बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारी साक्षी बनेर अदालतमा बयान फेर्ने दुई जनाविरुद्ध मुद्दा दायर

बिहीबार, २२ माघ २०८२, १६ : २८
बिहीबार, २२ माघ २०८२

सारांश

  • अख्तियारले सरकारी साक्षीले अदालतमा प्रतिकूल बकपत्र गरेपछि मुद्दा दायर गरेको छ।
  • भक्तपुरका तेज बहादुर तामाङ र सानुकान्छा तामाङलाई घुस मुद्दामा सरकारी साक्षी बनाइएको थियो।
  • उनीहरूले अदालतमा बयान फेरेपछि २४ लाख ५० हजार बिगो कायम गरी मुद्दा चलाइएको छ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा पेस गरिएका दुई व्यक्तिले अदालतमा प्रतिकूल बकपत्र गरेको भन्दै उनीहरू विरुद्ध नै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने तेज बहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध बिहीबार आयोगले आरोपपत्र दायर गरेको हो।

यसअघि भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले मोही जग्गा दर्ता गरिदिने बहानामा २४ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा आयोगले मुद्दा चलाएको थियो। उक्त मुद्दामा तेज बहादुर र सानुकान्छालाई सजायमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो।

तर, उनीहरूले २०८२ भदौ २३ गते विशेष अदालतमा बकपत्र गर्ने क्रममा आयोगमा गरेको अनुसन्धानको बयानको ठिक विपरीत हुनेगरी बयान दिएको आयोगले जनाएको छ। 

अनुसन्धानको क्रममा उनीहरूले घुस दिएको कार्य पुष्टि भए पनि अदालतमा बयान फेरेपछि आयोगले उनीहरूलाई पनि प्रतिवादी कायम गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले उनीहरूविरुद्ध २४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बमोजिम जरिवानाको माग दाबी लिइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप