बाबुरामको बहिर्गमनसँगै रोचक बन्दै गोरखा–२ को निर्वाचन
काठमाडौँ । गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि राजनीति नयाँ मोडमा पुगेको छ । प्रलोपाका संरक्षक समेत रहेका भट्टराईले गोरखा क्षेत्र नम्बर २ का जनताको चाहना रहेको भन्दै माघ ६ गते उम्मेदवारी दिएका थिए ।
तर शुक्रबार उनले उम्मेदवारी फिर्ता लिने घोषणा गरेपछि गोरखा–२ को चुनावी माहौल रोचक मोडमा पुगेको हो । भट्टराईले निर्वाचन क्षेत्रका विभिन्न राजनीतिक दल, उम्मेदवारहरूको आग्रहमा उम्मेदवारी फिर्ता लिएको घोषणा गरे ।
‘मैले एउटा संसदीय निर्वाचनमा सहभागी भएर सांसद मात्रै रहेर रहनुभन्दा सबै साथीहरूको आग्रह बमोजिम, चाहना बमोजिम, मैले बाहिर रहेर नै दलहरूलाई सघाउने र भोलि आवश्यक पर्दा एउटा देशकै विभिन्न रूपको अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर मैले आज मैले जुन मनोनयन पत्र दर्ता गरेको थिएँ, त्यसलाई फिर्ता लिने मैले निर्णय गरेको छु’, उनले भनेका छन् ।
उम्मेदवारी फिर्ता लिनुअघि भट्टराईले पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग सहयोग गर्न प्रस्ताव गरेको सचिवालयले जिकिर गरेको छ ।
‘बिहान संयोजक र बाबुरामबिच छलफल भएको हो । उम्मेदवारी फिर्ता लिने सवालमा लेखनाथजीसँग प्रचण्डले फोन सम्पर्क गर्नुभएको थियो । पार्टीको निर्णय मलाई मान्य हुन्छ भन्नुभयो,’ प्रचण्डको सचिवालयले भन्यो, ‘तर गोरखा निर्वाचन क्षेत्र २ का नेता तथा कार्यकर्ताहरूले मान्नुभएन । लेखनाथजीले पहिलोपटक अवसर पाउनु भएको छ । कुनै पनि हालतमा उम्मेदवारी फिर्ता मान्य हुँदैन भनेर उताबाट खबर आएपछि सहमतिमै उहाँले उम्मेदवारी फिर्ता लिनुभएको हो ।’
यता भट्टराईको सचिवालयले पनि प्रचण्डसँग छलफल भएको स्वीकार गर्दै सबैको आग्रहमा उनले उम्मेदवारी फिर्ता लिएको बताएको छ । ‘उम्मेदवारी फिर्ता लिएर अभिभावकको भूमिका निर्वाह गर्न सबै दल र उम्मेदवारको आग्रहमा उम्मेदवारी फिर्ता लिने निर्णयमा पुग्नुभएको हो’, भट्टराईको सचिवालयले भन्यो ।
२०७९ सालको निर्वाचनमा भट्टराईले आफ्नो निर्वाचन क्षेत्रबाट प्रचण्डलाई विजयी गराएका थिए । भट्टराईले उम्मेदवारी फिर्ता लिएको घोषणाले सहकार्यको नयाँ ढोका खुलेको प्रचण्ड निकटस्थको जिकिर छ ।
‘उहाँले उम्मेदवारी फिर्ता लिएपछि नयाँ सहकार्यको ढोका खुलेको छ । देश अहिले जटिल अवस्थामा पुगेको छ । बाबुराम जनयुद्धका प्रमुख नेता समेत भएका हुनाले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीलाई बचाउन बलियो सहकार्य आवश्यक छ । भोलिका दिनमा सहकार्य गर्दै जाने सहमति अनुसार नै उहाँले उम्मेदवारी फिर्ता लिनुभएको हो’, प्रचण्ड निकटस्थको जिकिर छ ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पनि भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा वाग्लेले भट्टराईलाई रास्वपाको अभिभावक बनेर सहयोग गर्न प्रस्ताव राखेका हुन् ।

वाग्लेले भट्टराईले नै पुराना दलहरूको उपलब्धि संरक्षण गर्दै २१औँ शताब्दीको आर्थिक समुन्नतिका लागि नयाँ शक्तिको परिकल्पना गरेको स्मरण गराएका थिए । भट्टराईले बसालेको वैकल्पिक राजनीतिको जगमै रास्वपाको उदय, विस्तार र उचाइ सम्भव भएको दाबी गर्दै अबको बाटोमा रास्वपालाई सघाउन उनको आग्रह थियो ।
पूर्वप्रधानमन्त्रीका रूपमा भट्टराईले रास्वपालाई मार्ग निर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने विश्वास वाग्लेले व्यक्त गरेका छन् । फागुन २१ पछि रास्वपाकै नेतृत्व वा सहभागितामा सङ्घीय सरकार बन्न सक्ने सङ्केत गर्दै उनले सरकारको राजनीतिक, प्रशासनिक तथा सुशासन र विकाससँग सम्बन्धित सङ्क्रमणकालीन व्यवस्थापनमा भट्टराईको अनुभव आवश्यक पर्ने बताए ।
भट्टराईको अनुभवबाट सिक्दै धेरै काम गर्न बाँकी रहेको भन्दै वाग्लेले आसन्न निर्वाचनमा उम्मेदवारी फिर्ता लिई उदारतापूर्वक रास्वपालाई सघाउन अनुरोध गरेका हुन् ।
जेनजी विद्रोहपछि साविक नेपाल समाजवादी पार्टीको सभापति त्याग गरेका भट्टराईले निर्वाचनमा नलड्ने बताउँदै आएका थिए । तर गोरखा क्षेत्र नम्बर २ का नेता कार्यकर्ताले उठ्नै पर्ने दबाब आएपछि उम्मेदवारी दिन राजी भएका थिए ।
२०६४, २०७० र २०७४ सालमा भट्टराई सोही क्षेत्रबाट निर्वाचित भएका थिए । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयमा अन्य नेताको तुलनामा भट्टराईले राम्रो अभ्यास थालनी गरेका छन् । उम्मेदवारी फिर्ता लिएसँगै नेकपा र रास्वपाले भट्टराईको सद्भाव आफूलाई हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण