अजरबैजानको सपना देखाएर ठग्ने पक्राउ
काठमाडौँ। वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोह अझै सक्रिय रहेको पाइएको छ। आकर्षक तलबको लोभ देखाउँदै अजरबैजान पठाइदिन्छु भनेर रकम असुल्ने एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्ने ५९ वर्षीय महेन्द्र विश्वकर्मा रहेका छन्।
महेन्द्रले ४ जना पीडितलाई अजरबैजानमा राम्रो काम र कमाइ हुने विश्वास दिलाएर पटक–पटक गरी कुल ४ लाख रुपैयाँ संकलन गरेका थिए। रकम हात पारेपछि उनी पीडितहरूको सम्पर्कबाट टाढा रहेर फरार भएका थिए। आफूहरू ठगिएको महसुस गरेपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई काठमाडौं महानगरपालिका–३२ बाट शुक्रबार पक्राउ गर्न सफल भएको हो।
प्रहरीले उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण