शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन

‘ममाथि ठुलो अन्याय भयो’

मुटुमाथि ढुङ्गा राखेर भूपेन्द्रको उम्मेदवारी फिर्ता
शुक्रबार, १६ माघ २०८२, १२ : ००
शुक्रबार, १६ माघ २०८२

सारांश

  • नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कालिकोटबाट चुनाव लड्न खोज्दा टिकट पाएनन्।
  • पार्टीभित्रको शक्ति संघर्ष र विशेष महाधिवेशनका कारण शाही टिकटबाट वञ्चित भए, पछि उनले उम्मेदवारी फिर्ता लिए।
  • शाहीले पार्टी सभापति गगन थापाले आफूलाई अन्याय गरेको र गुटबन्दीको सिकार बनाएको आरोप लगाए।

सुर्खेत । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाही प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कालिकोटबाट उम्मेदवारका लागि आकाङ्क्षी थिए । निर्वाचन घोषणासँगै उनी कालिकोटका विकट गाउँ–गाउँसम्म पुगेर मतदाता तथा पार्टीका स्थानीय नेता–कार्यकर्तासँग भेट गर्दै सक्रियता बढाउँदै लगेका थिए ।

जिल्लाबाट उम्मेदवारका लागि सिफारिस भए पनि बिचमा पार्टीभित्रको शक्ति सङ्घर्ष बढ्दै विशेष महाधिवेशन आह्वान भएपछि आन्तरिक ध्रुवीकरण बढ्यो । विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन भयो तर शाही विशेष महाधिवेशनको पक्षमा नखुलेकै कारण टिकट पाउनबाट वञ्चित भए ।

विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाले कालिकोटमा आफू निकट मानिने हर्षबहादुर बमलाई टिकट थमाए । त्यसपछि शाहीले कालिकोटबाटै स्वतन्त्र उम्मेदवारी दर्ता गराए । पछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीकै आधिकारिक उम्मेदवारलाई सघाउने निधो गरेका छन् ।

कालिकोट माओवादीको आधार क्षेत्र हो । यहाँ ६० को दशकपछिका सबैजसो चुनाव माओवादी (हाल नेकपा)ले नै जित्दै आएको छ । ०७० को चुनावमा ३२ वर्षकै उमेरमा उम्मेदवार रहेका भूपेन्द्र पराजित भए । सो क्षेत्रबाट माओवादीका महेन्द्रबहादुर शाही निर्वाचित भए । ०७४ मा पनि वाम गठबन्धनका तर्फबाट माओवादीका दुर्गबहादुर रावतले २१ हजार ११२ मत पाउँदा भूपेन्द्र एक्लैले १६ हजार ४०७ मत पाए । उनले ०७० को तुलनामा ०७४ मा आफ्नो मत ह्वात्तै बढाए ।

०७९ को चुनावमा उनी पुनः उम्मेदवार बन्न चाहन्थे तर, वाम—लोकतान्त्रिक गठबन्धन हुँदा माओवादीका महेन्द्रबहादुर शाहीले टिकट पाए र निर्वाचित समेत भए ।

०७८ मङ्सिरमा भएको कांग्रेस कर्णाली प्रदेशको अधिवेशनमा पनि शाही पराजित भए । प्रदेश सभापतिका लागि लडेका उनी संस्थापन पक्षका ललितजंग शाहीसँग पराजित भए । तरुण दलको महामन्त्री भइसकेका शाहीले पार्टी राजनीति र संसदीय चुनावमा पटक–पटक असफलता झेल्दै आए ।

उनी भन्छन्, ‘यो पटक चुनाव जित्ने माहौल थियो, त्यो बनाइएको पनि थियो तर, पार्टीले टिकट दिएन ।’ जेनजी युवादेखि अन्य दलका युवा नेताहरूको समर्थन आफूलाई रहेको अवस्थामा समेत पार्टीले टिकट नदिएका कारण निराश भएको उनले बताए ।

‘समग्र जित्नसक्ने अवस्था हुँदाहुँदै पनि टिकट नदिनु भनेको गम्भीर षड्यन्त्र हो,’ रातोपाटीसँग शाहीले भने, ‘ममाथि ठुलो अन्याय भयो ।’

कांग्रेस सभापति गगनकुमार थापाले आफूमाथि निषेधको राजनीति गरेका कारण टिकट पाउन नसकेको उनको बुझाइ छ । साथै, आफू गुटको सिकार भएको उनलाई लागेको छ । थापा र शाहीबिच नेविसंघको राजनीतिदेखि नै सम्बन्ध सुमधुर थिएन ।

उनीहरूबिच नेविसंघमै हुँदादेखि कुरा मिल्दैनथ्यो, जसका कारण टिकट वितरणमा समेत गगनले आफूमाथि इगो साँधेको उनी बताउँछन् ।

शाहीका अनुसार विद्यार्थी राजनीतिकालमा नेविसंघमा दुई धार थिए । एकातिर गोविन्द भट्टराई, केशव सिंह, यादव पण्डित, रञ्जित कर्ण, भूपेन्द्रजंग शाही लगायतको एउटा टिम थियो भने अर्को टिममा विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेलहरू थिए । पछि पार्टी राजनीतिमा आउँदा गगन कृष्ण सिटौलाको टिममा लागे भने भूपेन्द्रजंगहरू रामचन्द्र पौडेलको टिममा । १४ औँ महाधिवेशनमा शाही शेखरको टिमबाट महामन्त्रीमा लड्ने तयारीमा थिए, तर बिचैमा धोका भएको उनको भनाइ छ ।

शाहीले भने, ‘कांग्रेसबाट कालिकोटमा मैले जितेर गए पनि त गगनजीलाई फाइदै हुन्थ्यो नि । उहाँलाई के घाटा हुन्थ्यो र ? वातावरण हुँदाहुँदै पनि अन्याय गरियो । पार्टीलाई पनि क्षति हो ।’

टिकट नपाएपछि देशभरका साथीहरूले अन्यायका विरुद्धमा स्वतन्त्र भए पनि उठ्नुपर्छ भनेर दबाब दिएको उनी सम्झन्छन् । कांग्रेस सभापति गगनकुमार थापाले दास र लासहरूको पार्टी होइन भने पनि टिकट वितरणमा ठिक उल्टो नीति अपनाएको उनको भनाइ छ ।

‘दास र लासहरूको पार्टी होइन पनि भन्ने, तर पार्टीभित्र प्रश्न गर्नेहरूको घाँटी निमोठ्ने काम भयो,’ उनले भने, ‘लोकतान्त्रिक पार्टीमा फरक मत पनि हुन्छ, नेताको जयजयकार गर्नेहरूलाई मात्रै समर्थन गर्ने, प्रश्न गर्नेहरूलाई घाँटी निमोठ्ने काम गर्ने हो भने यो लोकतान्त्रिक पार्टी भएन नि !’

  • सधैँ पार्टी रूपान्तरणको अग्रभागमा रहेका शाही

भूपेन्द्रजंग शाही सधैँ पार्टी रूपान्तरणको अग्रभागमै थिए । उनले अघिल्लो वर्ष मेची–महाकाली अभियान नै चलाए । पार्टी रूपान्तरणका लागि पटक–पटक सार्वजनिक मञ्चहरूमा आवाज उठाउनेमध्येका प्रमुख नेता हुन् उनी । ०८० चैतमा कर्णालीमा ‘कांग्रेस संगठन सुदृढ यात्रा’ थालनी गरेका उनले सल्यानको कपुरकोटदेखि यात्रा सुरु गरी हुम्ला सिमिकोट पुगेर अभियान सम्पन्न गरे ।

नेविसंघको तीन पटक केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष भइसकेका उनी युवा माझ लोकप्रिय छन् । राजनीतिसँगै साहित्य र सामाजिक सेवामा सक्रिय रहेका शाही कर्णालीमा जन्मिएर कठिन संघर्षकै कारण केन्द्रीय राजनीतिमा स्थापित नेता हुन् ।

619679235_3389439547898747_5521860058827631472_n

कोरोनाकालमा १० हजार व्यक्तिलाई निःशुल्क खाना वितरण अभियान सञ्चालन गरेका उनले सिन्धुपाल्चोकमा बाढीपहिरो पीडितलाई सहयोगसमेत गरे । उनी कांग्रेस रुपान्तरण र युवाहरूको बलियो उपस्थितिका लागि सङ्घर्ष गर्दै आएका नेता पनि हुन् । उनले ०८० मा सार्वजनिक रूपमै भनेका थिए– महामन्त्रीहरूले विशेष महाधिवेशन बोलाउने हिम्मत गर्नुपर्छ ।

तर यो पटक तत्कालीन महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशनमा उनी खुलेनन् । ‘पार्टी रूपान्तरणको एजेण्डा नै हामीले उठाएको हो । जेनजी आन्दोलनपछि पनि हामीले पार्टी रुपान्तरण गर्नु पर्छ भनेकै हो, तर लोकतन्त्र नै संकटमा पर्‍यो, कांग्रेस नै संकटमा पर्‍यो,’ उनले भने । निर्वाचन नजिक आइसकेकाले पार्टीमा द्वन्द्व गर्नु हुँदैन भन्ने पक्षमा आफू उभिएको उनी बताउँछन् ।

‘रुपान्तरण गर्नुपर्छ तर, हाइज्याक तरिकाले पार्टी कब्जा गर्ने होइन,’ शाहीले भने, ‘स्वाभाविक रूपमा विधि, प्रक्रियामार्फत गर्नुपर्छ भन्ने पक्षमा म हो ।’

आज जे कुरा भयो पार्टीभित्र, यसले पार्टीमा कतै न कतै मनमुटावको वातावरण कायम रहेको शाही बताउँछन् । ‘ठिक छ, गगनजी सभापति बन्नुभयो, तर शेरबहादुर देउवा लगायतका धेरै अग्रज नेताहरू चाहिँ अपमानित फिल गरेर बसिरहनु भएको छ नि,’ उनले भने, ‘यस्तो कुराले चुनावमा असर गर्नुहुँदैन । यसमा चाहिँ अलिकति गम्भीर बनौँ भन्ने कुरा थियो मेरो ।’

bhupendra

  • मुटुमाथि ढुङ्गा राखेर उम्मेदवारी फिर्ता

गगन थापाहरूले आफूमाथि जुन हदसम्मको अन्याय गरेका थिए, त्यसका विरुद्ध विद्रोह गर्न एकदमै जरुरी रहेको शाहीको तर्क छ । ‘व्यक्तिगत ढंगले म भएँ कि भइनँ भन्ने हैन, जुन हदसम्मको अन्याय गरिएको थियो, त्यसको विरुद्धमा चाहिँ एउटा विद्रोहको नेतृत्व गर्न जरूरी थियो,’ उनले भने । तर, एउटा सांसद बन्नका लागि सबै कुरा बिर्सेर अगाडि बढ्नुभन्दा मुटुमाथि ठुलो ढुङ्गा राखेर उम्मेदवारी फिर्ता लिन बाध्य भएको उनी बताउँछन् ।

‘३५ वर्ष मेरो यो पार्टीमा रगत बगेको छ, जीवनका ऊर्जाशील समय यसैमा बितेको छ,’ उनले भने, ‘यो सबै कुरा छाडेर सांसद पद केही ठुलो कुरा होइन भन्ने सोचेँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप