुला भएसँगै व्यावसायिक करिडोरका रूपमा विकास हुँदै गएका छन् ।
यसरी खुलेका नयाँ बाटाहरूमा सबैभन्दा विकसित उत्तरी समुद्री मार्ग हो, जुन उत्तर–पूर्वी मार्गमा पनि खप्टिएर जान्छ । साथै युरोपदेखि एसियासम्म फैलिएको रुसको आर्कटिक किनारा हुँदै जान्छ । यो मार्ग रुसको महत्त्वाकांक्षी मार्गको रूपमा रहेको छ ।

अझ पश्चिमतर्फ त्यो जलमार्ग क्यानडाको आर्कटिक द्वीपसमूहसँग पनि जोडिन्छ । यसका साथै अब बिस्तारै उत्तरी ध्रुव पार गर्ने केन्द्रीय आर्कटिक मार्ग पनि दीर्घकालीन योजनाका रूपमा देखा पर्दैछ ।
यो जलमार्गले वैश्विक व्यापारको नक्सा नै बदल्ने निश्चित छ । आर्कटिकमा खुलेका बाटाहरूले स्वेज नहरको विकल्प प्रस्तुत गर्छन् । साथै युरोप र पूर्वी एसियाबीचको यात्राको दुरी र समय आधा घटाइदिन्छन् ।

सन् २०२५ मा पहिलो पटक ‘इस्तानबुल ब्रिज’ नामको कन्टेनर जहाज उत्तरी समुद्री मार्ग हुँदै चीनबाट युरोपसम्म यात्रा गर्ने पहिलो ठूलो जहाज बन्यो । यो मार्गलाई ‘पोलार सिल्क रोड’ अर्थात् ‘ध्रुवीय रेशम मार्ग’ भनेर पनि चिन्ने गरिन्छ ।

इस्तानबुल ब्रिज नामको जहाजले चीनको निङ्बो सहरदेखि बेलायतको फेलिक्स्टोसम्मको यात्रा जम्मा २० दिनमा पूरा गरेको थियो ।
समुद्री क्षेत्रको अनुगमन गर्ने संस्था ‘मरिन एक्सचेन्ज अफ अलास्का’ को तथ्याङ्क अनुसार सन् २०२४ मा रुस र अमेरिका जोड्ने ‘बेरिङ जलसन्धि’ बाट ६ सय ६५ वटा ट्रान्जिटहरू भएका थिए । यो संख्या सन् २०१० को तुलनामा १ सय ७५ प्रतिशतले बढेको हो ।
नयाँ खुलेका यस्ता मार्गहरू जोखिमरहित भने छैनन्, जसका कारण तिनीहरूको व्यावसायिक उपयोगमा केही संशयहरू पक्कै देखिन्छन् ।
नर्वेस्थित ‘फ्रिड्जोफ नानसेन इन्स्टिच्युट’ मा अनुसन्धानरत सेराफिमा एन्ड्रीभाका अनुसार रुसले युरोपबाट एसियासम्मको उत्तर–पूर्वी मार्गलाई वर्षभरि नै उपयोग गर्ने लक्ष्य लिएको छ । साथै बरफ फोडेर बाटो सफा गर्ने आणविक आइसब्रेकरहरूमा व्यापक लगानी गरिरहेको छ ।
अझै पनि जहाजहरू बेला–बेला बरफमा अड्किरहेका छन् । एन्ड्रीभाका अनुसार अहिले पनि ‘गर्मी’ मौसममा पनि कहिलेकाहीँ समस्याहरू देखा परिरहेकै छन् ।
- आर्कटिक वरपर बढ्दो तनाव
धेरैजसो आर्कटिक राष्ट्रहरूले त्यस क्षेत्रमा आफ्नो दाबी गरिरहेका छन् । त्यस्तो दाबी गर्नेहरूमा क्यानडा, डेनमार्क, नर्वे, रुस र अमेरिका पर्छन् ।
संयुक्त राष्ट्रसंघको ‘कमिसन अन लिमिट्स अफ द कन्टिनेन्टल सेल्फ’ (सीएलसीएस) ले समुद्री किनाराका राज्यहरूका दाबीबारे सुझाव तथा सिफारिस गर्ने गरेको छ ।

अमेरिकाले यसअघि नै आर्कटिक तथा खासगरी ग्रीनल्याण्डमा आफ्नो सैन्य उपस्थिति जनाइसकेको छ ।
उत्तर–पश्चिम ग्रीनल्याण्डको दुर्गम इलाकामा रहेको ‘पिटुफिक बेस’ मा अमेरिका तथा नेटोका लागि क्षेप्यास्त्र सूचना प्रणाली, क्षेप्यास्त्र रक्षा प्रणाली तथा अन्तरिक्ष गतिविधिका केन्द्रहरू रहेका छन् ।

रुसले पनि पछिल्लो दशकमा मात्रै धेरै त्यस्ता सैन्य अड्डाहरू स्थापना गरिसकेको छ । साथै पुरानो सोभियतकालीन पूर्वाधार तथा हवाई अड्डाहरू पुनर्स्थापना गरिरहेको छ ।
सन् २०१८ मा चीनले यस क्षेत्रमा आफ्नो प्रभाव बढाउने प्रयास स्वरूप आफूलाई ‘नियर आर्कटिक स्टेट’ अर्थात् आर्कटिक छेवैको राज्य घोषणा गर्यो ।
अनुसन्धानकर्ता एन्ड्रीभा भन्छिन्, ‘गत १० देखि १५ वर्षमा आर्कटिकमा धेरैको सैन्य चासो बढ्दै गएको छ । साथै सन् २०२२ मा युक्रेनमा रुसको आक्रमणपछि यस क्षेत्रको परिदृश्यमा उल्लेखनीय परिवर्तन भएको छ ।’
उनी थप्छिन्, ‘हालै फिनल्यान्ड र स्वीडेन नेटोमा प्रवेश गरेसँगै यस क्षेत्रको सुरक्षा अवस्था धेरै फेरिएको छ । जसले गर्दा ‘नर्डिक’ क्षेत्रमा सामूहिक रूपमा ध्यान केन्द्रित भएको छ । कोला प्रायद्वीप तथा ब्यारेन्ट्स किल्ला लगायतमा नियन्त्रण गर्ने रुसको इच्छा पनि थप प्रबल हुँदै गएको छ ।’

सन् २०२२ यता रुसको ध्यान मूलतः युक्रेनमा केन्द्रित भएको अवस्थामा पनि आर्कटिक क्षेत्रमा उसको उपस्थिति उल्लेख्य रूपमा कायमै छ ।
नेटो सदस्य राष्ट्रहरूले आर्कटिक क्षेत्रमा आफ्नो नौसैनिक उपस्थिति सुदृढ बनाउँदै लगेका छन् । ‘आइसब्रेकर’ को निर्माण थप बढाउने घोषणाहरू भएका छन् ।
नर्डिक क्षेत्रमा भएको नेटोको विस्तारसँगै डेनमार्कको वायुसेना फिनल्यान्ड, नर्वे तथा स्वीडेनसँग थप एकाकार हुँदै गएको छ । सन् २०२४ मा चीनले आर्कटिक क्षेत्रमा ३ वटा बरफ फुटाउने जहाज तैनाथ गरेको थियो ।
- ग्रीनल्याण्डको ‘क्रिटिकल मिनिरल’ मा चासो
‘क्रिटिकल मिनिरल’ को विश्वव्यापी तानातानमा पनि ग्रीनल्याण्डको ठूलो महत्त्व छ । ‘युएस जियोलोजिकल सर्भे’ का अनुमान अनुसार ग्रीनल्याण्डमा १५ लाख टन ‘रेयर अर्थ मेटेरियल’ को भण्डार छ । यो मात्रा विश्वकै आठौं हो ।
क्वानेफजेल्ड तथा तानब्रिज क्षेत्रमा दुई ठूला भण्डारहरू रहेको थाहा भएको छ । यस्ता भण्डारहरूमा शक्ति राष्ट्रहरूको चासो बढ्दै गएको छ ।
चीनको ‘शेङ्घे रिसोर्सेस’ कम्पनी क्वानेफजेल्डमा सञ्चालित उत्खनन् तथा प्रशोधन परियोजनाको दोस्रो ठूलो सेयरधनी हो, जसको हिस्सा ६ दशमलव ५ प्रतिशत छ ।
भौगोलिक विकटताका कारण अहिलेसम्म कुनै पनि ‘रेयर अर्थ’ खानी सञ्चालनमा आएका छैनन् । आज पनि ग्रीनल्याण्डको केवल २० प्रतिशत हिस्सा मात्रै बरफरहित छ । साथै यस टापुको धेरैजसो भाग वर्षको ठूलो कालखण्ड पहुँचयोग्य रहँदैन ।
तर ढुवानी मार्गहरू विस्तारै सहज हुँदै जाँदा तथा विश्वव्यापी तापमान वृद्धिका कारण पनि ग्रीनल्याण्डको अवस्था तीव्र रूपमा फेरिँदै जान थालेको छ । सतहमा रहेको बरफ घट्दै जाँदा नयाँ–नयाँ खनिज स्रोतहरू फेला पर्दै गएका छन् ।
(प्रस्तुत रिपोर्ट ‘द गार्डियन’ का लागि एश्ले कर्क, लुसी स्वान, टुरल अहमदजदे, हामेन सिमन्स र ओलिभर होल्म्सले तयार पारेका हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण