बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी भिडन्त

काठमाडाैँ – ५ : ‘हेभिवेट’को भिडन्तमा चुनौती बनेका रास्वपा र राप्रपा (स्थानीय मतसहित)

आइतबार, १८ माघ २०८२, १७ : ३०
आइतबार, १८ माघ २०८२

सारांश

  • काठमाडौं-५ मा पुरानै प्रतिस्पर्धीहरूबीच चुनावी भिडन्त हुने सम्भावना छ, जसमा कांग्रेस, एमाले र राप्रपाका उम्मेदवारहरू मुख्य प्रतिस्पर्धामा देखिन्छन्।
  • २०७९ को निर्वाचनमा ईश्वर पोखरेललाई हराएका प्रदीप पौडेल र कमल थापा पनि यस पटक चुनावी मैदानमा उत्रिएका छन्, जसले प्रतिस्पर्धा रोचक बनाउने अनुमान गरिएको छ।
  • रास्वपाका सस्मित पोखरेल र नेकपाकी कल्पना शर्माले 'हेभिवेट' उम्मेदवारलाई चुनौती दिने देखिएको छ, जसले नतिजा अनुमान गर्न कठिन बनाएको छ।

काठमाडौँ । अघिल्लो निर्वाचनझैँ यो पटक पनि काठमाडौँ–५ मा हेभिवेटबिच भिडन्त हुने देखिएको छ । साथै अंकगणितबारे आमचासो पनि बढ्न थालेको छ । 

खासगरी यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका उम्मेदवारबिच (त्रिपक्षीय) भिडन्त हुने सम्भावना छ, यद्यपि नयाँ र वैकल्पिक मानिएका दलहरूले यहाँ पनि टक्कर दिन सक्ने अड्कलबाजी गरिएका छन् । 
काठमाडौँका तीन स्थानीय तहका विभिन्न वडाका मतदाता रहेको यहाँ २०७९ मा तत्कालीन एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कांग्रेसका प्रदीप पौडेल (हाल महामन्त्री)ले हराएका थिए । पोखरेलले १० हजार १७५ मत ल्याउँदा पौडेल १५ हजार २३७ मत ल्याएर निर्वाचित भएका थिए । 

गत पुस पहिलो साता सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट पोखरेल पार्टीको कुनै पनि कार्यकारी पदमा छैनन्, अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा उनी केपी ओलीसँग पराजित भएका थिए । यता पौडेल भने माघमा सम्पन्न कांग्रेस विशेष महाधिवेशनबाट महामन्त्री बनेका छन् । 

२०८२ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यहाँ पाँच स्वतन्त्रसहित २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो पटकझैँ पोखरेल, पौडेल चुनावी मैदानमा हामिँदा यहाँ पुराना अनुहार कमल थापा पनि उम्मेदवार बनेर देखापरेका छन्, जसले प्रतिस्पर्धा थप रोचक हुन सक्ने आकलन गरिएको छ । 

ishwar-pokhrel-photo

तर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार कल्पना शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेलले उनीहरू तीनै जनालाई कडा चुनौती दिन सक्छन् । नेकपाका शर्मा र रास्वपाका पोखरेल ‘हेभिवेट’ उम्मेदवारका लागि चुनौती बन्ने विश्लेषण भइरहँदा यहाँको नतिजा कता जान्छ भन्नु कठिन हुने एमाले–कांग्रेसकै कार्यकर्ताहरू बताउँछन् । 

देश संघीय संरचनामा गएपछि पहिलो पटक २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यहाँ एमाले नेता पोखरेलले कांग्रेसका नेता प्रकाशशरण महतलाई पराजित गरेका थिए । विगतका दुई निर्वाचनको नतिजा हेर्दा काठमाडौँ–५ मा एमाले र कांग्रेसकै उम्मेदवारबिच मुख्य प्रतिस्पर्धा हुने गरेको देखिन्छ । २०७४ मा महतलाई १० हजार मतान्तरले पछि पार्दै यहाँबाट पोखरेल निर्वाचित भएका थिए । उनले २३ हजार २९ मत पाएका थिए भने महतले जम्मा १३ हजार ६९ मत प्राप्त गरेका थिए । तर २०७९ को निर्वाचनमा महत समानुपातिकमा बसेपछि यहाँबाट प्रदीप पौडेलले टिकट पाएका थिए । उनै पौडेलसँग पोखरेल पाँच हजार मतान्तरले पराजित भएका थिए । अर्थात् २०७४ को निर्वाचनमा २३ हजार मत ल्याएका पोखरेलले २०७९ को निर्वाचनमा १० हजार मत घटाए । 

kalpana-photo

र अहिले तीन वर्षअघिको निर्वाचनमा पराजित पोखरेल नतिजा उल्ट्याउने दाउमा छन् भने पौडेललाई विरासत जोगाउने चुनौती छ । यसैबिच यी दुईबिचको प्रतिस्पर्धाको फाइदा लिने कसरतमा राप्रपाका थापा र रास्वपाका पोखरेल लागिपरेका छन् । 

एमालेका पोखरेलले २०६४ र २०७० को संविधानसभाका दुवै निर्वाचनमा पनि यहाँबाट पराजय भोगेका थिए । त्यसबेला उनी कांग्रेस नेता नरहरि आचार्यसँग हारेका थिए । यता राप्रपाका थापा भने २०७९ निर्वाचनमा एमालेकै सूर्य चिह्न लिएर मकवानपुर–१ बाट पराजित भएका थिए । मकवानपुर छाडेर यो पटक काठमाडौँ रोजेका उनले पालैपालो कांग्रेस र एमालेले गढ बनाएको यस क्षेत्रमा जित निकाल्न कम सजिलो भने हुने छैन । 
अघिल्लो निर्वाचनमा काठमाडौँ–५ मा राप्रपाले रामप्रसाद उप्रेतीलाई उम्मेदवार बनाएको थियो । उप्रेतीले यहाँबाट ३ हजार १ सय मत प्राप्त गरेका थिए, जुन चौथो स्थान थियो । तेस्रो स्थानमा भने यहाँ रास्वपाका उम्मेदवार डा. प्रणय शम्शेर राणा थिए, उनले ५ हजार ४७७ मत पाएका थिए । 

२०७९ को निर्वाचनमा काठमाडौँका ४ वटा क्षेत्रमा रास्वापले जित निकाल्दा यहाँ भने निर्वाचित पौडेलभन्दा झन्डै १० हजार कम मत ल्याएको थियो । तर देशभरको लहर र पुरानाप्रतिको वितृष्णाको मत यो पटक भने रास्वपाले यहाँबाट तान्न सक्ने मतदाताहरू बताउँछन् । साथै अघिल्लो निर्वाचनको तुलनामा संगठन विस्तारसमेत बढेकाले यो पटक रास्वपाले ‘हेभिवेट’हरूलाई कडा चुनौती दिन सक्ने देखिन्छ । 

sasmit-photo

यसपटक यहाँबाट रास्वपाले अघि सारेको पोखरेल रास्वपाकै वरिष्ठ नेता बालेन शाहनिकट मानिन्छन् । उनी बालेनको कोर टिममा रहेर काम गरेका व्यक्ति हुन् । यस हिसाबले काठमाडौँ–५ को चुनावी नतिजा थप रोचक र प्रतिस्पर्धी बन्ने देखिन्छ । 

स्थानीय तहमा कसको कति मत ? 

काठमाडौँ–५ मा यस पटक ७८ हजार १४४ मतदाता छन् । यहाँ ३१ केन्द्रमार्फत मतदान हुनेछ । यस क्षेत्रमा काठमाडौँ महानगरपालिकाका २, ३, ४, ५ तथा बुढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६ र ७ नम्बर वडाहरू पर्छन् । त्यस्तै टोखा नगरपालिकाका २ देखि ७ नम्बर वडाहरू पर्दछन् । 

गएको स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा बालेन शाह निर्वाचित भएका थिए । उपप्रमुखमा भने एमालेकी सुनिता डंगोल निर्वाचित भएकी थिइन् । यो निर्वाचन क्षेत्रमा पर्ने कामनपा– २ मा १ हजार ३७७ मतसहित एमालेबाट वडाध्यक्ष निर्वाचित कांग्रेसले दोस्रो मत प्राप्त गरेको थियो । यो वडामा कांग्रेसले ९६३, राप्रपाले २०१, माओवादी १७७, एकीकृत समाजवादी ७४ र जसपा १८ मत प्राप्त गरेको थियो । 

त्यस्तै वडा नं. ३ मा एमाले २ हजार १३८ मत ल्याएर विजयी बन्दा कांग्रेस १ हजार ४९१, एकीकृत समाजवादी ९६६, राप्रपा ५२९ र स्वतन्त्र उम्मेदवारले ३१ मत पाएका थिए । वडा नं. ४ मा पनि एमाले उम्मेदवारले ४ हजार ६०४ मत ल्याएर विजयी भएकोमा दोस्रो मत नेपाली कांग्रेसले पाएको थियो । यहाँ कांग्रेसले २ हजार २८९, राप्रपाले ७८१, माओवादी २०१, जसपा नेपाल २७, र १५ मत स्थानीय निर्वाचनमा परेको थियो । 

त्यसैगरी वडा नं. ५ मा एमालेले १ हजार ८१८ मत पाएर पहिलो बन्दा कांग्रेस १ हजार ५७५ मतसहित दोस्रो बनेको थियो । त्यस्तै ४६ मत अन्यलाई यो वडामा परेको थियो । काठमाडौँ–५ केही वडा पर्ने बुढानीलकण्ठ नगरपालिका प्रमुखमा एमालेका मिठारा अधिकारी १४ हजार २५० मत ल्याएर निर्वाचित बनेका थिए भने उपप्रमुखमा पनि एमालेकै अनिता लामा १४ हजार ३१४ मत ल्याएर निर्वाचित बनेकी थिइन् । 

यहाँ बुढानीकण्ठका वडा नं. ३ मा  ५१२ मत ल्याएर स्वतन्त्र उम्मेदवार निर्वाचित बनेका थिए । यो वडामा एमाले ४७४, कांग्रेस ३२१, एकीकृत समाजवादी २७४, राप्रपा ८३ र माओवादीको २९ मत आएको थियो । 
वडा नं.४ मा १ हजार २५९ मत ल्याएर कांग्रेसका वडाध्यक्ष निर्वाचित भएको यो वडामा एमालेको ८०२, राप्रपा ४७, एकीकृत समाजवादी ३५ र माओवादी ११ आएको थियो । 

pradip-photo

अर्को वडा नं. ५, कांग्रेस ५१४ मत ल्याएर विजयी बन्दा एमाले ४८१, एकीकृत समाजवादीले ३७८ मत प्राप्त गरेको थियो । त्यसैगरी वडा नं. ६ एमाले ७२६ मत ल्याएर निर्वाचित बन्दा कांग्रेस ६९६, स्वतन्त्र १८६, अन्य ८९ मत खसेको थियो । यस्तै वडा नं.७ मा एमाले १ हजार १५ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस ४७५ मतसहित दोस्रो र माओवादी २० मतमा सीमित बनेको थियो । 

उता टोखा नगरपालिका प्रमुख एमालेका प्रकाश अधिकारी १० हजार ३४० मत ल्याएर विजयी बन्दा उपप्रमुखमा कांग्रेसका मुरारी तामाङ १० हजार १३२ मत ल्याएर विजयी बनेका थिए । टोखाको वडा नंं. २ मा एमाले १४२२ मत ल्याएर विजयी बन्दा कांग्रेस ९७, नेमकिपा २०४, नेकपा एकीकृत समाजवादी १००, माओवादी ८७ र राप्रपाले २ मत पाएको थियो । 

त्यस्तै वडा नं. ३ मा एमाले १ हजार ५६० मत ल्याएर विजयी बन्दा कांग्रेस १ हजार ३३०, माओवादी २७०, राप्रपा २६८ र नेमकिपाले २३१ मत ल्याएको थियो । टोखाकै वडा नं.४ मा एमाले ७५३ मत ल्याएर विजयी बन्दा कांग्रेस ३८६, राप्रपा २६१, माओवादी १९१ र अन्य २ मत आएको देखिन्छ । 

वडा नं.५ मा पनि एमाले ७८८ मत ल्याएर विजयी बनेकोमा कांग्रेस ७२७, राप्रपा ११४, माओवादीले ६० मत पाएको थियो । त्यसैगरी वडा नं.६ मा नेपाली कांग्रेस १ हजार ७५ मत ल्याएर विजयी बन्दा एमाले ७६९, राप्रपा १५७, माओवादीको ३९ मत देखिन्छ । 

kamal

वडा नं. ७ एमाले ९७६ मत ल्याएर विजयी बन्दा कांग्रेस ७६५, राप्रपा १११ र माओवादीको ७३ मत परेको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप