बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन चर्चा

मधेसी मतदाताका आफ्नै पीडा, चाहन्छन् दुःख बुझ्ने नयाँ अनुहार

बुधबार, १४ माघ २०८२, ०७ : २०
बुधबार, १४ माघ २०८२

सारांश

  • निर्वाचन नजिकिँदै गर्दा मधेसका ग्रामीण भेगका नागरिकमा चुनावको रौनक देखिएको छैन र उनीहरू पुरानै नेताबाट निराश छन्।
  • कतिपय मतदाताहरूले चुनावबाट केही उपलब्धि नभएको गुनासो गरेका छन्, र नयाँ पुस्ताका नेतालाई अवसर दिनुपर्ने माग गरेका छन्।
  • मधेस प्रदेशमा मतदाता शिक्षाको कमी र बदर मतको समस्या रहेको छ, जसले गर्दा मतदाता शिक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ।
00:00 / NaN:NaN
Audio By AI

जनकपुर । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै मधेसका सहरी भेगमा मात्रै होइन, गाउँ–देहातमा समेत चुनावी चर्चा भइरहेको छ । मनोनयन दर्तासँगै उम्मेदवार, नेता तथा कार्यकर्ताहरूको दौडधुप बढेको छ ।

तर, ग्रामीण समुदायका मुसहर टोल, तत्मा टोल, मलाह टोल र चमार टोलका व्यक्तिहरू भन्छन्, ‘टीभी र मोबाइलमा चुनावको कुरा सुनिन्छ । गाउँका अरू टोलबाट पनि जानकारी मिल्छ, तर हाम्रो बस्तीमा अहिलेसम्म कुनै रौनक छैन । विगतको चुनावमा जुन होहल्ला, प्रचार र फोटोफाटो हुन्थ्यो, त्यो यसपालि छैन, तर हामीलाई त्योसँग मतलब पनि छैन ।’

जनकपुरधाम उपमहानगरपालिका–२३ की ७० वर्षीया समुद्री सदा भन्छिन्, ‘खानका लागि तड्पिरहेको छु । हाम्रो समुदायलाई कसैले हेरेको छैन । चुनावबाट जितेर जाँदा पनि धनी र ठुला जातका लागि मात्रै हुन्छ । हामी तल्लो जातका गरिबलाई कसले हेर्ने ? न खान छ, न घर छ । जाडोमा पनि कसैले हेरेन । कपाल फुलेसक्यो, कति चुनाव हेरेँ, तर हाम्रो लागि कोही छैन ।’

samundri
समुद्री सदा

महोत्तरीको पिपरा गाउँपालिका–७ की ७१ वर्षीया बेचनी देवीले धेरै पटक भोट खसाले पनि कसैले नहेरेको गुनासो गर्छिन् । उनी भन्छिन्, ‘कति चोटि मत खसालेँ, के भयो ? कसैले सुनेन, वास्ता पनि गरेन । चुनावले हामीलाई के फाइदा ? काम गर्छौँ तब खान्छौँ, काम हुँदैन कसैले केही दिँदैन । हामी गरिबका लागि, हाम्रो जात समुदायका लागि के सोचेको छ ? पैसा छैन । उपचार गराउन या ठुलो इलाज गराउन पनि पैसा चाहियो । सरकारी अस्पतालमा पनि ठुला व्यक्तिलाई नै उपचार हुन्छ ।’

WhatsApp Image 2026-01-27 at 4.41.44 PM
बेचनी देवी

जलेश्वर नगरपालिका–७ पर्कौलीस्थित चियापसलमा भेटिएका दीपक झा भन्छन्, ‘मनोनयन दर्तादेखि जनतामा उत्साह छ । राम्रो वातावरण बनेको देखिन्छ । सरकारले तोकेको समयमा निर्वाचन हुन्छ भन्ने विश्वास थिएन ।’ निर्वाचनपछि देशले निकास पाउने उनले विश्वास गर्छन् । ‘अब देशलाई नयाँ पुस्ताले हाँक्नुपर्छ । अब देशको प्रधानमन्त्री नयाँ पुस्तालाई दिनुपर्छ र उनले नै देशको मर्म बुझेर विकासतिर लग्नेछ,’ उनी भन्छन् ।

deepak jha
दीपक झा

नगराइन नगरपालिका–३ का राघवदासले चुनावपछि आउने सरकार समृद्धि र आर्थिक वृद्धितिर लागोस् भन्ने चाहना राखेका छन् । ‘निर्वाचन राम्रोसँग होस् । नयाँ नेतृत्व राम्रो मान्छेले लियोस् । देश समृद्धि र आर्थिक वृद्धितिर लागोस् र कर्तव्यनिष्ठको हातमा जाओस्,’ दास भन्छन्, ‘यसपालि जनता सचेत छन्, मत दुरुपयोग गर्दैनन् । लोभलालचमा यसपालि नेपाली जनता, चाहे पहाड, तराई, हिमाल जहाँका भए पनि, सोचेर मतदान गर्नेछन् ।’

बदलिँदो राजनीतिक परिदृश्यबिच प्रमुख दलहरूले अधिकांश पुराना अनुहारलाई नै पुनः चुनावी मैदानमा उतारेका छन् । मधेस आन्दोलनको मर्मविपरीत घरपरिवार र नातागोतालाई समानुपातिकमा केन्द्रित गरिएका र नागरिकको हितमा खासै काम गर्न नसकेका पुराना अनुहारलाई दोहोर्‍याउनुभन्दा नयाँ अनुहारलाई मौका दिनुपर्ने मधेसका युवाहरूको भनाइ छ ।

मिथिला नगरपालिकाका अब्दुल मिया भन्छन्, ‘यसपालि फेरि पुराना उम्मेदवार नै धेरै दोहोरिएका छन् । तर, गाउँघरमा नयाँ अनुहारको चर्चा चलिरहेको छ । पुरानोले के गर्‍यो, त्यो हामीले हेरिसक्यौँ, यसपालि नयाँलाई अवसर दिनुपर्छ । नयाँ पार्टी, नयाँ संगठन र नयाँ अनुहारलाई मौका दिनुपर्छ ।’

abdul miya
अब्दुल मिया

लामो संघर्ष र नागरिकहरूको बलिदानपछि प्राप्त संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ बलियो र संस्थागत गर्न निर्वाचनको विकल्प नभएको सचेत मतदाता बताउँछन् । निष्पक्ष र शान्तिपूर्ण वातावरणबिच आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा निकायलगायत सरोकारवालाहरूसँग धनुषाको तारापट्टि चौरमा भेला भएका समुदायहरूले प्रशासनलाई आग्रह गरेका छन्, उनीहरू निष्पक्ष मत खसाल्ने वातावरण बनोस् भन्ने चाहन्छन् ।

बाक्लो जनघनत्वका हिसाबले सातै प्रदेशमध्ये मधेस प्रदेश दोस्रो स्थानमा छ । यहाँ ३६ लाख ३६ हजार ४१४ जना मतदाता छन् । विगतका निर्वाचनका आँकडा हेर्दा बदर मतको संख्या बढी देखिएकाले मतदाता शिक्षा एउटा चुनौतीपूर्ण समस्याका रूपमा छ ।

यता, सर्लाही लालबन्दी नगगरपालिका नवलपुरका कृषक अशोक झा भन्छन्, ‘पुराना दलहरूले सत्ता र कुर्सी जोगाउन मात्रै निर्वाचनका बेला कृषि, स्वास्थ्य, शिक्षा नै पहिलो प्राथमिकता भन्दै ठुला भाषण गर्छन् । जितेर गएपछि सबै बिर्सन्छन् । अहिले कृषक हामी कति मारमा छौँ, समयमा न बीउ, न मल, न त सस्तो दरमा बैंकबाट ऋण नै पाइन्छ । यसपालि वर्षाका कारण धान, तरकारी र अन्य बालीको उत्पादन राम्रो हुन सकेन । अन्नले राम्रो बजार पाउन सकेन । हाम्रो पीडा कसले बुझ्ला ? हामी धेरै ठगियौँ । अब पुराना दल र पुराना नेताहरूप्रतिको विश्वास गुमेको छ । त्यसैले अब नयाँ युवा नेतृत्वलाई मौका दिनुपर्छ ।’

बाक्लो जनघनत्वका हिसाबले सातै प्रदेशमध्ये मधेस प्रदेश दोस्रो स्थानमा छ । यहाँ ३६ लाख ३६ हजार ४१४ जना मतदाता छन् । विगतका निर्वाचनका आँकडा हेर्दा बदर मतको संख्या बढी देखिएकाले मतदाता शिक्षा एउटा चुनौतीपूर्ण समस्याका रूपमा छ । मताधिकारको सही प्रयोग गर्न र अनिवार्य रूपमा मतदानमा सहभागी गराउन मतदाता शिक्षालाई प्राथमिकताका साथ विस्तार गर्नुपर्ने देखिन्छ ।

सर्लाही, हरिपुर्वाका राकेश यादव भन्छन्, ‘मत खसाल्न हामीलाई धेरै गाह्रो हुन्छ । मतपत्रमा कहाँ भोट हाल्ने भन्ने कुरा कम पढेलेखेका महिला, बुढापाकाहरूलाई थाहा हुँदैन । त्यसका लागि मतदाता शिक्षा राम्रोसँग दिनुपर्छ । मतदाता शिक्षाको ज्ञान नहुँदा धेरै मत बदर हुन्छ । प्रभावकारी मतदाता शिक्षा लागु नगरिए विगतमा जस्तै मत बदर हुनेछ ।’

WhatsApp Image 2026-01-27 at 4.43.51 PM
राकेश यादव

मधेस प्रदेशका आठ जिल्लामध्ये प्रत्येकमा चार निर्वाचन क्षेत्रका दरले कुल ३२ निर्वाचन क्षेत्र छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १ हजार ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप