इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ३२ प्यालेस्टिनीको मृत्यु
सारांश
- शनिबार इजरायलले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा कम्तीमा ३२ प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा महिला र बालबालिका पनि छन्।
- खान् युनिसमा विस्थापित परिवार बसिरहेको टेन्ट शिविरमा हेलिकप्टरबाट गोली प्रहार गर्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ।
- हमासले अमेरिकालाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ र दुवै पक्षले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्।
रफाह । गाजापट्टीका विभिन्न स्थानमा इजरालले शनिबार गरेको हवाई आक्रमणमा कम्तीमा ३२ जना प्यालेस्टिनीको मृत्यु भएको स्थानीय उद्धार अधिकारीहरूले बताएका छन् । हमासद्वारा सञ्चालित नागरिक रक्षा निकायका अनुसार मारिनेमा महिला र बालबालिका पनि छन् ।
सबैभन्दा घातक आक्रमण दक्षिणी सहर खान युनिसमा भएको थियो । यहाँ विस्थापित परिवारहरू बसिरहेको एउटा टेन्ट शिविरमा हेलिकोप्टरबाट गोली प्रहार गरिएको बताइएको छ । यस आक्रमणमा यहाँ एकै परिवारका सात जना मारिएको बताइएको छ । आवासीय अपार्टमेन्टमा भएको अर्को आक्रमणमा तीन बालबालिका र दुई महिलाको ज्यान गएको गाजा सहरको शिफा अस्पतालका अधिकारीहरूले पुष्टि गरेका छन् ।
प्यालेस्टिनीहरूका अनुसार यी आक्रमणहरू अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामको दोस्रो चरण लागू भएयताकै सबैभन्दा भीषण हुन् । इजरायली रक्षा बल (आईडीएफ)ले भने युद्धविराम उल्लङ्घन गरेकोले हमासविरुद्ध प्रतिकारात्मक कारबाही गरेको दाबी गरेको छ । आईडीएफका अनुसार पूर्वी रफाह क्षेत्रमा भूमिगत संरचनाबाट बाहिर निस्कँदै गरेका आठ जना आतङ्कवादीलाई निशाना बनाइएको थियो । मध्य भने गाजामा हतियार भण्डार, उत्पादन केन्द्र र रकेट प्रक्षेपण स्थलमा आक्रमण गरिएको उसको भनाइ छ ।
यी आक्रमणहरूलाई नरसंहार भन्दै हमासले अमेरिकालाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ । ‘हामीले मेरा तीन सानी भतिजीहरू सडकमा मृत भेट्यौँ । सबै जना युद्धविराम भन्छन्—तर यी बालबालिकाले के गल्ती गरेका थिए ?’ खान युनिसका एक पीडितका आफन्त समेर अल–अतबासले रोयटर्ससँग प्रश्न गरेका छन् । स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका तस्बिर र भिडियोहरूमा ध्वस्त भवनहरू र भग्नावशेषबाट शव निकालिँदै गरेको दृश्य देखिएको छ । यस घटनाले गाजामा युद्धविरामको भविष्यबारे फेरि गम्भीर प्रश्न उठाएको छ । दुवै पक्षले एकअर्कामाथि सम्झौता उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण