एपस्टिन गोप्य फाइलसँग सम्बन्धित यस्ता छन् ५ मुख्य तथ्य
सारांश
- अमेरिकी न्याय मन्त्रालयले यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित गोप्य दस्तावेजहरू सार्वजनिक गरेको छ, जसमा डोनाल्ड ट्रम्प, एलन मस्क लगायतका प्रभावशाली व्यक्तिहरूको नाम उल्लेख छ।
- सार्वजनिक फाइलहरूमा ट्रम्पबारेका अपुष्ट आरोप र इमेलहरू फेला परेका छन्, जबकि एलन मस्कले एपस्टिनको टापुमा जाने विषयमा इमेल पठाएका थिए।
- बिल क्लिन्टनले एपस्टिनसम्बन्धी सोधपुछमा 'पाँचौं संशोधन' प्रयोग गरेको र पीडितको गोपनीयतामा गम्भीर लापरवाही भएको आरोप लागेको छ।
वासिङ्टन । अमेरिकी न्याय मन्त्रालयले कुख्यात यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित ३० लाखभन्दा बढी पृष्ठका गोप्य दस्तावेजहरू सार्वजनिक गरेको छ। लामो समयदेखि प्रतीक्षा गरिएको यो खुलासामा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अर्बपति एलन मस्क, पूर्वराष्ट्रपति बिल क्लिन्टन र वर्तमान वाणिज्य मन्त्री हावर्ड लुटनीक जस्ता प्रभावशाली व्यक्तिहरूसमेत जोडिएको सीएनएनको समाचारमा उल्लेख छ ।
१. ट्रम्पबारेका अपुष्ट ‘टिप्स’ र इमेल
सार्वजनिक फाइलहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम धेरै ठाउँमा उल्लेख छ। एफबीआईको एक इमेलमा ट्रम्पविरुद्धका केही ‘अश्लील’ तर पुष्टि नभएका आरोपहरूको सूची भेटिएको छ। ह्वाइट हाउसले ती आरोपहरू प्रमाणित नभएको, सेकेन्ड ह्यान्ड जानकारीमा आधारित रहेको र सन् २०२० को चुनावअघि गलत नियतले पठाइएको प्रतिक्रिया दिएको छ। ट्रम्पले एपस्टिनका गतिविधिमा आफ्नो संलग्नता सधैं अस्वीकार गर्दै आएका छन् । यस्तै कानुन कार्यान्वयन निकायले पनि उनलाई कुनै अभियोग लगाएको छैन।
२. एलन मस्क र हावर्ड लुटनीकको पत्राचार
फाइलमा टेस्ला तथा स्पेसएक्सका प्रमुख एलन मस्कले सन् २०१२ र २०१३ मा एपस्टिनको निजी टापुमा जाने विषयमा गरेको इमेल संवाद फेला परेको छ। मस्कले "सबैभन्दा रमाइलो पार्टी कहिले हुन्छ" भनेर सोधेको इमेलमा देखिन्छ, यद्यपि उनी त्यहाँ गए/नगएको स्पष्ट छैन।
यस्तै, ट्रम्प प्रशासनका वाणिज्य मन्त्री हावर्ड लुटनीकले सन् २००५ मै एपस्टिनसँग सम्बन्ध तोडेको दाबी गरे पनि सन् २०१२ मा भेट्ने योजना बनाएको र २०१५ मा हिलारी क्लिन्टनको फन्डरेजिङ कार्यक्रममा एपस्टिलाई निम्तो दिएको इमेलले देखाएको छ।
३. बिल क्लिन्टन र स्टिभ ब्यानन
पूर्व राष्ट्रपति बिल क्लिन्टनले सन् २०१६ मा एपस्टिनसम्बन्धी सोधपुछका क्रममा पटक-पटक 'पाँचौं संशोधन' (आफैंविरुद्ध गवाही दिन नपर्ने अधिकार) प्रयोग गरेको खुलेको छ। क्लिन्टनले एपस्टिनको टापुमा कहिल्यै नगएको दाबी गर्दै आएका छन्। साथै, ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्याननको पनि एपस्टाइनसँग सम्बन्ध रहेको एफबीआई मेमोमा उल्लेख छ।
४. तीन जना सहयोगीमाथि मुद्दा चल्नबाट जोगिए
सन् २००० को दशकको एक ‘मस्यौदा अभियोग पत्र’ अनुसार अभियोजकहरूले एपस्टिनका तीन जना कर्मचारीलाई पनि किशोरीहरूलाई वेश्यावृत्तिमा लगाउन षड्यन्त्र गरेको आरोपमा मुद्दा चलाउने तयारी गरेका थिए। तर, उनीहरूको नाम गोप्य राखिएको छ र अन्ततः उनीहरूमाथि मुद्दा चलाइएन। यसले एपस्टिनका मतियारहरू कानुनी दायराबाट उम्किएको आशंकालाई बल पुर्याएको छ।
५. पीडितको गोपनीयतामा गम्भीर लापरवाही
दस्तावेज सार्वजनिक गर्दा अमेरिकी न्याय मन्त्रालयले पीडितहरूको नाम राम्ररी नहटाएको भन्दै तीव्र आलोचना भएको छ। पीडितका वकिलहरूले यसलाई गोपनीयताको गम्भीर उल्लंघन र विश्वासघात भनेका छन्। फाइलहरूमा १४ वर्षकी बालिकासमेत एपस्इिनको शिकार भएको दर्दनाक विवरणहरू समेटिएका छन्।
सन् २०१९ मा यौन दुर्व्यवहारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बेला एपस्टाइनले आत्महत्या गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण