बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विचार

चुनावमा उग्र राष्ट्रवाद होइन, परिपक्व राजनीति

शनिबार, १७ माघ २०८२, १५ : ००

सारांश

  • लेखले मौनताको महत्व र राजनीतिमा यसको प्रभावबारे प्रकाश पारेको छ।
  • चुनावी माहौलमा झुट र भ्रम फैलाउने प्रवृत्ति र यसको प्रतिरोधबारे चर्चा गरिएको छ।
  • विदेशी हस्तक्षेपको हल्ला र नयाँ पुस्ताको चेतनाबारे विश्लेषण गरिएको छ।

एक जना आध्यात्मिक गुरुले भन्नुभएको थियो , “मौनता आध्यात्मिक अनुशासन हो । " राजनीतिमा पनि मौनता कहिलेकाहीँ वाणी भन्दा प्रभावशाली हुन्छ।   हाम्रो समाजमा विभिन्न प्रकारका मानिस छन्। एकथरी धेरै बोल्ने, मै हुँ’, म मात्रै जान्दछु, अरूलाई केही थाहा छैन भन्नेहरू। अर्काथरी आफ्नो स्वार्थका लागि मात्र बोल्ने, वितर्क गर्ने, समाजलाई गुमराहमा राख्न सहीलाई झुटो र झुटोलाई सही भन्नेहरू । तेस्रो थरी ती दुवै पक्षका कुरा सुनेर आफ्नो विचार बनाउनेहरू। वर्तमान परिस्थितिमा चुनाव लक्षित केही व्यक्तिहरू भने झुटलाई सयौँ पटक सही हो भनेर चिच्याएर,  घाँटी सुक्ने  गरी कराएर भन्यो भने  सही बनाउन सकिन्छ वा भ्रम सिर्जना गर्न सकिन्छ भनेर लागि परेको छन् ।

केही व्यक्तिहरू "नङ्गा नाचे हजार दाउ" भन्ने सोच लिएर मैदानमा उत्रिएका छन्। जोडतोडले वाक युद्ध  चलाइराखेका छन् । "आयो आप गयो झटारो" को रूपमा कार्यकर्ताहरू प्रस्तुत भइरहेका छन् । केही उम्मेदवारहरूलाई कसैको विषयमा केही राम्रो कुरा बोलिदिनुस् भन्दा एक मिनेट पनि बोल्न सक्दैनन्, तर कसैका बारे नकारात्मक कुरा गर्नुपरे वा कसैलाई  गाली गर्नु परे  घन्टौँ  सम्म बोल्न सक्छन्। गाली गर्नलाई सोच्नु पर्दैन र अध्ययन पनि गर्नु पर्दैन, बरु यसमा आफूलाई क्रान्तिकारी देखिएको ठान्छन्। केही वर्ष यता हाम्रो समाजलाई नकारात्मक कर्मको भण्डार बनाइएको छ र हामीलाई  यही संस्कारमा हुर्किन बाध्य पारिँदैछ। यी सबै कुरा बुझी, नागरिकहरूले आफैबाट सकारात्मक परिवर्तन  सुरु गरेमा मात्र समाज का यस्ता समूहहरू विलय भएर जान्छन् ।

गिरिजाप्रसाद कोइरालाका राम्रा–नराम्रा बानीमध्ये एउटा बानी अत्यन्त राम्रो थियो—उहाँ कम बोल्नुहुन्थ्यो। मिडियामा आउन रुचाउनु हुँदैनथ्यो, मिडियासँग धेरै अन्तरक्रिया पनि गर्नु हुँदैनथ्यो। त्यसैले गिरिजाबाबुको अन्तर्वार्ता आउँदै छ भन्ने खबर आयो भने प्रत्येक नागरिक उत्सुकतापूर्वक पर्खेर बस्थे—उहाँले के बोल्नुहुन्छ भनेर। उहाँ विराटनगर जानुभयो भने पनि अब गिरिजाबाबुले के राजनीतिक कुरा गर्दै हुनुहुन्छ भन्ने जिज्ञासा देशभर फैलिन्थ्यो। जथाभाबी नबोल्ने र कम बोल्ने भएकाले उहाँको बोलीमा वजन थियो।

माओवादीसँग शान्ति वार्ता चलिरहेको बेला उहाँ र प्रचण्डबिच फाटो ल्याउने उद्देश्यले केही समूहले गिरिजाबाबुलाई कुरा लगाउने गर्थे, अनि प्रचण्डले तपाईंका बारेमा यो भने, त्यो भने भनेर, वार्ता बिथोल्न खोज्थे। त्यसको जवाफमा गिरिजाबाबु भन्नुहुन्थ्यो, प्रचण्डले बाहिर के भन्छन् मलाई थाहा छैन, मेरो सामुन्ने त्यस्तो केही भन्नुभएको छैन। योभन्दा उत्तम जवाफ के हुन सक्छ ?  यो राजनीतिक परिपक्वताको उदाहरण हो।

कुनै बेला शेरबहादुर देउवाले गगन थापालाई लक्षित गर्दै भन्नुभएको थियो—“धेरै बोले आफैँ सिद्धिन्छ, कम बोले अरू सिद्धिन्छ।” हुनसक्छ त्यसैले उहाँले  देशलाई कसरी अगाडि बढाउने भन्ने विषयमा राजनैतिक बहस अन्तर्वार्ता वा महत्त्वपूर्ण सार्वजनिक सम्बोधन नै नगरी चुपचाप नेपाली कांग्रेसको सभापतिको कार्यकाल पूरा गरी बिदा लिनुभयो। उहाँको यो राजनैतिक शैली सही या गलत भएको कुराको मूल्याङ्कन जनताले नै गर्नेछन् ।

सम्भवतः यी दुवै नेताको अनुभवलाई आत्मसात् गर्दै बालन शाहले पनि कम बोल्ने नीति अपनाउनुभएको हुन सक्छ।

प्रधानमन्त्रीका उम्मेदवारहरूबिच बहस गराउनु राम्रो कुरा हो—यसमा कुनै विवाद छैन। तर कुनै नेताले बहस गर्दिनँ भने भन्दैमा बहस नै रोक्नु र बहसमाथि नै बहस गर्नु गलत हो। एउटा व्यक्तिले बहस गर्दैन भन्दैमा प्रश्न मर्नु हुँदैन। प्रश्नकर्ताले प्रश्न सोध्न छोड्नु हुँदैन। प्रश्न मरे प्रजातन्त्र मर्छ। त्यसैले अन्य प्रधानमन्त्रीका उम्मेदवारहरूलाई ल्याएर बहस गराउनुस्—प्रजातन्त्रलाई जीवित राख्नुस्।

 तर आजको वास्तविकता के हो भने, अधिकांश जनता बहस सुन्ने पक्षमा छैनन्, किनकि कसले के बोल्छ भन्ने कुरा उनीहरूलाई पहिले नै थाहा छ। बहसको क्रममा  प्रश्न गर्दा जसले जे प्रश्न गरिदिए पनि हुन्छ, प्रश्न गर्नु जस्तो सजिलो केही छैन, जवाफदेहिता केही हुँदैन । तर विडम्बना, हाम्रा समाज भने बिना जबाफदेहीताका त्यस्ता  प्रश्नकर्ताहरूलाई महान् ठान्छन्।

कुनै नेताले सार्वजनिक बहस किन गरेन, गर्नुपर्थ्यो कि पर्दैनथ्यो भन्ने प्रश्नका साथै जेनजीको हत्यारा को हो, सिंहदरबार किन जल्यो र कसले जलायो, यी घटनाहरूको जबाफदेहिता कसको — आदि सबै प्रश्नहरूको उत्तर आगामी निर्वाचनमा जनताले भोटमार्फत दिनेछन्। 

पुराना पार्टीहरूसँग जनताको घरदैलोमा लिएर जाने ठोस एजेन्डा नभएकाले उनीहरू विदेशी हस्तक्षेपको कुरा उठाइरहेका छन् । आगामी चुनावमा विदेशीले सहयोग गरेको पार्टी वा उम्मेदवारले जितेको खण्डमा  विदेशीको कठपुतली सरकार बन्नेछ भनेर अनर्गल प्रचार गरिरहेका छन्। विदेशी हस्तक्षेपको नारा बनाएर भोट माग्ने चलन नेपालमा मात्र होइन, अन्य देशहरूमा पनि छ। तर अब यो अस्त्र काम लाग्दैन, नयाँ पुस्ताले धेरै कुरा बुझिसकेका छन् । ठुला राष्ट्रहरूलाई गाली गरेर न त राष्ट्रियता जोगिन्छ, न त भोट पाइन्छ। सत्य के हो भने नकारात्मक बोलीले परिणाम पनि नकारात्मक नै ल्याउँछ। बोल्दा परराष्ट्र नीतिको पनि ख्याल गर्नुपर्छ । कतै उग्र राष्ट्रवादको बोलीले नेपाली जनताले दुःख नपाउन् । एक जना राजनीतिक विश्लेषकले भन्नुभएको थियो—उग्र राष्ट्रवादको नाराले देशलाई  दुर्गतितिर लैजान सक्छ।

आज नेपाली जनताले विश्व राजनीति राम्रोसँग बुझिरहेका छन्। शक्तिशाली राष्ट्रका राष्ट्रपति देशैबाट गायब हुने अवस्था छ, गाजा भूमि नक्साबाट मेटिने अवस्थामा पुगेको छ, ग्रीनल्यान्ड कब्जा गर्ने कुरा उठिरहेको छ, युक्रेन र ताइवानलाई आफ्नो अस्तित्व जोगाउन गाह्रो भइरहेको छ। इरानमा हजारौँ प्रदर्शनकारी मारिएका छन् र उसमाथि आक्रमणको चेतावनी आइरहेको छ। यस्तो अवस्थामा सामाजिक सञ्जालमा शक्तिशाली मित्र राष्ट्रहरूविरुद्ध उत्तेजक पोस्ट र भाषण गरेर राष्ट्रियता जोगिँदैन।

यदि साँच्चै विदेशी हस्तक्षेप भएको हो भने, प्रत्येक चुनावी आमसभामा कुन–कुन शक्ति राष्ट्रले हाम्रो आन्तरिक मामिलामा खेलिरहेका छन्, जनतालाई यी राष्ट्रहरूको नामै किटेर भनिदिनु पर्‍यो। त्यसपछि जनताले तपाईँ सच्चा राष्ट्रवादी भए नभएको मूल्याङ्कन गर्नेछन् । 

इतिहास हेरौँ—राजा त्रिभुवनलाई भारतले ल्याएर सिंहासनमा राखेको थियो। स्वतन्त्र नेपाललाई विश्व मानचित्रमा मजबुत बनाउन अमेरिकाले सहयोग गरेको थियो। गणतन्त्र ल्याउन १२ बुँदे सम्झौता दिल्लीमा भयो। सशस्त्र द्वन्द्वकालमा माओवादी नेताहरू भारतमा सुरक्षित थिए। नाकाबन्दीका बेला चीनले सहयोग गर्‍यो। सरकार बनाउने र भत्काउने बेला उत्तर र दक्षिण दुवैतर्फ हाम्रा नेताहरूको भ्रमण नेपाली जनताले देखेकै छन् । यी सबै विदेशी हस्तक्षेप थिए कि मित्रराष्ट्रहरूको सहयोग? सद्भाव वा रणनीतिक सम्बन्ध?

हामीजस्तो कमजोर राष्ट्रका लागि वार्ता, संवाद, सद्भाव र सहयोग नै सबैभन्दा प्रभावकारी अस्त्र हुन्। राष्ट्रियता जोगाउन सन्तुलित परराष्ट्र नीति आवश्यक छ। सामाजिक सञ्जालमा लेखेर न त राष्ट्रवादी भइन्छ, न त राष्ट्रियता नै जोगिन्छ—यो त केवल आक्रोश पोख्ने र  मित्र राष्ट्रहरूलाई उत्तेजित गर्ने रणनीति मात्र हो ।

जेनजी विद्रोहको दिन दिल्लीमा भारतीय राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्यो। यसलाई हाम्रा राजनीतिक विश्लेषकहरूले अर्थपूर्ण रूपमा व्याख्या गरे। त्यसको केही दिनपछि एक भूतपूर्व नेपाली सैनिक जर्नलले नेपाल भारतका लागि defensive state हो भन्दै, भारतले आफ्नो राष्ट्रिय सुरक्षामा खतरा देखे जे पनि गर्न सक्छ भनेका थिए। अर्कोतिर विश्व बैंक, संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, युनिसेफ, युरोपियन युनियन, अन्तर्राष्ट्रिय अदालतलगायत थुप्रै अन्तर्राष्ट्रिय संस्थामा अमेरिकाको प्रभुत्व छ। यस्तो अवस्थामा अमेरिकालाई चिढाएर “सुखी नेपाली, समृद्ध नेपाल” कसरी सम्भव हुन्छ?

विदेशी राष्ट्रको नामै नलिई विदेशी हस्तक्षेप भयो भनेर प्रपोगाण्डा गर्नु चुनावअघिको हताश मनोविज्ञानको द्योतक हो। यसले बाल्यकालमा पढेको एउटा कथाको सम्झना दिलाउँछ— एउटा चलाक स्याल राति बाघ आयो, बाघ आयो, भनेर, कराउँथ्यो र त्यो सुनी गाउँलेहरू सबै घरभित्र लुकेर बस्थे। बाघको डर देखाएर स्यालले कुखुरा चोरेर लान्थ्यो। यो प्रक्रिया नियमित चलिरहेको थियो तर एक दिन साँच्चै बाघ आयो र स्यालले बाघ आयो भनेर मद्दत माग्दा, उसलाई बचाउन कोही आएनन् । पुराना पार्टीहरूले पनि वर्षौँसम्म राष्ट्रियताको खतरा, लोकतन्त्र अपहरण र विदेशी हस्तक्षेप को डर देखाएर देश लुटे। अहिले साँच्चै नयाँ शक्तिहरू बाघका रूपमा उदाइरहेका छन्।

चुनाव अन्तिम चरणमा पुग्दासमेत केही समूहहरू चुनाव टार्ने प्रयासमा संसद् पुनर्स्थापनाको कुरा उठाइरहेका छन्, अदालतमा दबाब र मिडिया ट्रायल गरिरहेका छन्। अर्कोतर्फ चुनावपछि बन्ने सरकारको सम्भावित संरचनाले केही समूहहरूलाई असहज बनाएको छ र ती समूहहरू पनि चुनाव भाड्न लागि परेका छन्। 

वर्षातमा आएको पानीको भल रोक्न खोज्दा किनार लाई समेत भत्काएर लग्दछ भने जस्तै चुनावको जनलहरलाई रोक्न खोज्दा विद्रोहको ज्वारभाटा निस्किन सक्छ। 

मानिस जन्मिएपछि बाँच्नुपर्छ, सुरक्षित हुनुपर्छ, अनुशासित जीवन बिताउनुपर्छ र अन्ततः समाजको विश्वास र प्रतिष्ठा कमाउनुपर्छ। पुराना केही नेताहरूले विश्वास गुमाइसकेको अवस्थामा, नयाँ शक्तिमाथि र नयाँ नेतृत्वमाथि जति आरोप लगाए पनि  जनता  झन् झन् उनीहरूकै पक्षमा ढाल बनेर उभिइरहेका छन्।

अन्त्यमा पार्टीहरूलाई यत्ति भन्न चाहन्छु—एउटा चुनाव हार्दैमा आकाश खस्दैन, प्रजातन्त्र समाप्त हुँदैन, देश सकिँदैन। नानीमैयाँ दाहाल, प्रचण्ड र केपी ओलीका पार्टीहरूले पनि  विभिन्न समयमा जनताको बहुमत पाए कै हुन्। त्यसैले यो असहज घडीमा सबै मिलेर निष्पक्ष चुनाव सम्पन्न गरौँ र परिणाम स्वीकार गर्ने परिपक्वता देखाऔँ। यसैमा देश, जनता र लोकतन्त्रको कल्याण हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
लेखकबाट थप