चुनावी मैदानमा नेकपाका १२ महिला उम्मेदवार, कसले मार्ला बाजी ?
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट १२ जना महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिस्पर्धामा उत्रिएका १२ जनामध्ये काठमाडौँ–१ मा मेनका भण्डारी, काठमाडौँ–५ मा कल्पना शर्मा र रौतहट–३ मा पुनमदेवी यादव मात्र नयाँ अनुहार हुन् ।
उम्मेदवारी दिएका चितवन–३, काठमाडौँ–१, काठमाडौँ–५, काठमाडौँ–१०, मनाङ–१ मा रोचक प्रतिस्पर्धा हुने देखिन्छ । चितवन–३ मा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल चुनावी मैदानमा उत्रिएकी छन् । उनलाई रास्वपाकी प्रखर वक्ता सोविता गौतमले टक्कर दिँदैछिन् ।
पहिलो पटक चुनावी मैदानमा उत्रिएकी मेनका भण्डारीसँग प्रतिनिधिसभा सदस्यमा पहिलोपटक मैदानमा उत्रिएकी रास्वपाकी रञ्जु दर्शनाले चुनौती दिएकी छन् । मनाङ–१ मा दुई पटकसम्म समानुपातिक सांसद बनेकी साविक माओवादी केन्द्रकी स्थायी समिति सदस्य तथा पूर्वमहासचिव देव गुरुङकी श्रीमती यशोदा सुवेदी कांग्रेस-एमालेका साझा उम्मेदवार टेकबहादुर गुरुङसँग भिड्दैछिन् ।
झापा–२
धर्मशीला चापागाईँ साविक नेकपा माओवादी केन्द्रकी प्रभावशाली महिला हुन् । उनी २०६४ सालको संविधानसभा सदस्यमा झापा–४ बाट निर्वाचित भएकी थिइन् । २०७४ सलमा पनि प्रत्यक्षतर्फ चापागाईंले प्रत्यक्ष उम्मेदवारी दिन चाहेकी थिइन् । तर एमालेसँग तालमेल हुँदा उनी उम्मेदवार बन्नबाट वञ्चित भइन् । यसपटक कांग्रेसकी सरिता प्रसाईं, एमालेका देवराज घिमिरे, रास्वपाकी इन्दिरा राना मगरसँग उनी चुनावी प्रतिस्पर्धामा उत्रिएकी छन् । घिमिरे पूर्वसभामुख र राना पूर्वउपसभामुख हुन् ।
यी बाहेक श्रम संस्कृति पार्टीबाट केशवकुमार भण्डारी र उज्यालो नेपाल पार्टीबाट चुडा कर्ण मेघा लगायत उम्मेदवार पनि चुनावी मैदानमा उत्रिएका छन् । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका उम्मेदवार घिमिरे विजयी भएका थिए । घिमिरेले २८ हजार ७१६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद (स्वागत) नेपालले २६ हजार ४५५ मत प्राप्त गरेका थिए । माओवादीका हरिकुमार राना मगरले १३ हजार ९३० मत प्राप्त गरेका थिए । रास्वपाका रुद्रप्रसाद गिरिले ८ हजार ७८१ मत प्राप्त गरेका छन् । नेपाल अहिले राप्रपाबाट उम्मेदवार बनेका छन् । रास्वपाकै वरिष्ठ नेता बालेन शाह झापा–५ बाट उम्मेदवारी दिएकाले त्यसको प्रभाव झापाको सबै क्षेत्रमा पर्न सक्ने चर्चा छ ।
संखुवासभा
पार्टी एकताको बेला नेकपा एकीकृत समाजवादीबाट जोडिएकी सरिता थापा खड्काले यसपटक एक मात्र निर्वाचन क्षेत्र रहेको संखुवासभाबाट उम्मेदवारी दिएकी छन् । साविक एकीकृत समाजवादीकी कोशी प्रदेश अध्यक्ष रहेकी उनी २०७४ मा समानुपातिक प्रदेशसभा सदस्य थिइन् । २०७९ को चुनावमा सङ्खुवासभा १ (१) मा पराजित भएकी थिइन् । यस क्षेत्रमा अघिल्लो पटक कांग्रेसका दीपक खड्का विजयी भएका थिए । जेनजी विद्रोहका बेला ओली सरकारमा ऊर्जामन्त्री रहेका उनलाई योपटक कांग्रेसले टिकट दिएन ।
विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन थापाले दीपककुमार श्रेष्ठलाई टिकट दिएका छन् । एमालेबाट अर्जुनकुमार कार्की मैदानमा उत्रिएका छन् । रास्वपाले मिङ्मा शेर्पालाई उठाएको छ ।
अघिल्लो निर्वाचनमा कांग्रेसका उम्मेदवार खड्काले ३२ हजार १६१ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेन्द्र गौतमले २६ हजार ७२१ मत पाएका थिए । रास्वपाका भक्तनारायण श्रेष्ठले एक हजार १३६ मत प्राप्त गरेका थिए ।
सुनसरी–२
२०७० सालमा माओवादीबाट संविधानसभा सदस्य रहेकी रामकुमारी चौधरी योपटक प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएकी छन् । चुनावी मैदानमा एमालेका सुजन लामा, कांग्रेसका राजीव कोइराला र रास्वपाबाट लालविक्रम थापा उत्रिएका छन् ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यले ३२ हजार २४ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सीताराम महतोले २६ हजार ६८ मत प्राप्त गरेका थिए । महतोलाई त्यतिबेला माओवादीले समर्थन गरेको थियो । रास्वपाका लालविक्रम थापाले १९ हजार ३९१ मत प्राप्त गरेका थिए ।
सप्तरी–४
२०७४ सालमा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएकी रुबीकुमारी कर्ण योपटक नेकपाबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छन् । यो क्षेत्रबाट चुनावी मैदानमा एमालेका गंगाप्रसाद चौधरी, कांग्रेसका तेजुलाल चौधरी, जसपा नेपालका बबी सिंह र रास्वपाका सीताराम साह उत्रिएका छन् ।
२०७९ को निर्वाचनमा कांग्रेसका तेजुलाल चौधरीले २३ हजार ४९१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी जसपा नेपालका उम्मेदवार वालकिशोर यादवले १७ हजार ९७७ मत प्राप्त गरेका थिए । जनमत पार्टीका कुसदेश साहले १२ हजार ९२५ मत प्राप्त गरेका थिए ।
रौतहट–३
सामाजिक गतिविधिमा सक्रिय पुनम देवी यादव रौतहट–३ मा नेकपाबाट उम्मेदवार बनेकी छन् । रौतहटमा लोकप्रिय रहेकी उनले योपटक एमालेका कुन्दनप्रसाद कुशवाह, कांग्रेसका रामकृपाल प्रसाद यादव, रास्वपाका रविन्द्र पटेल, जसपा नेपालका गोविन्द चौधरी र जनमत पार्टीका शेख प्रवेज आलमसँग प्रतिस्पर्धा गर्दैछिन् । अघिल्लो पटकका विजेता प्रभु साह आम जनता पार्टीबाट चुनावी मैदानमा छन् ।
२०७९ को निर्वाचनमा साहले ३२ हजार ४३७ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार ओमप्रकाशले २५ हजार २०० मत प्राप्त गरेका थिए । माओवादीका रविन्द्र पटेलले ८ हजार ५५८ मत प्राप्त गरेका थिए । उनी अहिले रास्वपाबाट उम्मेदवार बनेका छन् ।
काठमाडौँ–१
नेकपाबाट काठमाडौँ–१ मा उम्मेदवार बनेकी मेनका भण्डारी (कृतु) नयाँ अनुहार हुन् । एकीकृत समाजवादीको कोटाबाट उम्मेदवार बनेकी उनले रास्वपाकी चर्चित अनुहार रञ्जु दर्शना, राप्रपाका रवीन्द्र मिश्र लगायतसँग प्रतिस्पर्धा गर्नेछिन् । सोही क्षेत्रबाट लगातार चुनाव जित्दै आएका प्रकाशमान सिंहलाई यसपटक कांग्रेसले टिकट दिएन । कांग्रेसले मैदानमा नयाँ अनुहार प्रबल थापा क्षेत्रीलाई उतारेको छ । एमालेले पनि नयाँ अनुहार मोहनराज रेग्मीलाई उम्मेदवार बनाएको छ ।
२०७९ को निर्वाचनमा कांग्रेसका सिंहले ७ हजार १४३ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए । रास्वपाका पुकार बमले ४ हजार ११५ मत प्राप्त गरेका थिए । एमालेका किरण पौडेलले ३ हजार ५३२ मत प्राप्त गरेका थिए । नेपाल सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत प्राप्त गरेका थिए ।
काठमाडौँ–५
अधिवक्ता कल्पना शर्मालाई नेकपाले काठमाडौँ–५ मा उम्मेदवार बनाएको छ । पहिलो पटक चुनावी मैदानमा उत्रिएकी शर्माले कांग्रेसका महामन्त्री प्रदीप पौडेल र एमाले पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्दैछिन् ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रमा कांग्रेसका पौडेल १५ हजार २६९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका पोखरेलले १० हजार १९० मत प्राप्त गरे । रास्वपाका डा. प्रणय शमशेर राणाले ५ हजार ४७७ मत प्राप्त गरेका थिए ।
काठमाडौँ–१०
तीन पटकसम्म निर्वाचन जितेका कांग्रेसका राजेन्द्रकुमार केसीले योपटक मैदान छाडेपछि काठमाडौँ–१० मा निर्वाचन रोचक हुने देखिन्छ ।
यो क्षेत्रमा नेकपाले रुपा महर्जनलाई उम्मेदवार बनाएको छ । पहिला साविक माओवादी केन्द्रका बागमती प्रदेशका इन्चार्ज समेत रहेका हितमान शाक्यलाई उम्मेदवार बनाएको थियो । तर अन्तिम समयमा २०६४ की संविधानसभा सदस्य महर्जनलाई पार्टीले टिकट दियो । चुनावी मैदानमा उनले एमालेका विनोद श्रेष्ठ, कांग्रेसका हिमाल कार्कीसँग प्रतिस्पर्धा गर्नेछिन् । कांग्रेसका उम्मेदवार कार्कीलाई अग्रज केसीको विरासत जोगाउनुपर्ने बाध्यता छ ।

यस क्षेत्रबाट रास्वपाले जिल्ला सभापति प्रदीप विष्टलाई नै निरन्तरता दिएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसका उम्मेदवार केसी १४ हजार ४६३ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हिमेस केसीले ११ हजार ७९१ मत प्राप्त गरेका थिए । रास्वपाका विष्टले ८ हजार ७३९ मत प्राप्त गरेका थिए । राप्रपाका बलराम थापाले ६ हजार ९५९, माओवादीकी अन्जना विशंखेले ५ हजार २६५ मत प्राप्त गरेकी थिइन् ।
चितवन–३
अन्य निर्वाचन क्षेत्रको तुलनमा चितवन–३ मा सबैको चासो बढेको छ । यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाकी निवर्तमान प्रमुख रेनु दाहाल नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेकी छन् । दाहालको प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम उत्रिएकी छन् । दाहाल ९ वर्ष भरतपुर महानगरपालिका प्रमुख भएर कामले प्रमाणित गरेकी उम्मेदवार हुन् । उनी २०६५ सालमा संविधानसभा सदस्य भएकी थिइन् । २०७० सालमा काठमाडौँ–१ बाट पराजित भइन् ।
गौतम अघिल्लो निर्वाचनमा काठमाडौँ–२ बाट निर्वाचित सांसद हुन् । कानुनकी जानकार उनी प्रखर वक्ताका रुपमा चर्चित छिन् । चितवनकी बुहारी गौतम र छोरी दाहालबिच यसपटक कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यो क्षेत्रमा एमालेले शंकरराज थपलिया र कांग्रेसले टेकप्रसाद गुरुङलाई मैदानमा उतारेको छ । अघिल्लो पटक निर्वाचन जितेका राप्रपाका विक्रम पाण्डे योपटक चुनावी मैदानबाट बाहिरिएकाले प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ । राप्रपाले दीपक थापा मगरलाई उम्मेदवार बनाएको छ ।

२०७९ को निर्वाचनमा पाण्डे ३५ हजार ६० मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका डा. भोजराज अधिकारीले २५ हजार ८२४ मत प्राप्त गरेका थिए । त्यतिबेला एमालेले राप्रपा र कांग्रेसले माओवादीसँग तालमेल गरेको थियो । रास्वपा उम्मेदवार जिता बरालले १४ हजार ८४३ मत प्राप्त गरेकी थिइन् । अघिल्लो निर्वाचनमा कांग्रेसका दिनेश कोइरालाले बागी उम्मेदवारी दिएकाले अधिकारी पराजित भएका थिए । कोइरालाले १२ हजार २७५ मत प्राप्त गरेका थिए ।
रास्वपाले प्रत्यक्षतर्फ करिब १५ हजार मत प्राप्त गर्दा समानुपातिक मत २८ हजार ४०१ पाएको छ । यस तथ्यले उम्मेदवारभन्दा पार्टी लोकप्रिय रहेको देखाउँछ । समानुपातिकतर्फ राप्रपाले १६ हजार ७५५ पाएर दोस्रो स्थानमा रहेको छ । चितवन–३ मा माओवादीको राम्रो मत रहेको निर्वाचन परिणामले देखाउँछ । १६ हजार ९० मत ल्याएर माओवादी तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको एमालेको १४ हजार ५२२, पाँचौं स्थानमा कांग्रेसले १० हजार ५२४ र एकीकृत समाजवादीले एक हजार ८५ मत प्राप्त गरेको छ ।
मनाङ
साविक नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य यशोधा सुवेदी गुरुङ पहिलो पटक मनाङबाट उम्मेदवार बनेकी छन् । उनका श्रीमान देव गुरुङको गृहजिल्ला समेत रहेको मनाङमा सुवेदीलाई जित निकाल्न निकै कठिन देखिन्छ ।
प्रमुख प्रतिस्पर्धी कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङले चुनावी तालमेल गरेकाले सुवेदीलाई जित निकाल्न निकै पापड बेल्नुपर्ने हुन्छ । माघ ९ गते लामा गुरुहरूको उपस्थितिमा चिट्ठा तान्दा कांग्रेसको पक्षमा परेपछि एमालेले उम्मेदवारी फिर्ता लिएको थियो । यसअघि यी दुवै उम्मेदवारले एक/एक पटक निर्वाचन जितेका थिए ।
रास्वपाले अनिल गुरुङलाई टिकट दिएर पठाएपनि उम्मेदवारी मनोनयन दर्ता नै गराएनन् । राप्रपाका कुविरसिंह गुरुङले पनि उम्मेदवारी फिर्ता लिएका छन् । मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घलेले पनि मनाङमा उम्मेदवारी दिएका छन् ।
अघिल्लो निर्वाचनमा मनाङमा कांग्रेसका गुरुङ दुई हजार ५७५ मत ल्याएर विजयी हुँदा एमालेका उम्मेदवारले दुई हजार २४७ मत प्राप्त गरेका थिए । रास्वपाका उम्मेदवारले जम्मा पाँच मत प्राप्त गरेका थिए । माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गरेको थियो । त्यतिबेला माओवादीले समानुपातिकतर्फ जम्मा १३३ मत प्राप्त गरेको थियो ।
नवलपरासी पश्चिम–१
एमाले परित्याग गरी नेकपा प्रवेश गरेकी सिन्धु जलेसा बुढाथोकी नवलपरासी पश्चिम–१ बाट उम्मेदवार बनेकी छन् । २०७० सालमा उनी संविधानसभा सदस्य थिइन् । उनको प्रतिस्पर्धामा एमालेका रामप्रसाद पाण्डेय, कांग्रेसका विनोदकुमार चौधरी र रास्वपाका विक्रम खनाल मैदानमा उत्रिएका छन् ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रमा कांग्रेसका चौधरी २५ हजार ५१९ मत ल्याएर विजयी भएका थिए । एमालेको सूर्य चिन्ह लिएर उठेका जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत प्राप्त गरेका थिए । माओवादीले कांग्रेसलाई समर्थन गरेको थियो । रास्वपाले १२ हजार ४९९ मत प्राप्त गरेको थियो ।
कञ्चनपुर–१
अघिल्लो पटक पराजित भएकी विना मगरलाई नेकपाले फेरि उम्मेदवार बनाएको छ । २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । मगर नेकपा संयोजक प्रचण्डकी बुहारी हुन् । योपटक उनलाई एमालेका उम्मेदवार तारा लामा तामाङ र कांग्रेसका गोपीप्रसाद उपाध्यायले टक्कर दिँदैछन् । रास्वपाबाट जनकसिंह धामी चुनावी मैदानमा उत्रिएका छन् ।

२०७९ को निर्वाचनमा यो क्षेत्रमा एमालेका तारा लामा तामाङ २४ हजार ९४३ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीकी मगरले १९ हजार ४०० मत प्राप्त गरेकी थिइन् । नाउपाका उम्मेदवार नन्दनकुमार रानाले ८ हजार ६८५ मत प्राप्त गर्दा रास्वपाका उम्मेदवार देवराज जोशीले एक हजार ९०९ मत प्राप्त गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण