मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
साना दलकाे चुनाैती

पुराना र वैकल्पिकलाई चुनौती दिइरहेका जेनजी विद्रोहपछिका दल र तिनका उम्मेदवार

बिहीबार, २२ माघ २०८२, १७ : ५७
बिहीबार, २२ माघ २०८२

सारांश

  • जेनजी आन्दोलनपछि अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ।
  • यस निर्वाचनमा कांग्रेस, एमाले, रास्वपा र नयाँ दलहरूबीच प्रतिस्पर्धा हुने सम्भावना छ।
  • कुलमान घिसिङ, हर्क साम्पाङ र जनार्दन शर्मा जस्ता नेताहरूको उदयले प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ।

काठमाडौँ  । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको राप र दबाबबाट बनेको अन्तरिम सरकारले आगामी फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै नेपालको राजनीतिक रंगमञ्चमा नयाँ र रोचक भिडन्तका दृश्यहरू देखा पर्न थालेका छन् ।

यस पटकको निर्वाचन अघिल्लाभन्दा भिन्न छ । एकातिर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाजस्ता परम्परागत शक्तिहरू आफ्नो साख जोगाउने दाउमा छन् भने अर्कोतिर अघिल्लो निर्वाचनमा वैकल्पिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जबर्जस्त क्रेज देखिएको छ ।

तर यी सबैबिच यस पटकको निर्वाचनमा जेनजी आन्दोलनपछिका तीन नयाँ शक्तिहरू–कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’, हर्क साम्पाङ राई नेतृत्वको ‘श्रम संस्कृति पार्टी’, र जनार्दन शर्मा तथा सुदन किराँती नेतृत्वको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) बिच उपत्यकामा रोचक भिडन्त देखाउने पक्का छ ।

नेपालको ऊर्जा क्षेत्रमा चामत्कारिक सुधार गरेर जनताको मन जितेका कुलमान घिसिङले अन्तरिम सरकारको मन्त्री पद छोडेर उज्यालो नेपाल पार्टीमार्फत राजनीतिक यात्रा सुरु गर्नु यस निर्वाचनको सबैभन्दा ठुलो ‘टर्निङ पोइन्ट’ मानिएको छ । धरान उपमहानगरको मेयर पदमा स्वतन्त्र जितेका साम्पाङको श्रम संस्कृतिले उपत्यकाका केही ठाउँमा मत प्रभावित पार्ने देखिन्छ ।

अर्कोतिर, माओवादी आन्दोलनका प्रभावशाली हस्तीहरू जनार्दन शर्मा र सुदन किराँतीले ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) गठन गरेर परम्परागत वामपन्थी राजनीतिमा विद्रोह गरेका छन् । रास्वपाका बौद्धिक नेता सन्तोष परियारको प्रलोपा प्रवेश र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको समर्थनले यस पार्टीलाई थप सुदृढ बनाएको छ । विशेषगरी विकास रसाइली, अमित खनाल, ऊर्जा र ओजस्वी भट्टराईजस्ता जेनजी नेताहरू प्रलोपा प्रवेश गर्दा यस पार्टीले युवा मतदाताको ठुलो हिस्सा तान्ने प्रक्षेपण गर्न सकिन्छ ।

नयाँको इन्ट्रीले काठमाडौँमा रोचक प्रतिस्पर्धा

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा यस पटकको भिडन्त चाखालाग्दो हुने पक्का छ । यहाँ प्रलोपाका सबिन सिग्देलले पुराना हस्तीहरूलाई चुनौती दिइरहेका छन् । विद्यार्थी राजनीतिबाट उदाएका सिग्देलले केही समयअघि आफ्नै प्रगतिशील नागरिक पार्टी बनाएका थिए, पछि उनले प्रलोपासँग एकता गराएका थिए ।

राजनीति शास्त्र, समाजशास्त्र, कानुन र इन्जिनियरिङजस्ता विषयमा ज्ञान भएका सिग्देल सीमा बचाउ अभियानका कारण स्थानीयस्तरमा लोकप्रिय छन् । उनलाई टक्कर दिन श्रम संस्कृति पार्टीका समीर लामा तामाङ र उज्यालो नेपालका मंगलाल श्रेष्ठ मैदानमा छन् । यस क्षेत्रमा पुराना दलका उम्मेदवारहरूलाई यी तीन नयाँ अनुहारले दिने चुनौतीले नतिजा उलटपुलट पार्न सक्ने देखिन्छ ।

काठमाडौँ–२ मा प्रलोपाका बालचन्द्र श्रेष्ठको उम्मेदवारीले एमालेका मणिराम फुयाँल र रास्वपाका सुनिल केसी, राप्रपाकी कुन्ती पोखरेल, कबिर शर्मालाई झड्का दिने देखिन्छ । वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सीए), राष्ट्रिय वाणिज्य बैंकका पूर्वसञ्चालक र त्रिभुवन विश्वविद्यालयका विषय विशेषज्ञसमेत रहेका प्रलोपाका श्रेष्ठको बौद्धिक व्यक्तित्वले शिक्षित मतदातालाई आकर्षित गरेको छ । यससँगै श्रम संस्कृतिका मुकुन्द कार्की र उज्यालो नेपालका पवन पोखरेलले पनि प्रभावकारी उपस्थिति जनाएका छन् । यहाँ ‘रैथाने’ कार्ड र ’बौद्धिकता’ कार्डबिच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

काठमाडौँ–३ मा कुलमान घिसिङ आफैँ मैदानमा उत्रिएका छन् । ‘उज्यालो नेपाल’ को बलिरहेको चिम चिह्न लिएर चुनावी प्रतिस्पर्धामा रहेका घिसिङका लागि तामाङ समुदायको बाक्लो बस्ती र पूर्वप्रशासकीय छवि बलियो आधार हो । रास्वपाका राजुनाथ पाण्डे र एमालेका अनुभवी नेता रामेश्वर फुयाँल घिसिङको लहर रोक्न संघर्षरत छन् । प्रलोपाका शेखर अर्याल र श्रम संस्कृतिका सुवास घिसिङले पनि आफ्नो उपस्थिति देखाउने प्रयास गरेका छन्, तर मुख्य चर्चा कुलमानकै छ ।

काठमाडौँ–४ र ५ मा पनि नयाँ दलहरूको प्रभाव उल्लेखनीय छ । क्षेत्र नम्बर ४ मा प्रलोपाका दत्त बुढा, श्रम संस्कृतिका बरुण अमात्य र उज्यालो नेपालका झनक बहादुर अधिकारीले स्थापित राजनीतिक दलहरूलाई तनाव दिइरहेका छन् । क्षेत्र नम्बर ५ मा अभिनेत्री निशा अधिकारी ‘गतिशील लोकतान्त्रिक पार्टी’ बाट ब्याट्री चुनाव चिह्न लिएर मैदानमा आउँदा युवा र महिला मतदाता उत्साहित छन् । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङ यस पटक उज्यालो नेपालको तर्फबाट बलियो प्रतिस्पर्धी बनेका छन् ।

काठमाडौँ ६, ७, ८, ९ र १० मा पनि नयाँ दलहरू पुराना दलका लगि ‘टाउको दुखाइ’ बनेका छन् । क्षेत्र नम्बर ७ मा प्रलोपाका अमिन रत्न ताम्राकार र उज्यालो नेपालकी विमला लामाले स्थानीय नेवाः समुदायको मुद्दा प्रखर रूपमा उठाएका छन् । क्षेत्र नम्बर ९ मा राजु रोक्का (प्रलोपा) र रामेश्वर श्रेष्ठ (उज्यालो नेपाल) को सक्रियताले पुराना दलको परम्परागत ‘भोट बैंक’ मा बिगार्ने खतरा छ ।

ललितपुर र भक्तपुरमा पनि चुनौती

ललितपुर जिल्लाका तीनवटै क्षेत्रमा नयाँ दलहरूले सुझबुझपूर्ण उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर १ मा प्रलोपाका रोहित कुमार बास्तोलाले ‘लोकप्रियतावादको आवरणमा मौलाएको नवफासीवाद’ विरुद्ध अभियान छेडेका छन् । ऊर्जा मन्त्री हुँदा लोडसेडिङ अन्त्यको नेतृत्व गरेका जनार्दन शर्माको पार्टीबाट बास्तोला उम्मेदवार बनेपछि यस क्षेत्रमा विकास र सुशासनको नयाँ आशा जगाएको त्यहाँका कतिपय मतदाता बताउँछन् ।

उनीसँगै श्रम संस्कृतिका गौतम थापा र उज्यालो नेपालका पदम कुमारले कांग्रेसका उदयशमशेर राणा र एमालेका चेतनाथ संजेललाई चुनौती दिएका छन् । रास्वपाका ललितपुर सभापति बुद्धरत्न मानन्धरलाई पनि नयाँ दलका उम्मेदवारहरूले कठिन बनाएका छन् ।

ललितपुर–२ मा राजा राम तण्डुकारको उम्मेदवारीले सबैको ध्यान खिचेको छ । नदी किनार विस्तार विरुद्धको आन्दोलन र नेवाः संस्कृति बचाउ अभियानका अग्रणी तण्डुकार उज्यालो नेपाल पार्टीबाट चुनाव लड्दा स्थानीय रैथाने मतदाताको मत तान्ने देखिन्छ । प्रलोपाका इन्जिनियर कृष्ण महर्जनले पनि यस क्षेत्रको चुनावी नतिजालाई प्रभावित पार्ने सामथ्र्य राख्छन् । श्रम संस्कृतिका सरोज राई पनि यस क्षेत्रमा उम्मेदवार छन् ।

क्षेत्र नम्बर ३ मा प्रलोपाका विष्णु राज खड्का र श्रम संस्कृतिका ऋतुवर्तन राईले रास्वपा र पुराना दलको विकल्प दिने प्रयास गरेका छन् ।

भक्तपुरमा पनि नयाँ दलहरूको इन्ट्रीले परम्परागत राजनीतिलाई तताएको छ । भक्तपुर–२ मा प्रलोपाले श्रमजीवी पत्रकार जन्मदेव जैसीलाई मैदानमा उतारेको छ । प्रखर वक्ता जैसीको उम्मेदवारीले एमालेका महेश बस्नेत, कांग्रेसका कबीर राणा र नेकपाका दीपशिखालाई रक्षात्मक बनाएको छ । उज्यालो नेपाल पार्टीका जित राम लामा पनि यहाँबाट उम्मेदवार छन् । श्रम संस्कृतिका अर्जुन बासुले पनि भक्तपुरको राजनीतिमा नयाँ रङ्ग थपेका छन् ।

भक्तपुर १ मा रवि खाइजु (प्रलोपा) र रमेश बल्ल (उज्यालो नेपाल)ले नेमकिपाको किल्लामा आफ्नो उपस्थिति देखाउन खोजे पनि चर्चामा खासै छैनन् । नेपाली कांग्रेस, एमाले, रास्वपा र राप्रपाका चर्चित अनुहारहरूका लागि यो निर्वाचन जेनजी आन्दोलनपछिका नयाँ दलका उम्मेदवारहरूले सजिलो बनाएका छैनन् ।

विशेषगरी कुलमान घिसिङ, सबिन सिग्देल, बालचन्द्र श्रेष्ठ, निशा अधिकारी, श्रीराम गुरुङ, राजा राम तण्डुकार, जन्मदेव जैसी, रोहित बास्तोलाजस्ता उम्मेदवारहरू विद्रोहको रूपमा मैदानमा छन् । 

यस्ताे छ नयाँ दलका उपत्यकाका उम्मेदवारहरूकाे सूची

निर्वाचन क्षेत्र

उम्मेदवारको नाम

लिङ्ग

पार्टीको नाम

चुनाव चिह्न

काठमाडौं १

सबिन सिग्देल

पुरुष

प्रगतिशील लोकतान्त्रिक पार्टी

खुलेको एकल आँखा

काठमाडौं १

समिर लामा तामाङ

पुरुष

श्रम संस्कृति पार्टी

अँजुलीमा रहेको माटो

काठमाडौं १

मंग लाल श्रेष्ठ

पुरुष

उज्यालो नेपाल पार्टी

बलिरहेको बिजुलीको चिम

काठमाडौं २

बाल चन्द्र श्रेष्ठ

पुरुष

प्रगतिशील लोकतान्त्रिक पार्टी

खुलेको एकल आँखा

काठमाडौं २

मुकुन्द कार्की

पुरुष

श्रम संस्कृति पार्टी

अँजुलीमा रहेको माटो

काठमाडौं २

पवन पोखरेल

पुरुष

उज्यालो नेपाल पार्टी

बलिरहेको बिजुलीको चिम

काठमाडौं ३

कुलमान घिसिङ

पुरूष

उज्यालो नेपाल पार्टी

बलिरहेको बिजुलीको चिम

काठमाडौं ३

शेखर अर्याल

पुरुष

प्रगतिशील लोकतान्त्रिक पार्टी

खुलेको एकल आँखा

काठमाडौं ३

सुवाश घिसिङ

पुरुष

श्रम संस्कृति पार्टी

अँजुलीमा रहेको माटो

काठमाडौं ४

दत्त बुढा

पुरुष

प्रगतिशील लोकतान्त्रिक पार्टी

खुलेको एकल आँखा

काठमाडौं ४

बरुण अमात्य

पुरुष

श्रम संस्कृति पार्टी

अँजुलीमा रहेको माटो

काठमाडौं ४

झनक बहादुर अधिकारी

पुरुष

उज्यालो नेपाल पार्टी

बलिरहेको बिजुलीको चिम

काठमाडौं ५

विष्णु श्रेष्ठ

पुरुष

प्रगतिशील लोकतान्त्रिक पार्टी

खुलेको एकल आँखा

काठमाडौं ५

नीशा अधिकारी

महिला

गतिशील लोकतान्त्रिक पार्टी

ब्याट्री

काठमाडौं ५

अमित थापा

पुरुष

श्रम संस्कृति पार्टी

अँजुलीमा रहेको माटो

काठमाडौं ५

श्रीराम गुरुङ

पुरुष

उज्यालो नेपाल पार्टी

बलिरहेको बिजुलीको चिम

काठमाडौं ६

गिरी राज अर्याल

पुरुष

प्रगतिशील लोकतान्त्रिक पार्टी

खुलेको एकल आँखा

काठमाडौं ६

लवली थापा

महिला

श्रम संस्कृति पार्टी

अँजुलीमा रहेको माटो

काठमाडौं ६

वारिस धरेल

पुरुष

उज्यालो नेपाल पार्टी

बलिरहेको बिजुलीको चिम

काठमाडौं ७

अमिन रत्न ताम्राकार

पुरुष

प्रगतिशील लोकतान्त्रिक पार्टी

खुलेको एकल आँखा

काठमाडौं ७

मणिराम बहादुर प्रधान

पुरुष

श्रम संस्कृति पार्टी

अँजुलीमा रहेको माटो

काठमाडौं ७

विमला लामा

महिला

उज्यालो नेपाल पार्टी

बलिरहेको बिजुलीको चिम

काठमाडौं ८

शिव सुन्दर कर्माचार्य

पुरुष

श्रम संस्कृति पार्टी

अँजुलीमा रहेको माटो

काठमाडौं ८

राजन खड्गी

पुरुष

उज्यालो नेपाल पार्टी

बलिरहेको बिजुलीको चिम

काठमाडौं ९

राजु रोक्का

पुरुष

प्रगतिशील लोकतान्त्रिक पार्टी

खुलेको एकल आँखा

काठमाडौं ९

बलराम श्रेष्ठ

पुरुष

श्रम संस्कृति पार्टी

अँजुलीमा रहेको माटो

काठमाडौं ९

रामेश्वर श्रेष्ठ

पुरुष

उज्यालो नेपाल पार्टी

बलिरहेको बिजुलीको चिम

काठमाडौं १०

केशवराज अर्याल

पुरुष

प्रगतिशील लोकतान्त्रिक पार्टी

खुलेको एकल आँखा

काठमाडौं १०

धन बहादुर श्रेष्ठ

पुरुष

श्रम संस्कृति पार्टी

अँजुलीमा रहेको माटो

काठमाडौं १०

राकेश न्यौपाने

पुरुष

उज्यालो नेपाल पार्टी

बलिरहेको बिजुलीको चिम

ललितपुर १

रोहित कुमार बास्तोला

पुरुष

प्रगतिशील लोकतान्त्रिक पार्टी

खुलेको एकल आँखा

ललितपुर १

गौतम थापा

पुरुष

श्रम संस्कृति पार्टी

अँजुलीमा रहेको माटो

ललितपुर १

पदम कुमार लामा

पुरुष

उज्यालो नेपाल पार्टी

बलिरहेको बिजुलीको चिम

ललितपुर २

कृष्ण महर्जन

पुरुष

प्रगतिशील लोकतान्त्रिक पार्टी

खुलेको एकल आँखा

ललितपुर २

सरोज राई

पुरुष

श्रम संस्कृति पार्टी

अँजुलीमा रहेको माटो

ललितपुर २

राजा राम तण्डुकार

पुरुष

उज्यालो नेपाल पार्टी

बलिरहेको बिजुलीको चिम

ललितपुर ३

बिष्णु राज खड्का

पुरुष

प्रगतिशील लोकतान्त्रिक पार्टी

खुलेको एकल आँखा

ललितपुर ३

ऋतुवर्तन राई

पुरुष

श्रम संस्कृति पार्टी

अँजुलीमा रहेको माटो

ललितपुर ३

विजय पन्त

पुरुष

उज्यालो नेपाल पार्टी

बलिरहेको बिजुलीको चिम

भक्तपुर १

रबि खाइजु

पुरुष

प्रगतिशील लोकतान्त्रिक पार्टी

खुलेको एकल आँखा

भक्तपुर १

बिष्णु हरि न्हिसुतु

पुरुष

श्रम संस्कृति पार्टी

अँजुलीमा रहेको माटो

भक्तपुर १

रमेश बल्ल

पुरुष

उज्यालो नेपाल पार्टी

बलिरहेको बिजुलीको चिम

भक्तपुर २

जन्मदेव जैसी

पुरुष

प्रगतिशील लोकतान्त्रिक पार्टी

खुलेको एकल आँखा

भक्तपुर २

अर्जुन बासु

पुरुष

श्रम संस्कृति पार्टी

अँजुलीमा रहेको माटो

भक्तपुर २

जित राम लामा

पुरुष

उज्यालो नेपाल पार्टी

बलिरहेको बिजुलीको चिम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप