शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाकी अर्थतन्त्रप्रति उपभोक्ताको विश्वास खस्किँदै

बुधबार, १४ माघ २०८२, ११ : ४४
बुधबार, १४ माघ २०८२

सारांश

  • अमेरिकामा उपभोक्ता आत्मविश्वासमा तीव्र गिरावट आएको छ, जुन सन् २०१४ यताकै तल्लो स्तरमा पुगेको छ।
  • भूराजनीतिक तनाव, बढ्दो महँगी र व्यापार युद्धका कारण उपभोक्ताको विश्वास घट्दै गएको छ।
  • मूल्यवृद्धि, इन्धनको उच्च मूल्य र रोजगारीप्रतिको निराशाले उपभोक्तामा नकारात्मक भावना बढाएको छ।

वासिङटन डीसी । अमेरिकामा उपभोक्ता आत्मविश्वासमा तीव्र गिरावट आएको छ । भूराजनीतिक तनाव, बढ्दो महँगी तथा राष्ट्रपति डोनल्ड ट्रम्पले एकपछि अर्को देशसँग व्यापार युद्ध छेडिरहेको अवस्थामा अर्थतन्त्रप्रति उपभोक्ताको विश्वास खस्किँदै जनवरीमा २०१४ यताकै तल्लो स्तरमा पुगेको छ ।

‘द कन्फरेन्स बोर्ड’को मासिक सर्वेक्षणअनुसार उपभोक्ता आत्मविश्वास सूचकांक जनवरीमा ९ दशमलव ७ अंकले घटेर ८४ दशमलव ५ अंकमा झरेको छ । यो सन् २०१४ को मे महिनामा देखिएको ८२ दशमलव २ अंकको स्तरसँग नजिक छ । यो सूचकांक ८० भन्दा तल झर्नुलाई आर्थिक मन्दीको संकेतका रूपमा लिइन्छ ।

जनवरीमा उक्त सूचकांक ९१ दशमलव १ अंकमा रहने अनुमान डेटा कम्पनी फ्याक्टसिटले गरेको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरूले गरेका थिए । तर सर्वेक्षणका नतिजाले हालको आर्थिक अवस्था र भविष्यप्रतिको अपेक्षा दुवैमा उपभोक्ता मनोबलमा ठूलो गिरावट आएको देखाएको छ ।

अहिलेको आर्थिक अवस्था मापन गर्ने सूचकांक ११३ दशमलव ७ अंकमा झरेको छ भने आगामी छ महिनाको अर्थतन्त्र, आय र रोजगारीको अवस्थाबारे उपभोक्ताको अपेक्षा मापन गर्ने सूचकांक ६५ दशमलव १ अंकमा सीमित भएको छ ।

मूल्यवृद्धि, इन्धन तथा किराना सामानको उच्च मूल्य, रोजगारीप्रति निराशावादी दृष्टिकोणलगायत कारणले उपभोक्तामा गहिरो नकारात्मक भावना फैलिएको विशेषज्ञहरूले बताएका छन् । सर्वेक्षणका प्रतिक्रियामा मूल्य, व्यापार नीति, राजनीति, स्वास्थ्य बीमा तथा सम्भावित युद्धजस्ता विषयहरू बढी उल्लेख भएका छन् ।

यसले विशेषगरी मध्यम तथा तल्लो आय वर्गका परिवारहरू आफ्ना खर्च र भविष्यप्रति असन्तुष्ट रहेको संकेत गरेको छ । उपभोक्ता आत्मविश्वासमा आएको यति ठूलो गिरावटले नीति–निर्माताहरूलाई महँगी नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक सुरक्षा सुदृढीकरणतर्फ ध्यान दिन थप दबाब पर्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप