बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
निर्वाचन चर्चा

पर्सा–२ का मतदाता भन्छन्, ‘जेनजी आन्दोलनले देशको सत्ता परिवर्तन गर्‍यो, हामी ‘ब्यालेट’मार्फत क्रान्ति ल्याउँछौँ’

मङ्गलबार, २० माघ २०८२, ११ : १६
मङ्गलबार, २० माघ २०८२

सारांश

  • निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू मतदातासँग भेटघाट गरिरहेका छन्, र मतदाताहरूले विभिन्न राजनीतिक घटनाक्रमबारे छलफल गरिरहेका छन्।
  • पर्सा क्षेत्र नम्बर २ का मतदाताहरूले यसपटकको निर्वाचनमा मतको प्रयोगमार्फत परिवर्तन ल्याउने बताउँदै, पुराना नेताहरूको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
  • मतदाताहरूले देशको उन्नति, जनताको भावना बुझ्ने र समस्या समाधान गर्न सक्ने नेतालाई मतदान गर्ने कुरामा जोड दिएका छन्।
00:00 / NaN:NaN
Audio By AI

वीरगन्ज । प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरू टोल–टोलमा पुगेर मतदातासँग भलाकुसारी गरिरहेका छन् । उम्मेदवारहरू चुनाव केन्द्रित अभियानमा जुटिरहँदा मतदातासमेत विभिन्न राजनीतिक घटनाक्रमको लेखाजोखा गर्दै आफ्नो धारणा र निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रस्ट हुन थालेका छन् ।

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर २ का मतदाताहरू जेनजी आन्दोलनबाट देशमा सत्ता परिवर्तन भएको जिकिर गर्दै अब आफूहरूले ब्यालेटमार्फत क्रान्ति ल्याउने बताउँछन् । अहिलेसम्म निर्वाचित प्रतिनिधिहरूले जनतालाई आश्वासनबाहेक अरु केही दिन नसकेको उनीहरूको भनाइ छ ।

खानेपानी, कृषिका लागि पर्याप्त मल, सडक/नाला, रोजगारीको व्यवस्था तथा गुणस्तरीय शिक्षाका लागि कुनै पनि सरकार गम्भीर हुन नसकेका कारण जनतामा निरन्तर आक्रोश बढ्दै गएको भन्दै उनीहरूले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई त्यसकै उपजका रूपमा लिएका छन् ।

Arun lal das, brj 10, xetra2

पर्सा क्षेत्र नम्बर २ मा पर्ने सहरी क्षेत्र वीरगन्ज–१० का अरुणलाल दासले मतदानलाई आफूहरूले आफ्नो सबैभन्दा ठुलो र मुख्य अधिकारका रूपमा लिएको बताए । यो अधिकार प्रयोग गर्दा निकै सोच–विचार गर्नुपर्ने महसुस भइरहेको उनको भनाइ छ । ‘पहिला लहैलहैमा मत हालियो,’ उनले भने, ‘अब त्यसरी नहुने रहेछ । कसलाई भोट दिँदा आफ्नो मतको सम्मान हुन्छ र जनताका समस्या सम्बोधन हुन्छ भन्ने बुझेरमात्र मत हाल्नुपर्ने रहेछ ।’

दासका अनुसार सबै राजनीतिक दल आ–आफ्नो स्वार्थमा लागेका कारण देश र जनताका मुद्दा ओझेलमा पर्दै आएको हो । ‘मेरो क्षेत्रमा जनताले महसुस गर्न सक्ने गरी कुनै काम हुन सकेको छैन,’ उनले भने, ‘चुनाव जितेर जानेहरू मुख देखाउनसमेत आउँदैनन् । त्यस्तालाई भोट दिएर के गर्नु ?’

जनतालाई विभिन्न आश्वासन दिएर, झुक्याएर निर्वाचित हुने र त्यसपछि मुख नदेखाउने नेतालाई अब समर्थन नगर्ने दास बताउँछन् । देशको उन्नति, जनताको भावना बुझ्ने, ठप्प भइरहेको कलकारखाना चलाउन सक्ने नेतालाई यो निर्वाचनमा सघाउने उनको भनाइ छ । ‘सरकारी अड्डामा घुसखोरी उतिकै बढेको छ । जनताको पक्षमा कुनै पनि नेताले बोल्दैनन्,’ उनले भने ।

jaleswar sarraf, xetra2

वीरगन्ज महानगरपालिका वडा नम्बर–२६ निवासी जलेश्वर सर्राफले निर्वाचनमार्फत देशले परिवर्तन खोजिरहेको बताए । उनका अनुसार परिवर्तनको संवाहक को हुन सक्छ र कसले परिवर्तन ल्याउन सक्छ भन्नेबारे निर्वाचनमार्फत जनताले फैसला गर्ने बेला आएको छ ।

सर्राफले भने, ‘पर्सा क्षेत्र नम्बर २ को सवालमा यहाँ खासै केही विकास निर्माणका काम भएको छैन । यसअघि जितेका जनप्रतिनिधिले क्षेत्रका विकासका लागि त्यति ध्यान दिएको देखिएन । जननिर्वाचित भएर पदमा बसुन्जेलसम्म उहाँले के–के गर्नुभयो त ? यी सबै कुरा बुझेरमात्र मत दिने हो ।’

गरिबी, बेरोजगारीका साथै शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उनले बताए । ‘रोजगारीको त कुरै छोडौँ, शिक्षा र स्वास्थ्यको क्षेत्रमा उहाँहरूले के–के गर्नुभयो त ? केही छैन,’ उनले भने, ‘त्यसकारण म अधुरा काम गर्नेहरूको बारेमा केही बोल्दिनँ, तर यति भन्छु– जनताको मुद्दा कसले बोक्न सक्छ र कसले परिवर्तनको नेतृत्व गर्न सक्छ, उसलाई जनताले छान्नेछन् ।’

Jadolal chaurasiya, jagarnathpur22

जगरनाथपुर निवासी जादोलाल चौरसियाले नेताहरू चुनावको समयमा घर–घरमा आएर भोट माग्ने गरेको, तर निर्वाचित भइसकेपछि जनताले उनीहरूलाई खोज्दै हिँड्दा पनि भेट्न नपाउने गरेको बताए । ‘अब यसरी चल्दैन । देश र जनताले परिवर्तन चाहेको छ,’ उनले भने, ‘यो चुनाव त्यही परिवर्तन ल्याउने क्रान्ति बन्छ ।’

चौरसियाले भने, ‘जनताका लागि मलका व्यवस्था गराइदिने, सडक तथा पुल बनाइदिने, हरदम जनताको बिचमा रहने युवा पुस्तालाई समर्थन गर्ने सोच बनाएका छौँ ।’

अलौं निवासी ज्येष्ठ नागरिक जनक राउत अहिरले यो पटकको निर्वाचनमा जनताले विवेक पुर्‍याएर मतदान गर्ने बताए । ‘लोकतन्त्रका लागि संघर्ष गरेका, त्याग गरेका दल भनेर यसअघिका निर्वाचनमा पुराना दल खोजियो,’ उनले भने, ‘जनताको त्यही सदासयतालाई पुराना दलका नेताहरूले हाम्रो कमजोरी ठाने । अब जनताले आफ्नो शक्ति देखाउने समय आएको छ ।’

Janak raut, ahir, alau, 2 xetra

सरकारी कार्यालयमा काम गराउन जाँदा घुस दिनुपर्ने, पानी–ढलको समस्याका लागि गुहार्दा सुनुवाइ नहुने परिपाटी मौलाएको भन्दै उनले जनताको प्रतिनिधि भइसकेपछि जनताका भावनाको कदर गर्नुपर्छ भन्ने सोच नै नभएकाहरूलाई जिताउनुको अर्थ नहुने प्रस्ट पारे । उनले भने, ‘यो चुनावमा जनताले ब्यालेटमार्फत ठुलो क्रान्ति ल्याउने छन् ।’

बहुदरमाई नगरपालिका– १ निवासी दशै दासले निर्वाचनका समयमा घर–घरमा आउने र जितेर गइसकेपछि सत्ताको खेलमा मस्त रहने नेतालाई जनताले सबक सिकाउने बताए । उनले भने, ‘जब–जब चुनाव आउँछ, तब–तब नेताहरू घर–घरमा भोट माग्दै आउँछन् । त्यसपछि फेरि पाँच वर्ष बेपत्ता हुन्छन् । त्यसकारण त्यस्ता नेताको बारेमा अब जनताले पनि विचार गरिसकेको छ ।’ अहिलेसम्म यो क्षेत्रमा अपेक्षित विकास हुन नसकेको उनको भनाइ छ । ‘

Dashai das, bahuddarmai 1 xetra 2

पर्सा क्षेत्र नम्बर–२ मा विभिन्न दल तथा स्वतन्त्र गरी ३२ जनाको उम्मेदवारी दर्ता भएको छ । यस क्षेत्रमा नेकपा एमालेबाट रिमा कुमारी यादव, नेपाली कांग्रेसबाट अजय कुमार चौरसिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील कुमार कानु, नेपाली कम्युनिस्ट पार्टीबाट मनोज कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीना जैसवाल, जसपा नेपालबाट अशोक कुमार अग्रवाल, जनमत पार्टीबाट अशोक कुमार गुप्ता, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट अमिताभ बच्चन दास तत्मासहित उम्मेदवार छन् ।

यो निर्वाचन क्षेत्रमा ९५ हजार १२० मतदाता छन् । २६ वटा वडा छन, जसमा बहुदरमाइ र पर्सागढी नगरपालिका पर्दछन् भने वीरगन्ज महानगरपालिकाको वडापनि यो निर्वाचन क्षेत्रमा पर्दछ । यसअघि यो क्षेत्रबाट पूर्वमन्त्री अजयकुमार चौरसिया निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप