मधेस आन्दोलनको 'इपिसेन्टर'मा अरू दललाई भारी पर्न सक्छ रास्वपा
सारांश
- सिरहा क्षेत्र नम्बर १ मा आसन्न निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।
- मधेस आन्दोलनको केन्द्र मानिने यस क्षेत्रमा एमाले, कांग्रेस र रास्वपाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ।
- पछिल्लो समय रास्वपाको प्रभाव बढेको र यसले पुरानो दललाई चुनौती दिने सम्भावना रहेको विश्लेषण गरिएको छ।
काठमाडौँ । सिरहा क्षेत्र नम्बर १ मा पर्छ लहान । जसलाई मधेस आन्दोलनको 'इपिसेन्टर' मानिन्छ । पहिले नेपाली कांग्रेसको पकड मानिने सिरहा-१ मा पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल (हाल जसपा नेपाल)का लक्ष्मण मेहताले जितेका थिए ।
त्यसपछिका चुनावमा कांग्रेस र एमालेले नै आफ्नो वर्चस्व कायम राखेका छन् । २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका पद्मनारायण चौधरी र २०७४ को प्रतिनिधिसभामा निर्वाचनमा कांग्रेसकै प्रदीप गिरि विजयी भए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका रामशंकर यादव विजयी भएका थिए ।
एमालेका रामशंकरलाई जिताउन जसपा नेपालको पनि साथ थियो । अघिल्लो चुनावमा एमाले र जसपा नेपालले गठबन्धन गरेका थिए । २०७९ को चुनावमा रामशंकर यादवले २९ हजार ४६२ मत ल्याउँदा कांग्रेस २७ हजार ३७९ मत ल्याउँदै दोस्रो भएको थियो भने जनमत पार्टी तेस्रो भएको थियो । त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३०४ मत मात्रै ल्याएको थियो ।
आगामी फागुन २१ गतेको निर्वाचनका लागि यो क्षेत्रमा जेनजी आन्दोलनका अगुवा बब्लु गुप्ता रास्वपाबाट उम्मेदवार बनेका छन् । उनी नागरिक सरकारमा युवा तथा खेलकुदमन्त्री समेत थिए । अहिले रास्वपाको लहर चलिरहेका बेला गुप्ता पुराना दलमाथि भारी पर्ने आँकलन गर्न थालिएको छ ।
यसपटक पनि एमालेबाट रामशंकर यादव उम्मेदवार बनेका छन् भने कांग्रेसले नयाँ उम्मेदवार उठाएको छ । सिरहा-१ मा कांग्रेसका रामसुन्दर चौधरी चुनाव लड्दैछन् । जसपा नेपालबाट सत्यनारायण यादव, जनमत पार्टीबाट रामस्वरुप चौधरी, नेकपाबाट रामचन्द्र यादव र श्रम संस्कृतिबाट डा. जीवछ ठाकुर उम्मेदवार छन् ।
यस्तै राप्रपाबाट बासुदेव साह, नेमकिपाबाट सिरिया पासवान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बन्द्रीनारायण चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट प्रवीणकुमार चौधरी, नेपालका लागि नेपाली पार्टीबाट रामकुमार साह, उज्यालो नेपाल पार्टीबाट ताराकुमारी चौधरीले उम्मेदवारी दिएका छन् ।
मधेस आन्दोलनको उद्गमस्थल रहेका कारण सिरहा-१ मा कांग्रेस र एमालेको मुख्य प्रतिस्पर्धी जसपा नेपाल हुनसक्छ । तर यसपटक रास्वपा सबैलाई भारी पर्न सक्छ । जसपा नेपालले यसपटक सत्यनारायण यादवलाई उम्मेदवार बनाएको छ ।
मधेस आन्दोलनअघि सत्यनारायण एमालेमा थिए । युवा संघमा महेश बस्नेत अध्यक्ष हुँदा सत्यनारायण उपाध्यक्ष थिए । मधेस आन्दोलनपछि उनी तत्कालीन फोरम नेपाल (हाल जसपा नेपाल)मा प्रवेश गरेका थिए । लामो समय त्यसैमा उनले काम गरे । उनी २०७९ मा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादीबिच एकता भएपछि सत्यनारायण पनि जसपा नेपालमा प्रवेश गरे ।
‘हल्लाको हिसाबले मेरो प्रतिस्पर्धा रास्वपासँग छ, हल्लाको आधारमा नै मतदान हुने हो भने त्यो दलसँग कडा प्रतिस्पर्धा हुन्छ । यदि संगठनको हिसाबले मत आउने हो भने जसपा नेपाल सबभन्दा अगाडि हुन्छ,’ यादव दाबी गर्छन् ।
सिरहा–१ मा सबभन्दा बढी मत यादव, दोस्रो मत थारू र तेस्रो मत कोइरी समुदायको छ । यादवको मतमा सत्यनारायण यादवको दाबी रहेको देखिएको छ । तर यादव समुदायका मात्र तीन जना उम्मेदवार छन् । दोस्रो मत रहेको थारू समुदायबाट तीन जना उम्मेदवार छन् ।
यसअघि एमालेबाट चुनाव जितेका रामशंकर यादवप्रति जनता रुष्ट रहेको यो क्षेत्रमा टिप्पणी सुनिन्छ । उनले गत चुनाव जितेपनि निर्वाचन क्षेत्रमा खासै उपस्थिति नदेखाएको र काम नगरेको गुनासो छ । पछिल्लो समय एमाले नेताहरुले दिएको अभिव्यक्तिको पनि असर पर्नसक्ने देखिन्छ । तर संगठनको हिसाबले क्षेत्रमा एमाले बलियो नै देखिएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेलेले यो क्षेत्रमा पर्न चारवटा पालिकामा दुईवटा जितेको छ । अन्य केही वडाहरु पनि जितेको छ ।
एमाले उम्मेदवार रामशंकर यादव भन्छन्, ‘जेनजी आन्दोलनपछि एमाले झन् बलियो भएको छ । एमालेका कारण देशमा थुप्रै परिवर्तन भएका कारण बुझेर नै जनता एमालेतिर तानिएका छन् ।’
यस्तै दाबी जसपा नेपालका नेता रोशन गुप्ताको पनि छ । ‘रास्वपाको बारेमा हल्ला बढी छ तर संगठन छैन, हल्लाको भरमा त्यति धेरै मत आउँदैन,’ उनी भन्छन्, ‘मत आउने संगठनको आधारमा नै हो, जसको संगठन यहाँ बलियो छ उसले नै जित्ने हो ।‘
सिरहा–१ मा कांग्रेसको संगठन पनि निकै राम्रो छ । तर यसपटक पार्टीको आन्तरिक विवादको असर क्षेत्रसम्म परेको छ । पद्मनारायण चौधरीले टिकट नपाएपछि उनी रुष्ट छन् । उनले कसलाई सहयोग गर्छन् भन्ने कुराले पनि कांग्रेसको जितहारमा फरक पार्ने बताइन्छ । उनी २०७९ को चुनावमा दोस्रो स्थानमा थिए ।
कांग्रेसको विशेष महाधिवेशनपछि गगन थापा सभापति बनेका छन् । पद्मनारायण चौधरी देउवा पक्षमा छन् । अहिले कांग्रेसबाट उम्मेदवार बनेका रामसुन्दर चौधरी गगन पक्षका हुन् ।
यता, रास्वपाका बब्लु गुप्ताको पारिवारिक राजनीतिक पृष्ठभूमि कांग्रेस हो । उनका बुबा विष्णु गुप्ताले हालै मात्र कांग्रेसबाट राजीनामा दिएका छन् । विष्णु गुप्ता कांग्रेसको सिरहा जिल्ला उपसभापतिसम्म भइसकेका व्यक्ति हुन् । उनी अहिले छोरालाई जिताउन चुनावी अभियानमा सक्रिय छन् ।
‘कांग्रेसको अधिकांश मत मेरो छोरा बब्लु गुप्तालाई जानेछ,’ गुप्ता दाबी गर्छन् । आफू लामो समय कांग्रेसमा काम गरेका कारण अहिले पनि थुप्रै नेता कार्यकर्ता आफ्नो पक्षमा रहेको उनी दाबी गर्छन् । पारिवारिक राजनीतिक पृष्ठभूमि कांग्रेस भएपनि बब्लु भने पार्टीमा लागेका थिएनन् । उनी सामाजिक अभियन्ताको रूपमा सक्रिय रहँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण