मधेसी मतदाताका आफ्नै पीडा, चाहन्छन् दुःख बुझ्ने नयाँ अनुहार
सारांश
- निर्वाचन नजिकिँदै गर्दा मधेसका ग्रामीण भेगका नागरिकमा चुनावको रौनक देखिएको छैन र उनीहरू पुरानै नेताबाट निराश छन्।
- कतिपय मतदाताहरूले चुनावबाट केही उपलब्धि नभएको गुनासो गरेका छन्, र नयाँ पुस्ताका नेतालाई अवसर दिनुपर्ने माग गरेका छन्।
- मधेस प्रदेशमा मतदाता शिक्षाको कमी र बदर मतको समस्या रहेको छ, जसले गर्दा मतदाता शिक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ।
जनकपुर । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै मधेसका सहरी भेगमा मात्रै होइन, गाउँ–देहातमा समेत चुनावी चर्चा भइरहेको छ । मनोनयन दर्तासँगै उम्मेदवार, नेता तथा कार्यकर्ताहरूको दौडधुप बढेको छ ।
तर, ग्रामीण समुदायका मुसहर टोल, तत्मा टोल, मलाह टोल र चमार टोलका व्यक्तिहरू भन्छन्, ‘टीभी र मोबाइलमा चुनावको कुरा सुनिन्छ । गाउँका अरू टोलबाट पनि जानकारी मिल्छ, तर हाम्रो बस्तीमा अहिलेसम्म कुनै रौनक छैन । विगतको चुनावमा जुन होहल्ला, प्रचार र फोटोफाटो हुन्थ्यो, त्यो यसपालि छैन, तर हामीलाई त्योसँग मतलब पनि छैन ।’
जनकपुरधाम उपमहानगरपालिका–२३ की ७० वर्षीया समुद्री सदा भन्छिन्, ‘खानका लागि तड्पिरहेको छु । हाम्रो समुदायलाई कसैले हेरेको छैन । चुनावबाट जितेर जाँदा पनि धनी र ठुला जातका लागि मात्रै हुन्छ । हामी तल्लो जातका गरिबलाई कसले हेर्ने ? न खान छ, न घर छ । जाडोमा पनि कसैले हेरेन । कपाल फुलेसक्यो, कति चुनाव हेरेँ, तर हाम्रो लागि कोही छैन ।’
महोत्तरीको पिपरा गाउँपालिका–७ की ७१ वर्षीया बेचनी देवीले धेरै पटक भोट खसाले पनि कसैले नहेरेको गुनासो गर्छिन् । उनी भन्छिन्, ‘कति चोटि मत खसालेँ, के भयो ? कसैले सुनेन, वास्ता पनि गरेन । चुनावले हामीलाई के फाइदा ? काम गर्छौँ तब खान्छौँ, काम हुँदैन कसैले केही दिँदैन । हामी गरिबका लागि, हाम्रो जात समुदायका लागि के सोचेको छ ? पैसा छैन । उपचार गराउन या ठुलो इलाज गराउन पनि पैसा चाहियो । सरकारी अस्पतालमा पनि ठुला व्यक्तिलाई नै उपचार हुन्छ ।’
जलेश्वर नगरपालिका–७ पर्कौलीस्थित चियापसलमा भेटिएका दीपक झा भन्छन्, ‘मनोनयन दर्तादेखि जनतामा उत्साह छ । राम्रो वातावरण बनेको देखिन्छ । सरकारले तोकेको समयमा निर्वाचन हुन्छ भन्ने विश्वास थिएन ।’ निर्वाचनपछि देशले निकास पाउने उनले विश्वास गर्छन् । ‘अब देशलाई नयाँ पुस्ताले हाँक्नुपर्छ । अब देशको प्रधानमन्त्री नयाँ पुस्तालाई दिनुपर्छ र उनले नै देशको मर्म बुझेर विकासतिर लग्नेछ,’ उनी भन्छन् ।
नगराइन नगरपालिका–३ का राघवदासले चुनावपछि आउने सरकार समृद्धि र आर्थिक वृद्धितिर लागोस् भन्ने चाहना राखेका छन् । ‘निर्वाचन राम्रोसँग होस् । नयाँ नेतृत्व राम्रो मान्छेले लियोस् । देश समृद्धि र आर्थिक वृद्धितिर लागोस् र कर्तव्यनिष्ठको हातमा जाओस्,’ दास भन्छन्, ‘यसपालि जनता सचेत छन्, मत दुरुपयोग गर्दैनन् । लोभलालचमा यसपालि नेपाली जनता, चाहे पहाड, तराई, हिमाल जहाँका भए पनि, सोचेर मतदान गर्नेछन् ।’
बदलिँदो राजनीतिक परिदृश्यबिच प्रमुख दलहरूले अधिकांश पुराना अनुहारलाई नै पुनः चुनावी मैदानमा उतारेका छन् । मधेस आन्दोलनको मर्मविपरीत घरपरिवार र नातागोतालाई समानुपातिकमा केन्द्रित गरिएका र नागरिकको हितमा खासै काम गर्न नसकेका पुराना अनुहारलाई दोहोर्याउनुभन्दा नयाँ अनुहारलाई मौका दिनुपर्ने मधेसका युवाहरूको भनाइ छ ।
मिथिला नगरपालिकाका अब्दुल मिया भन्छन्, ‘यसपालि फेरि पुराना उम्मेदवार नै धेरै दोहोरिएका छन् । तर, गाउँघरमा नयाँ अनुहारको चर्चा चलिरहेको छ । पुरानोले के गर्यो, त्यो हामीले हेरिसक्यौँ, यसपालि नयाँलाई अवसर दिनुपर्छ । नयाँ पार्टी, नयाँ संगठन र नयाँ अनुहारलाई मौका दिनुपर्छ ।’
लामो संघर्ष र नागरिकहरूको बलिदानपछि प्राप्त संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ बलियो र संस्थागत गर्न निर्वाचनको विकल्प नभएको सचेत मतदाता बताउँछन् । निष्पक्ष र शान्तिपूर्ण वातावरणबिच आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा निकायलगायत सरोकारवालाहरूसँग धनुषाको तारापट्टि चौरमा भेला भएका समुदायहरूले प्रशासनलाई आग्रह गरेका छन्, उनीहरू निष्पक्ष मत खसाल्ने वातावरण बनोस् भन्ने चाहन्छन् ।
बाक्लो जनघनत्वका हिसाबले सातै प्रदेशमध्ये मधेस प्रदेश दोस्रो स्थानमा छ । यहाँ ३६ लाख ३६ हजार ४१४ जना मतदाता छन् । विगतका निर्वाचनका आँकडा हेर्दा बदर मतको संख्या बढी देखिएकाले मतदाता शिक्षा एउटा चुनौतीपूर्ण समस्याका रूपमा छ ।
यता, सर्लाही लालबन्दी नगगरपालिका नवलपुरका कृषक अशोक झा भन्छन्, ‘पुराना दलहरूले सत्ता र कुर्सी जोगाउन मात्रै निर्वाचनका बेला कृषि, स्वास्थ्य, शिक्षा नै पहिलो प्राथमिकता भन्दै ठुला भाषण गर्छन् । जितेर गएपछि सबै बिर्सन्छन् । अहिले कृषक हामी कति मारमा छौँ, समयमा न बीउ, न मल, न त सस्तो दरमा बैंकबाट ऋण नै पाइन्छ । यसपालि वर्षाका कारण धान, तरकारी र अन्य बालीको उत्पादन राम्रो हुन सकेन । अन्नले राम्रो बजार पाउन सकेन । हाम्रो पीडा कसले बुझ्ला ? हामी धेरै ठगियौँ । अब पुराना दल र पुराना नेताहरूप्रतिको विश्वास गुमेको छ । त्यसैले अब नयाँ युवा नेतृत्वलाई मौका दिनुपर्छ ।’
बाक्लो जनघनत्वका हिसाबले सातै प्रदेशमध्ये मधेस प्रदेश दोस्रो स्थानमा छ । यहाँ ३६ लाख ३६ हजार ४१४ जना मतदाता छन् । विगतका निर्वाचनका आँकडा हेर्दा बदर मतको संख्या बढी देखिएकाले मतदाता शिक्षा एउटा चुनौतीपूर्ण समस्याका रूपमा छ । मताधिकारको सही प्रयोग गर्न र अनिवार्य रूपमा मतदानमा सहभागी गराउन मतदाता शिक्षालाई प्राथमिकताका साथ विस्तार गर्नुपर्ने देखिन्छ ।
सर्लाही, हरिपुर्वाका राकेश यादव भन्छन्, ‘मत खसाल्न हामीलाई धेरै गाह्रो हुन्छ । मतपत्रमा कहाँ भोट हाल्ने भन्ने कुरा कम पढेलेखेका महिला, बुढापाकाहरूलाई थाहा हुँदैन । त्यसका लागि मतदाता शिक्षा राम्रोसँग दिनुपर्छ । मतदाता शिक्षाको ज्ञान नहुँदा धेरै मत बदर हुन्छ । प्रभावकारी मतदाता शिक्षा लागु नगरिए विगतमा जस्तै मत बदर हुनेछ ।’
मधेस प्रदेशका आठ जिल्लामध्ये प्रत्येकमा चार निर्वाचन क्षेत्रका दरले कुल ३२ निर्वाचन क्षेत्र छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १ हजार ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण