बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
उपभोक्ताकाे गुनासाे

के बजारमा अभाव भएकै हो खाना पकाउने ग्यास ?

बुधबार, १४ माघ २०८२, ०८ : ३३
बुधबार, १४ माघ २०८२

सारांश

  • बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो आएपछि नेपाल आयल निगमले आपूर्ति सहज रहेको दाबी गरेको छ।
  • निगमले चुनावलाई ध्यानमा राख्दै ग्यास अभाव हुन नदिन थप तयारी गरेको छ, र १० प्रतिशत कोटा बढाउने निर्णय गरेको छ।
  • उद्योगीहरूले भने जाडोमा माग बढे पनि आयात घटेको बताएका छन्, जसले बजारमा अभाव देखिएको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । यतिबेला बजारमा खाना पकाउने ग्यास(एलपीजी) अभाव देखिएको गुनासो आउन थालेको छ । उपभोक्ताले ग्यास लिन बिक्रेताकहाँ जाँदा बिक्रेताहरूले ‘ग्यास छैन’ भन्ने जवाफ फर्काइरहेको रित्ता सिलिन्डर लिएर फर्किनुपरेको गुनासो आउन थालेका छन् ।

ग्यास उद्योगीले पनि आयात घटेकाले बजारमा ग्यास अभाव भएको जानकारी दिएका छन् । यस्तो अवस्थामा सरकारी नियामक निकाय नेपाल आयल निगमले पर्याप्त मात्रामा ग्यास आयात भइरहेको र थप आयात परिमाण बढाउने तयारी भएको जनाएको छ ।

एकातिर निगमले बजारमा ग्यासको अभाव नरहेको र हल्लाको पछि नलाग्न पनि आग्रह गरेको छ भने अर्कोतिर उद्योगीहरूले आयात ह्वात्तै घटेकाले माग धान्न नसकिएको बताएका छन् ।

अभाव छैन, थप १० प्रतिशत कोटा बढाउँदैछौँ : निगम
बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको गुनासो आइरहँदा निगमले भने आपूर्ति व्यवस्था सहज रहेको दाबी गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले बजारमा हल्ला भएजस्तो ग्यासको अभाव नरहेको र आयात नियमित भइरहेको दाबी गरेका छन् । ‘अहिले बजारमा ग्यास अभाव हुन थालेको भन्ने हल्ला मात्र हो,’ ठाकुरले भने, ‘दैनिक माग धान्न सक्नेगरी ग्यास आयात भइरहेको छ, अभाव भएको छैन ।’

प्रवक्ता ठाकुरका अनुसार सामान्यतया दैनिक ७५ बुलेट ग्यासको खपत हुने गर्छ र ८० बुलेटसम्म आयात भइरहेको छ । जाडो मौसममा ग्यासको खपत केही बढ्ने भए पनि सोही अनुसार आयात परिमाण पनि बढेको उनले सुनाए ।

निगमले नजिकिँदै गरेको चुनावलाई मध्यनजर गर्दै ग्यास अभाव हुन नदिन थप तयारी गरेको छ ।

‘वार्षिक औसत हेर्दा मासिक ४५ हजार मेट्रिक टन खपत हुन्छ, तर अहिलेको मागलाई सम्बोधन गर्न पुसमा मात्रै ४९ हजार मेट्रिक टन ग्यास आयात भएको छ,’ ठाकुरले भने, ‘त्यसैले समग्रमा देशव्यापी रूपमा ग्यासको अभाव छैन ।’

चुनाव लक्षित १० प्रतिशत थप आयात तयारी

निगमले नजिकिँदै गरेको चुनावलाई मध्यनजर गर्दै ग्यास अभाव हुन नदिन थप तयारी गरेको छ । प्रवक्ता ठाकुरले भने, ‘चुनावको समयमा अभाव नहोस् भनेर हामीले नियमित कोटामा १० प्रतिशत थप पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) जारी गर्ने निर्णय गरेका छौँ ।’

बजारमा अभावको हल्ला चल्नुमा केही प्राविधिक र ढुवानीगत कारण रहेको प्रवक्ता ठाकुरले प्रस्ट पारेका छन् । विशेषगरी काठमाडौँ उपत्यकामा धेरै ग्राहक रहेको ‘नेपाल ग्यास’जस्ता ठुला ब्रान्डका सिलिन्डर भारतीय ट्रान्सपोर्टरको प्राथमिकताका कारण १–२ दिन रोकिँदा बजारमा रोटेसन नमिल्ने र अभावजस्तो देखिने गरेको उनले प्रस्ट्याए ।

‘भारतमा माग बढ्दा ट्रान्सपोर्टरहरूले बढी भाडा पाउने रुट रोज्छन्, जसले गर्दा कहिलेकाहीँ नेपाल आउने बुलेट ढिलो हुन सक्छ,’ उनले भने, ‘कुनै एउटा ब्रान्डको ग्यास १–२ दिन नआउँदा त्यसका ग्राहकले अभाव महसुस गर्नु स्वाभाविक हो, तर यसलाई राष्ट्रिय अभाव भन्न मिल्दैन । अभाव छ भनेर हल्ला चल्नासाथ उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास होल्ड गर्न थाल्छन्, जसले वास्तवमै कृत्रिम अभाव सिर्जना गर्छ,’ उनले भने ।

उनले उपभोक्तालाई नआत्तिन र आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ ।

के भन्छन् उद्योगी ?

नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको दाबी गरिरहँदा उद्योगीहरूले भने चरम अभाव सुरु भएको बताएका छन् । निगमको दाबीविपरीत एक उद्योगीले भने बजारमा वास्तविक अभाव नै सुरु भएको बताएका छन् । जाडो याममा १० देखि १५ प्रतिशतले खाना पकाउने ग्यासको खपत बढ्ने गरे पनि आयात भने उल्टो घटेको ती उद्योगीको भनाइ छ ।

ग्यास अभावको मुख्य कारण भारतीय ढुवानीकर्ता (ट्रान्सपोर्टर) हरूले नेपालमा बोक्न नमान्नु हो । भारतीय आयल कर्पोरेसनले दिने ढुवानी भाडा नेपाल आयल निगमले दिनेभन्दा बढी हुँदा यो समस्या देखिएको छ, त्यसैले नाफा हेरेर भारतीय बुलेटहरू उतै चल्न रुचाउँछन् ।

‘अहिलेको माग धान्न दैनिक १०० बुलेट वा सोभन्दा बढी ग्यास भित्रिनुपर्ने हो, तर मुस्किलले ७०–७५ बुलेट मात्र आइरहेको छ,’ उद्योगीले भने, ‘मेरो आफ्नै ७ वटा उद्योग छन् । हरेक उद्योगमा मात्रै १५ देखि २० हजार सिलिन्डर अर्डर पेन्डिङ भइसकेको छ । डिलरले अर्डर गर्नु भनेको बजारमा माग हुनु हो, हामीले समयमा पठाउन सकेका छैनौँ ।’

एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले पनि जाडोका कारण माग बढेको तर आयात भने ह्वात्तै घटेकाले बजारमा अभाव देखिएको बताएका छन् । दैनिक ७५ देखि ८० बुलेट ग्यास आइरहेको जाडो सिजनका लागि यो पर्याप्त नभएको उनको भनाइ छ । ‘जाडोमा मागअनुसार आएको छैन,’ घिमिरेले भने, ‘माग धान्न दैनिक १०० बुलेट आसपास ग्यास आउनुपर्छ ।’

वास्तविकता के हो ?

घिमिरेका अनुसार ग्यास अभावको मुख्य कारण भारतीय ढुवानीकर्ता (ट्रान्सपोर्टर) हरूले नेपालमा बोक्न नमान्नु हो । भारतीय आयल कर्पोरेसनले दिने ढुवानी भाडा नेपाल आयल निगमले दिनेभन्दा बढी हुँदा यो समस्या देखिएको छ, त्यसैले नाफा हेरेर भारतीय बुलेटहरू उतै चल्न रुचाउँछन् ।

यस्तै नेपालको पहाडी बाटोमा गाडी चलाउन गाह्रो हुने र गाडीको मर्मत खर्च बढी लाग्ने हुनाले भारतीय चालकहरू नेपाल आउन मान्दैनन् । भारतको समथर बाटो (प्लेन रुट) उनीहरूका लागि सहज छ । भारतमा दुर्घटना हुँदा बीमा र अदालतको प्रक्रिया सहज छ, तर नेपालमा दुर्घटना हुँदा उद्योगी र ट्रान्सपोर्टरले नै झन्झट बेहोर्नुपर्ने अवस्था भएकाले ढुवानीकर्ता नेपाल आउन नमानेका घिमिरे बताउँछन् ।

अध्यक्ष घिमिरेले बरौनी रिफाइनरीमा विगत २–३ महिनादेखि प्राविधिक समस्या (मेन्टेनेन्स र क्वालिटी इस्यु) आइरहेकाले पनि लोडिङमा समस्या भएको बताएका छन् । साथै नेपालमा शनिबार र भारतमा आइतबार बिदा हुने तथा भारतका सार्वजनिक बिदाहरू (जस्तै २६ जनवरी) का कारण भन्सार र लोडिङको काम हप्तामा ४–५ दिन मात्र हुँदा आपूर्ति शृङ्खला टुट्न गएको उनको भनाइ छ ।

जाडो कम हुँदै गएपछि खपत घट्ने र अवस्था सामान्य बन्न सक्ने भए पनि अहिले भने भन्सारको तथ्याङ्कले नै आयात घटेको पुष्टि गर्ने घिमिरेले दाबी गरे ।

चालु आर्थिक वर्षको यो अवधिमा २ लाख ७४ हजार ८०५.११ मेट्रिक टन ग्यास आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । अघिल्लो आवको वर्ष अवधिमा २ लाख ६५ हजार ४५७.६८ मेट्रिक  टन ग्यास आयात भएको थियो । यसअनुसार अघिल्लो वर्षको तुलनामा भने आयात बढेको देखिन्छ, तर मासिक रूपमा भने आयात घटेको छ ।

चालु वर्षको पुसमा ४७ हजार ४६०.४३ मेट्रिक टन ग्यास आयात भएको उल्लेख छ । अघिल्लो वर्षको पुसमा ४७ हजार ६८३.२४ मेट्रिक टन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको पुसको तुलनामा यो वर्षको पुसमा २२२.८१ मेट्रिक टन कम आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप