बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाल सुधार गृह सानोठिमीमा अब बालिका मात्रै राखिने

मङ्गलबार, २० माघ २०८२, २३ : ०६
मङ्गलबार, २० माघ २०८२

सारांश

  • सानोठिमीस्थित बाल सुधारगृहबाट १८ वर्ष माथिका ७५ जनालाई नुवाकोट कारागार सारियो।
  • सुधारगृहमा क्षमताभन्दा बढी बालबिज्याइँकर्ता थिए, झडप र आगजनीका कारण संरचनामा क्षति पुग्यो।
  • अब सुधारगृहमा बालिका मात्रै राखिनेछ, प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

भक्तपुर । यहाँको सानोठिमीस्थित बाल सुधार गृहमा रहेका १८ वर्षभन्दा माथिका ७५ बालबिज्याइँकर्तालाई नुवाकोटस्थित केन्द्रीय कारागार खम्पा क्याम्पमा स्थानान्तरण गरिएको छ ।

बालगृहमा क्षमताभन्दा बढी १६९ बालबिज्याइँकर्ता रहँदै आएकामा गत ८ गते राति भएको झडप, आगजनी र तोडफोडका कारण यहाँको अधिकांश संरचनामा क्षति पुगेको थियो भने बालबिज्याइँकर्तालाई जिल्लाका अन्य प्रहरी हिरासतमा स्थानान्तरण गरिएका थिए । पुनः सुधार गृहमा राख्न सक्ने अवस्था नरहेपछि नुवाकोट स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बाल सुधार गृहमा रहँदै आएका १८ वर्षमाथिका ७५ बालबिज्याइँकर्तालाई नुवाकोटस्थित केन्द्रीय कारागार खम्पा क्याम्पमा स्थानान्तरण गरिएको उनले बताए ।

सुधार गृहमा २४ जना बालिकासमेत रहेका थिए । अठार वर्ष उमेर नाघेपछि बालबिज्याइँकर्तालाई कारागार चलान गर्ने कानुनी व्यवस्था नहुँदा ३५ वर्षसम्मका युवाहरूलाई समेत सुधार गृहमा राखिँदै आएको थियो । एउटै सुधार गृहमा ३५ वर्ष उमेरसम्मका बालबिज्याइँकर्ता र बालिकासमेत रहँदा सुरक्षामा चुनौती थपिएको, पटक पटक झडप हुँदा समस्या पर्दै आएको थियो ।

प्रमुख जिल्ला अधिकारी ढकालले बाल सुधार गृहको मर्मत गरी बालिकाहरूलाई मात्रै राख्ने गरी व्यवस्थापन गर्ने तयारी भएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप