नेपाल र साउदी अरबबिच श्रम सम्झौतामा हस्ताक्षर
सारांश
- नेपाल र साउदी अरबबीच श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ।
- सम्झौताले नेपाली श्रमिकको भर्ती प्रक्रियालाई पारदर्शी, न्यायोचित र लागत प्रभावी बनाउने लक्ष्य राखेको छ।
- यो सम्झौताले साउदीमा कार्यरत नेपाली कामदारहरूको हकहित र रोजगार सुरक्षालाई नयाँ उचाइ दिनेछ।
काठमाडौँ । नेपाल र साउदी अरबबिच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ । साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित साउदीको रियादमा श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको हो ।
सोमबार सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संसाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा हस्ताक्षर हुनुअघि दुवै देशका श्रम मन्त्रीहरूबिच द्विपक्षीय बैठकसमेत सम्पन्न भएको थियो । सो क्रममा श्रममन्त्री भण्डारीले यो सम्झौताले नेपाल र साउदी अरबबिचको श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
उनले भने– ‘यो सम्झौता नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रियालाई पारदर्शी, न्यायोचित र लागत–प्रभावी बनाउन एउटा महत्त्वपूर्ण दस्ताबेज साबित हुनेछ । यसले साउदीमा कार्यरत नेपालीहरूको हकहित र रोजगार सुरक्षालाई नयाँ उचाइ दिनेछ ।’
एक दशकभन्दा लामो समयदेखिको प्रयासपछि साउदीसँग श्रम समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौता गर्ने प्रयास गर्दै आएको थियो । सम्झौताका लागि पटक पटक सम्झौताको मस्यौदा समेत तयार पारिएको थियो ।
सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणलगायत विषयलाई प्राथमिकताका साथ समेटिएको छ । दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित गर्ने व्यवस्था सम्झौतामा गरिएको छ ।
यस सम्झौताबाट साउदी अरबमा कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा र स्थायित्व थप मजबुत हुने विश्वास गरिएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ ।
साउदीमा हाल श्रमिकहरूले न्यूनतम तलब नपाएको, करारपत्र फेरबदल गर्ने गरेको, कम्पनीले घर जान नदिएको, उपचारमा लापरबाही गर्ने गरेको जस्ता समस्या लिएर दूतावास तथा वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण