सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा व्यवसायी र कर्मचारी सम्मानित

मङ्गलबार, १३ माघ २०८२, ०३ : ३३
मङ्गलबार, १३ माघ २०८२

सारांश

  • मुस्ताङ भन्सार कार्यालयले पहिलो पटक अन्तरराष्ट्रिय भन्सार दिवस मनायो।
  • कम्प्युटर अपरेटर ओमप्रकाश महतो र विभिन्न कम्पनीलाई सम्मान गरियो।
  • नाका पूर्ण सञ्चालनमा आएपछि राजस्व वृद्धि र व्यवसायीलाई सहज भयो।

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–२ छोसेरमा रहेको मुस्ताङ भन्सार कार्यालयले पहिलोपटक यहाँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको छ ।

सोमबार यहाँ जोमसोममा एक कार्यक्रम गरी ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको हो । कार्यक्रममा कार्यालयका कम्प्युटर अपरेटर ओमप्रकाश महतोलाई सम्मान गरिएको छ । कठिन भूगोलमा रहेर लगनशील र कर्तव्यनिष्ठ भएर सेवाग्राहीमैत्री कार्यसम्पादन गरेको भन्दै उनलाई भन्सार विभागले सम्मान अर्पण गरेको हो ।

कार्यक्रममा पुस मसान्तसम्म यहाँबाट धेरै मूल्यको मालवस्तु निकासी गर्ने अष्ठ मङ्गल प्राइभेट कम्पनी र पैठारी गर्ने मेनल्यान्ड सिपिङ एण्ड लजिस्टिक कम्पनीलाई सम्मान गरिएको थियो ।

यहाँबाट गत भदौ ३१ गतेदेखि हालसम्म साइमेक्स इन्क प्रालिले रु चार अर्ब २३ करोड ४२ लाखको मालवस्तु पैठारी गरेको र निकासीतर्फ अष्टा मङ्गल कम्पनीले रु छ करोड ५६ लाख ९४ हजार बराबरको कारोबार गरेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भन्सार कार्यालयलाई थप गतिशील र सेवामैत्री तुल्याउन आवश्यक रहेको बताइन् । भन्सार सेवालाई थप प्रभावकारी, जिम्मेवार र उत्तरदायी बनाउँदै थप सुधार गर्नुपर्ने र त्यसका लागि प्रविधिमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

यहाँ माथिल्लो मुस्ताङस्थित न्हेचुङमा २०१३ सालमा भन्सार कार्यालय स्थापना भएको थियो । कार्यालयका निमित्त भन्सार प्रमुख रमेश खड्काले पछिल्लो समय सडक स्तरोन्नितिसँगै नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याइएपछि राजस्व वृद्धिका साथै व्यवसायीलाई समेत निकै सहज भएको बताए ।

कार्यक्रममा व्यवसायी प्रभु अधिकारी, मुस्ताङ उद्योग वाणिज्य सङ्घका सचिव तिलक विकलगायतले नाका पूर्ण सञ्चालनमा आए पनि व्यवस्थापनमा अझै सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याए ।

गत भदौ ३१ गतेबाट पूर्ण रूपमा सञ्चालनमा आएको यस नाकाबाट हालसम्म रु पाँच अर्ब ५४ करोड तीन लाख राजस्व सङ्कलन गरिएको निमित्त प्रमुख खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप