भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन, मोबाइलमै आउनेछ रिपोर्ट
सारांश
- बागमती प्रदेश सरकारले भक्तपुरको सूर्यविनायकमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ।
- प्रयोगशालाले क्यान्सर, मिर्गौला, कलेजो लगायतका ९६ प्रकारका नमुना परीक्षण गर्नेछ, जसले जटिल परीक्षणहरूलाई सहज बनाउनेछ।
- क्यूआर कोडमार्फत रिपोर्ट प्राप्त गर्ने र पीसीआर प्रविधिबाट विभिन्न भाइरस परीक्षण गर्ने सुविधा ल्याबमा रहेको छ।
भक्तपुर । बागमती प्रदेश सरकारले भक्तपुरको सूर्यविनायकमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ। २०७५ सालदेखि काभ्रेको धुलिखेलमा सञ्चालन गर्ने तयारी गरिए पनि जग्गा अभावका कारण अन्योलमा परेको यो प्रयोगशाला अन्ततः सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा स्थानान्तरण गरी सञ्चालन गरिएको हो।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले सोमबार आफैँले रगत परीक्षण गराएर प्रयोगशालाको उद्घाटन गरेका छन्। हाल सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयको खाली भवनमा सञ्चालनमा आएको यो ल्याबका लागि सोही क्षेत्रमा ११ करोड रुपैयाँको लागतमा आफ्नै अत्याधुनिक भवन निर्माण प्रक्रिया समेत अघि बढाइएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रयोगशालाका लागि ५ रोपनी जग्गा प्राप्त भइसकेको र एक वर्षभित्र नयाँ भवन निर्माण सम्पन्न हुने मन्त्री थापाले जानकारी दिए।
यो प्रयोगशालाबाट सरकारी तथा निजी अस्पताल र क्लिनिकहरूमा सङ्कलन भएको रगतको परीक्षण निकै सस्तो दरमा हुनेछ। प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीका अनुसार यहाँ क्यान्सर जाँच, मिर्गौला, कलेजो, प्याङ्क्रियाज र लिपिड प्रोफाइलसहित ९६ प्रकारका नमुना परीक्षण गर्न सकिनेछ। यसअघि विदेश पठाउनुपर्ने कतिपय जटिल परीक्षणहरू समेत अब यहीँ सम्भव हुने भएको छ।
प्रयोगशालाले प्रविधिको उच्च प्रयोग गर्दै बिरामीका लागि सहज व्यवस्था मिलाएको छ। अब रिपोर्ट लिन पुनः प्रयोगशाला धाइरहनु पर्ने छैन; क्यूआर कोडमार्फत सिधै मोबाइलमै रिपोर्ट पठाउने व्यवस्था गरिएको छ। यसका साथै पीसीआर प्रविधिबाट इन्फ्लुएन्जा, एचआईभी, क्षयरोग (टीबी), एचपीभी र कोभिड लगायतका भाइरस परीक्षण समेत हुनेछ।
धुलिखेलमा जग्गा नपाउँदा विगत लामो समयदेखि करिब ३० करोड रुपैयाँ बराबरका अत्याधुनिक उपकरणहरू थन्किएर बसेका थिए। उपकरण भए पनि स्थान नहुँदा कर्मचारीहरू कामविहीन हुनुपरेको अवस्थामा भक्तपुरमा ल्याब सञ्चालन हुनुलाई ठुलो उपलब्धिका रूपमा लिइएको छ। यो प्रयोगशालाले बागमती प्रदेशका १३ वटै जिल्लामा रहेका करिब १ हजार २०० ल्याबको निगरानी, अनुमति र नवीकरणको काम समेत गर्ने मेडिकल ल्याब टेक्नोलोजिष्ट अनीलकुमार यादवले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण