कांग्रेस–एमाले गठबन्धनमा धोखाधडी, उल्लेख्य फ्लोर क्रस !
विराटनगर । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनका प्रदेश सांसद र पालिकाका प्रतिनिधिहरूबाटै धोकाधडी भएको छ । उल्लेख्य सांसद र पालिका प्रमतिनिधिहरूले नेकपाका उम्मेदवारलाई मत दिइएको पाइएको हो ।
यद्यपि कोशी प्रदेशबाट गठबन्धनका उम्मेदवारहरू नै विजयी भए । निर्वाचनमा महिला तर्फ नेकपा एमालेकी उम्मेदवार रोशनी मेचे निर्वाचित भइन् भने दलित तर्फ गठबन्धनकै सोम पोर्तेल विजयी भए । विजयी उम्मेदवार मेचेले ७ हजार १७३ मत प्राप्त गरी विजयी बन्दा पोर्तेलले ७ हजार ४२३ मत प्राप्त गरे, तर मतदानका क्रममा भने कांग्रेस एमालेका पालिकाका २५ जना उम्मेदवारले नेकपाकी महिला उम्मेदवार नमिता न्यौपानेलाई मतदान गरे । यस्तै प्रदेशका कांग्रेस–एमाले गठबन्धनका ५ जना सांसदले नेकपालाई मतदान गरे ।
कोशी प्रदेशसभाअन्तर्गत ८७ सांसदहरू मतदानमा सहभागी भए । जसमध्ये एमालेकी मेचेलाई ६४ जनाले मात्रै मतदान गरेका हुन् । जबकि कांग्रेस र एमालेको सांसद संख्या ६९ जना हो, त्यसमध्ये कांग्रेसकी लिलाकुमारी राई र एमालेकी यशोदा कायस्थ अनुपस्थित रहे । उपस्थित रहेका ६७ मध्ये ३ जनाले भने नेकपाकी उम्मेदवार नमिता न्यौपानेलाई मतदान गरेको तथ्याङ्कले बताउँछ ।
उता कोशी प्रदेशका ९ जना स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षले मतदान गरेनन् । जसमा एमालेबाट निर्वाचित पाँथचर याङ्बरकका अध्यक्ष भीम योङ्हाङ, कांग्रेसबाट निर्वाचित ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाको उपाध्यक्ष रविन साम्रा लिम्बू, राप्रपाबाट निर्वाचित हल्दिबारीका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, राप्रपाबाट निर्वाचित भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, नेकपाबाट निर्वाचित आमचोक गाउँपालिका भोजपुरकी उपाध्यक्ष सीता राई, राप्रपाबाट निर्वाचित दमक नगरपालिकाका प्रमुख राम थापा, कांग्रेसबाट निर्वाचित सोलुखुम्बु लिखु पिके गाउँपालिका उपाध्यक्ष नावाङ लाक्पा शेर्पा, जसपाबाट निर्वाचित ओखलढुङ्गा खिजिदेम्बाका अध्यक्षका गोम्बु शेर्पा रहेका छन् ।
स्थानीय तहबाट नेकपाका जम्मा मत ३७ हो । त्यसमध्ये इलाम सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, उदयपुर लिम्चिङबुङका मेजर राई र सोलुखुम्बु थुलुङ दूधकोशीका अध्यक्ष अशिम राईले राजीनामा दिएका थिए । यस्तै नेकपाबाट निर्वाचित आमचोक गाउँपालिका भोजपुरकी उपाध्यक्ष सीता राई अनुपस्थित हुँदा नेकपाको ३३ जनाले मतदानमा सहभागी भए । तर नेकपाकी उम्मेदवार न्यौपानेलाई कांग्रेस–एमालेका थप २५ जनाले मतदान गरे ।
उता दलिततर्फ एमालेका सोम पोर्तेल निर्वाचित भए । पोर्तेलले सूर्य चिह्नमा प्रदेशसभा तर्फ ६८ र स्थानीय तहतर्फ २०१ मतदाताको मत प्राप्त गरेका थिए । पोर्तेललाई १ जना सांसदले मत दिएनन् र नेकपाका उम्मेदवार खेम सुन्दासलाई मत दिए । यस्तै पालिकातर्फका कांग्रेस–एमालेका २४ जनाले नेकपाका उम्मेदवार सुन्दासलाई मतदान गरे ।
कांग्रेस र एमालेको कडा ह्वीपका बाबजुद भएको यो अन्तर्घातले गठबन्धनभित्र खैलाबैला मच्चाएको छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले नेकपाका उम्मेदवारले कांग्रेसको भोट बढी तानेको स्वीकार गरे । ‘नेकपाले हाम्रो एकजना उम्मेदवार (सुनिल थापा) लाई निर्विरोध गराउन सहयोग गरिदिनुभयो, त्यसको पैंचोस्वरुप यता भोट गएको हुन सक्छ,’ थापाले ठट्यौली शैलीमा भने ।
कोशीमा जहिल्यै फ्लोर क्रस
कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा यसअघि पनि फ्लोर क्रसका कारण रोचक हारजित भएको थियो । गएको वर्ष (२०८० माघ ११) भएको राष्ट्रियसभा निर्वाचनमा तत्कालिन सत्तारुढ दल कांग्रेस–माओवादी–नेकपा एसलगायतको गठबन्धन थियो । विपक्षमा नेकपा एमाले र राप्रपाको गठबन्धन थियो । तर, त्यसबेला सत्तारुढ गठबन्धनको मतभार बढी हुँदाहुँदै महिला कोटामा एमालेकी रुक्मिणी कोइरालाले माओवादीकी चम्पा कार्कीलाई पराजित गरिन् । उता, कांग्रेसका कृष्ण सिटौलाले आफ्नै गठबन्धनको धोकाधडीकाबीच पनि जित निकाल्न सफल भएका थिए ।
सत्ता गठबन्धनका दुई उम्मेदवार सिटौला र कार्कीलाई नै गठबन्धन बाटै ठूलो अन्तरघात भएको थियो । किनकी कोशी प्रदेशमा ९३ जना प्रदेशसभा सदस्य थिए । जसमध्ये गठबन्धनको ४७ जना हुन् भने एमाले र राप्रपाको ४६ सांसद हुन् । तर, सत्ता गठबन्धनको महिला उम्मेदवारले सत्ता गठबन्धनको ४४ मत मात्रै पाइन् र ३ जना सांसदले विपक्षी गठबन्धनलाई मत दिए । यस्तै स्थानीय तहमा पनि सत्ता गठबन्धन कांग्रेसका प्रमुख–उपप्रमुख ११३, माओवादी केन्द्रका ३१, एकीकृत (नेकपा समाजवादी)का ७ र जनता समाजवादी पार्टीको ४ गरी १५५ जना प्रतिनिधि थिए । जसमध्ये गठबन्धनका झापा गाउँपालिकाका अध्यक्ष जयरानारायण शाह र ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार अनुपस्थित हुँदा पनि गठबन्धनमा १५३ जनाको मत थियो ।
तर, महिला उम्मेदवार कार्कीले स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षमध्ये १४० जनाको मात्रै मत पाइन् । गठबन्धनकै ३ सांसद र स्थानीय तहका १३ जना जनप्रतिनिधिले अन्तरघात गर्दा उनले पराजय व्यवहोर्नु पर्यो ।
कांग्रेस उम्मेदवार सिटौलालाई पनि प्रदेशसभाका २ जना सांसदले मात्रै धोका दिएका थिए । सिटौलाले सत्ता गठबन्धनका ४७ सांसदमध्ये ४५ जनाको मात्रै भोट पाए । स्थानीय तहमा शतप्रतिशत मत उनको पोल्टामा पर्यो । सिटौलाले गठबन्धनको सबै मत पाएको अवस्थामा जम्मा मतभार ५ हजार ३९८ हुन्थ्यो । तर, उनले ५ हजार २९२ मत मात्रै प्राप्त गर्न सके ।
उता एमाले–राप्रपा गठबन्धनमा पनि धोकाधडी भएको थियो । एमालेकी उम्मेदवार कोइरालाले जित निकाल्दा राप्रपाका उम्मेदवार उद्धब पौडेलले भने सबै मत पाउन सकेनन् । प्रदेशसभामा आफ्नो मतभन्दा १ मत बढी पाएका पौडेलले स्थानीय तहमा भने एमाले र राप्रपाको सबै मत पाउन सकेनन् । किनकि स्थानीय तहमा एमालेको ११२ र राप्रपा ४ गरेर ११६ जना प्रतिनिधि थिए । जसको मतभार २ हजार २०४ हुन्थ्यो । तर, पौडेलले प्रदेशसभाबाट ४७ सांसदको २ हजार ४९१ र स्थानीय तहतर्फ १०९ जनाको २ हजार ७१ मत मात्रै पाए । एमालेले निस्क्रिय बनाएको उम्मेदवार पर्शुराम अधिकारीलाई प्रदेशसभाको १ जनाको ५३ मत र स्थानीय तहका ४ जनाको ७६ गरी १२९ मत प्राप्त गरे । ५ जना स्थानीय तहको मत बदर भयो ।
२०७८ माघमा सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पनि धोका धडी भएको थियो । एमाले नेता गुरु बराललाई आफ्नै पार्टीकै दुई प्रदेश सांसदको ‘अन्तरघात’का कारण उनको मतभार नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेतसँग बराबर भएको थियो । अन्ततः गोलाप्रथाद्वारा निर्णय लिइँदा भाग्यले साथ नदिँदा बराल पराजित भएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण