बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सुरक्षा/अपराध

उपत्यकामा लुट आतंक : मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापेर गहना लुट्ने शैली

तीन महिनादेखिको लुट आतंकको अन्त्य
बिहीबार, १५ माघ २०८२, १९ : ३९
बिहीबार, १५ माघ २०८२

सारांश

  • काठमाडौंमा मोटरसाइकलमा आएर लुटपाट गर्ने समूहलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो, मुख्य योजनाकार घाइते।
  • पछिल्लो तीन महिनामा ३६ वटा लुटपाट घटना भएपछि प्रहरीले विशेष अपरेसन चलाएर ११ जनालाई पक्राउ गर्यो।
  • पक्राउ परेका समूहले सुनका गहना र नगद लुटेको र एकजना पीडितलाई मार्ने धम्की दिएको खुल्यो।

काठमाडौँ । मोटरसाइकलमा तीन जना चढेर सुनका गहना तथा नगद लुट्ने र भाग्ने घटना दिनहुँ हुन थालेपछि प्रहरी हैरान बनेको थियो । पछिल्लो तीन महिनामा मध्यराति १२ बजेदेखि बिहान ४ बजेसम्म यस्ता घटना लगातार हुन थालेका थिए । 

सीसीटीभी फुटेज हेर्दा मोटरसाइकल नम्बर देखिँदैनथ्यो, किनभने लुटेराहरूले नम्बर प्लेटमा हिलो छ्यापेर चलाएका हुन्थे । मोटरसाइकलमा ट्रिपल लोड हिँड्ने ती लुटेराहरू लुटपाट गरेपछि राइड सेयरिङ प्रयोग गर्थे र प्रहरीलाई छक्याउँथे । 

एकान्तमा हिँडेका महिला र रातको समयमा व्यवसाय गर्नेहरू लुटेराको निशानामा पर्ने गरेका थिए । माघ १४ मा मध्यरात जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले लुटेराहरूविरुद्ध अपरेसन चलाए । काठमाडौँ परिसरबाट खटिएको टोली, प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोकाको नेतृत्वको टोली तथा गौशाला, महाराजगञ्ज र स्वयम्भू वृत्तबाट खटिएका प्रहरीले विभिन्न ठाउँमा घेराबन्दी गरे । 

बुधवार मध्यराति मुलपानीमा गोली चलाएर लुटेरा समूहका मुख्य योजनाकार विनय तामाङलाई नियन्त्रणमा लिइएको काठमाडौंका एसएसपी रमेश थापाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनले भने, ‘शंकास्पद मोटरसाइकल रोक्न खोज्दा प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि जवाफी फायरिङ गर्दा उनको दायाँ खुट्टामा गोली लागेको छ ।’ 

विनय मात्रै पक्राउ परेनन्, उनको समूहका १० जना पक्राउ परेका छन् । उनीहरू पक्राउ परेसँगै तीन महिनादेखिको काठमाडौंमा रहेको लुट आतंकको अन्त्य भएको छ । काभ्रेको भुम्लु घर भई कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानीमा बस्ने २३ वर्षीय विनय २०७९ मा चोरी र २०८२ मा डाँकाचोरी मुद्दामा पक्राउ परेका थिए । जेनजी प्रदर्शन हुँदा भदौ २४ मा उनी प्रहरी वृत्त महाराजगञ्जबाट भागेको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेमा उनकै समूहमा आबद्ध सिन्धुलीका २४ वर्षीय आयन माझी, सिन्धुपाल्चोकका ३० वर्षीय फुर्बा तामाङ, रामेछापका २२ वर्षीय विशाल तामाङ, काभ्रेका २९ वर्षीय पेमा तामाङ उर्फ टाउके, सिन्धुलीका ३२ वर्षीय सबिन माझी, मोरङका २३ वर्षीय मनिष रसाइली र खोटाङका २८ वर्षीय विदुर विश्वकर्मा रहेका छन् । 

त्यस्तै काभ्रेको भुम्लु घर भएका १८ वर्षीय राजीव भण्डारी र चौंरीदेउराली घर भएर कपन बस्दै आएका २० वर्षीय सलोन तामाङ पनि पक्राउ परेका छन् । उनीहरूविरुद्ध तीन महिनामा ३६ वटा लुटपाटको उजुरी प्रहरीमा आएको छ । बिहीबार मात्रै २७ वटा जाहेरी आएको र चारवटा जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको एसएसपी थापाले जानकारी दिए । 

भण्डारी पक्राउ परेपछि खुल्यो पोल

काठमाडौँ जिल्लाका सबै प्रहरी युनिटहरूलाई बिहानको समयमा हुन सक्ने लुटबारे ‘अलर्ट’ राखिएको थियो । मंगलबार सो समूह स्वयम्भू क्षेत्रमा लुटपाट गरी भाग्दै थियो । बिहान सखारै भएको घटनाबारे जानकारी पाउनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएका सादा पोसाकका प्रहरी तत्काल घटनास्थलमा पुगे । एकजना लुटेरा मोटरसाइकल चढ्न भ्याएनन् । दौडिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेर सोधपुछ गर्‍यो । ती युवक थिए, काभ्रेको भुम्लु घर भएका १८ वर्षीय राजीव भण्डारी । उनको पृष्ठभूमि हेर्दा २०८२ कार्तिक २७ मा भक्तपुरमा चोरी मुद्दामा पक्राउ परेको र मंसिर १७ मा काठमाडौंबाटै मोटरसाइकल चोरी मुद्दा चलेको देखिएपछि अनुसन्धान अधिकृतहरूले उनी लुटपाटमा संलग्न भएको यकिन गरे ।

उनको बयानका आधारमा थप ९ जना पक्राउ परेका हुन् । 

आरोपीहरूले एकजना पीडितको तीन तोलासम्म सुनका गहना लुटेको अनुसन्धानबाट खुलेको छ । जेनजी प्रदर्शनपछि एकजना पुरुष जोरपाटीस्थित दक्षिणढोका पुलमा हिँड्दै थिए । बिहानको समयमा उनलाई देखेर मोटरसाइकल रोकेका लुटेराहरूले भने, ‘बोलेमा मारेर खोलामा फाल्दिनेछौँ ।’ 

उनीसँग १५ हजार नगद थियो । बिहीबार जिल्ला प्रहरी परिसरमा भेटिएका ती पीडितले भने, ‘मेरो घाँटी अठ्याएर गोजीबाट नगद लिएर भागे ।’ यस्ता घटना पछिल्लो तीन महिनामा ३६ वटा भएका छन् । लुटमा संलग्न पेमा तामाङ ट्याक्सी चालक हुन् । दिनभर बागमती प्रदेश–०१–०० ज ८७६६ नम्बरको ईभी ट्याक्सी चलाउने उनी रातभर लुटपाटमा हिँड्ने गरेको एसएसपी थापाले जानकारी दिए । 

आयन माझीसँग फोर्ड कम्पनीको फिगो कार छ । बा१२च ७७०१ नम्बरको कार चलाएर उनले सुनका गहना लगाएका मानिसको रेकी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले ट्याक्सी र कार दुवै बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप