हिलो र गोबरसँग साइनो नभएकाले मेरो आलोचना गरे : अशिका
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट धादिङ–१ मा उम्मेदवार रहेकी आशिका तामाङले हिलो र गोबरसँग कुनै साइनो नभएकाहरूले आफ्नो आलोचना गरेको बताएकी छिन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्– 'म धादिङको मलेखुमा जन्मिएकी एउटी सामान्य होइन, अत्यन्तै न्यून स्तरको परिवारबाट सङ्घर्ष गर्दै आएकी किसानकी छोरी हुँ। मेरो बाल्यकालका स्मृतिहरू महलका भित्ताहरूमा होइन, मलेखुका तिनै उकाली–ओराली र अर्काको बारीका कान्लाहरूमा कोरिएका छन्। आज मेरो एउटा स्वाभाविक क्रियाकलापलाई लिएर विपक्षीहरूले मसला बनाउँदै व्यङ्ग्य गरिरहँदा मलाई ती आलोचकहरूसँग कुनै गुनासो छैन । किनकि जसले कहिल्यै हिलो र गोबरसँग साइनो गाँसेको छैन, उसले यसको मर्म कहिल्यै बुझ्न सक्दैन।'
उनले लेखेकी छिन्– 'मेरा पूजनीय बुबाले आफ्नो सारा जीवन अर्काकै घरमा बसेर र अर्काकै खेतबारी पसिनाले भिजाएर बिताउनुभयो। आफ्नो भन्ने घरसम्म नभएको त्यो कठिन अवस्थामा बुबाले अर्काको घरमा हली बसेर हामीलाई हुर्काउनुभयो। हाम्रो परिवारको गर्जो तिनै गोठका बाख्रा र खोरका कुखुराहरूले टार्थे। नेपालका तमाम कृषकहरूका लागि ती पशुपन्छी केवल जनावर होइनन्, आफ्नै काखका सन्तान जस्तै हुन्। बिहान उठ्ने बित्तिकै भालेको डाँकसँगै सुरु हुने हाम्रो दिनचर्या बाख्राका पाठापाठीको म्याँ-म्याँ आवाजमै रमाउँथ्यो।'
'जब घरको समस्या टार्न आफूले काखमा खेलाएको पाठो बेच्नुपर्थ्यो, तब बुबा र मेरो मन कति रुन्थ्यो। आफ्नै सन्तान झैँ माया गरेर हुर्काएको जीवलाई पैसासँग साट्नुपर्दाको त्यो पीडा धादिङको मात्र होइन, सम्पूर्ण नेपाली किसानका आँखामा आज पनि झल्किन्छ', उनले भनेकी छिन् ।
तामाङ थप लेख्छिन्– 'विपक्षी साथीहरूलाई मेरो एउटै अनुरोध छ मेरो विरुद्ध भ्रम छर्नु र मेरो धरातललाई गिज्याउनु सट्टा आफ्ना एजेन्डा सहित जनताको घरदैलोमा जानुहोस्। मेरो विरोध गर्नुभन्दा पहिले विगतमा तपाईँहरूले गरेको भ्रष्टाचार र जनतामाथि थोपरेको पापको माफी माग्नुहोस्। तपाईँहरूले मान्छेलाई सधैँ भोटको साधन मात्र बनाउनुभयो, तर अब सचेत जनताले तपाईँहरूको भ्रम बुझिसकेका छन्। मलाई मेरो धरातल र मेरा किसान दाजुभाइ, दिदीबहिनीहरूको अभाव बिर्सने छुट छैन।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण