बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कानुनका प्राध्यापक एवं वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डितसँग 'वारपार'

‘संसद् पुनर्स्थापनाको सम्भावना छैन, देउवा समूहले आधिकारिकता पाउने देखिँदैन’

शुक्रबार, २३ माघ २०८२, १९ : ००
शुक्रबार, २३ माघ २०८२

सारांश

  • वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डितले निर्वाचनको महत्वबारे प्रकाश पार्दै देशलाई सुदृढ बनाउनुपर्ने बताए।
  • पण्डितले रवि लामिछाने र माधव नेपाल निर्वाचित भए पनि शपथ लिन पाउने/नपाउने कानुनी पक्षबारे आफ्नो धारणा राखे।
  • उनले बालेन साहको साहस र गगन थापाको प्रधानमन्त्री बन्ने सम्भावना र चुनौतीबारे चर्चा गरे।

काठमाडौं । ३७ वर्ष कानुनको प्राध्यापक रहेका वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको यथार्थपरक विश्लेषण गर्ने क्षमता राख्छन् । अहिलेसम्म कुनै राजनीतिक लाभको पदमा नबसेका र भविष्यमा पनि त्यस्तो मोह नभएको बताउने पण्डित आफ्नो विचार निर्धक्कसँग  राख्न सक्छन् ।

कोलम्बिया विश्वविद्यालय, न्यूयोर्कबाट वाणिज्य कानुनमा स्नातकोत्तरअन्तर्राष्ट्रिय कानुनमा दिल्ली विश्वविद्यालयबाट स्नातकोत्तर र वाणिज्य र बैंकिङ कानुनमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका गरेका पण्डितसँग संसद् पुनर्स्थापनाको सम्भावना, नेपाली कांग्रेसभित्रको किचलोका विषयमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दा, रास्वपा सभापति रवि लामिछानेको सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन महान्यायाधिवक्ताको कार्यालयले निर्णय, यदि निर्वाचन जिते माधव नेपाल र रवि लामिछानेले सांसदको शपथ लिन पाउँछन् कि पाउँदैनन् ? लगायत विषयमा प्रा. डा. पण्डितसँग रातोपाटीले लामो कुराकानी गरेको छ ।

प्रस्तुत छ पण्डितसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा) :

gandhi pandit (2)

  • अहिले मुलुक निर्वाचनमय भएको छ। तपाईँलाई व्यक्तिगत रूपमा निर्वाचन कस्तो लागेको छ?

निर्वाचन हुनुपर्छ र मुलुक निर्वाचनमय भइसकेको छ। निर्वाचन भनेको उम्मेदवारले भाग लिएर, चुनाव जितेर सत्तामा बसेर रजाइँ गर्ने मात्र होइन। निर्वाचनले देशलाई जनताको चाहना र आकाङ्क्षा अनुसार गणतन्त्रलाई सुदृढ गर्दै आर्थिक रूपान्तरण, शान्ति सुरक्षा र सुशासन दिनुपर्छ। जनता सुखी र समृद्ध हुनुपर्छ। विगतका बेथितिलाई हटाएर देशलाई अगाडि बढाउने माध्यम निर्वाचन हो। म कुनै दलमा नलागे पनि देश बन्नुपर्छ भन्ने मान्यता राख्छु, त्यसैले म निर्वाचनप्रति उत्साहित छु।

  • निर्वाचनपछि अब देश बन्छ भन्ने आस छ तपाईँलाई?

यसका दुईवटा पक्ष छन्। यो निर्वाचनलाई विगतको निर्वाचनको तुलनामा फरक रूपमा हेर्नुपर्छ। विगतमा गठबन्धनको सरकार बन्यो, चार वर्षको लागि निर्वाचित भएको सरकारले अस्थिरता ल्यायो। अहिलेको निर्वाचनको उद्देश्य भनेको रूपान्तरण हो। हिजोको पद्धतिभन्दा फरक, नयाँ पुस्ता र नयाँ सोचबाट अघि बढ्नुपर्छ।

gandhi pandit (3)

दोस्रो कुरा, विगतमा देखिएको भ्रष्टाचार र बेथितिको मुख्य जड भनेको संविधानमा भएको समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीको मिश्रित व्यवस्था हो। जसले गर्दा कुनै पनि दलको स्पष्ट बहुमत आउन नसक्ने अवस्था छ। त्यसैले, यो निर्वाचनमा मतदाताले क्रस भोटिङ गरेर भए पनि, एउटा राम्रो दल वा उम्मेदवारलाई स्पष्ट बहुमत दिनुपर्छ ताकि भोलि संविधान संशोधन गरेर राजनीतिक स्थिरता कायम गर्न सकियोस्।

  • यसअघि कसैको बहुमत आएन, अबको निर्वाचनपछि कुनै दलको बहुमत आउला त?

यदि मतदाताले हिजोकै परिपाटी अनुसार भोट दिने हो भने, फेरि पनि कसैको बहुमत नआउन सक्छ। यदि कसैको बहुमत आएन भने युवा पुस्ताले खोजेको परिवर्तन र आकाङ्क्षा पूरा हुन सक्दैन। त्यसैले मतदाताले पार्टीको ह्विपभन्दा माथि उठेर, देशलाई निकास दिन सक्ने गरी भोट दिनुपर्छ। अबको आवश्यकता भनेको संविधान संशोधन गर्न दुई तिहाई बहुमत चाहिएको छ। त्यो बहुमत ल्याउने गरी मतदाताले निर्णय गर्नुपर्छ।

  • तपाईँको आशय अनुसार, कि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आउनुपर्छ कि नेपाली कांग्रेस आउनुपर्छ भन्ने हो?

हो, मुख्य प्रतिस्पर्धा यिनै शक्तिहरू बिच हुनुपर्छ। कांग्रेसभित्र गगन थापा र विश्वप्रकाश शर्माजीहरूले जुन रूपान्तरणको मुद्दा उठाउनुभएको छ, त्यो पनि एउटा आशाको केन्द्र हो। अर्कोतर्फ रास्वपा नयाँ शक्ति हो। एमाले पनि पुरानो पार्टी हो, तर केपी ओलीजीको नेतृत्वमा नयाँ पुस्तालाई स्थान दिने कुरामा अलि सङ्कुचन देखिन्छ। त्यसैले मतदाताले यी दुई शक्ति वा जसले रूपान्तरणको एजेन्डा बोकेको छ, उसलाई बहुमत दिनुपर्छ। मेरो भनाइ के हो भने, पाँच-सातवटा पार्टीलाई थोरै-थोरै भोट दिएर ‘हङ पार्लियामेन्ट’ बनाउनु हुँदैन।

gandhi pandit (4)

  • रवि लामिछाने र माधव नेपालजीहरू निर्वाचित भए पनि उहाँहरूले संसद्मा गएर शपथ खान पाउनुहुन्न भन्ने चर्चा छ। यसमा कानुनी व्यवस्था के छ?

यो सन्दर्भमा देवराज घिमिरेजी सभामुख हुँदा रवि लामिछानेजीलाई निलम्बन गर्ने कुरा आएको थियो। उहाँमाथि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा छ। तर, सम्पत्ति शुद्धीकरण ऐन र भ्रष्टाचार निवारण ऐन अनुसार, सार्वजनिक पदमा बसेको व्यक्तिलाई मुद्दा लाग्दा स्वतः निलम्बन हुने व्यवस्था छ। तर सांसदलाई सार्वजनिक पद वा लाभको पद मानिने कि नमानिने भन्नेमा बहस छ।

मेरो विचारमा, सांसद पद राजनीतिक पद हो, यो लाभको पद होइन। विगतमा प्रधानमन्त्री वा मन्त्रीहरूले चुनाव लड्दा पदबाट राजीनामा नदिई लडेका उदाहरण छन्। त्यसैले सांसदलाई लाभको पद मान्न मिल्दैन।

अर्को कुरा, फौजदारी मुद्दा लाग्दैमा ऊ दोषी प्रमाणित भइसकेको हुँदैन। अन्तिम फैसला नआएसम्म उसलाई अपराधी करार गर्न मिल्दैन। कानुनको सर्वमान्य सिद्धान्त अनुसार अभियुक्त र अपराधी फरक कुरा हुन्। त्यसैले निर्वाचित भएपछि उहाँहरूले शपथ लिन र सांसदको भूमिका निर्वाह गर्न पाउनुपर्छ। यद्यपि, नैतिक प्रश्न भने उठ्न सक्छ।

  • केपी ओलीजी अथवा शेरबहादुर देउवाजीलाई हामी जति गाली गर्छौँ, अहिले सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दामा रविजीको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको तयारी छ, यसमा ओली, देउवा र रविमा के फरक भयो त?

म रविजीको पक्ष वा विपक्षमा बोल्दिन, कानुनको कुरा गर्छु। रविजीमाथि लगाइएको सम्पत्ति शुद्धीकरणको मुद्दा मेरो दृष्टिमा अलि बढी नै हो। सहकारी ठगी भनेको एउटा विषय हो, तर सम्पत्ति शुद्धीकरण हुनको लागि स्रोत नै गैरकानुनी हुनुपर्छ। जस्तैलागु औषध, हतियार बेचबिखन वा मानव बेचबिखनबाट कमाएको सम्पत्ति। सहकारीबाट ऋण लिएर नतिरेको विषयलाई सिधै सम्पत्ति शुद्धीकरण भन्न मिल्दैन कि भन्ने मेरो तर्क हो।

gandhi pandit (1)

सरकारले मुद्दा फिर्ता लिन पाउने कानुनी अधिकार राख्छ। महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गर्न सक्छन्। तर, त्यो निर्णय गर्दा तथ्य र प्रमाणको आधारमा हुनुपर्छ, राजनीतिक पूर्वाग्रह वा लेनदेनको आधारमा होइन। यदि प्रमाण पुग्दैन भने मुद्दा फिर्ता लिन सकिन्छ।

  • बालेन साहको बारेमा तपाईँको के धारणा छ?

बालेनजीले एउटा ठुलो आँट र जोखिम लिनुभएको छ। उहाँले स्वतन्त्र रूपमा मेयर जितेर काठमाडौँमा जुन काम गर्नुभयो, त्यसले उहाँप्रति जनताको विश्वास बढेको छ। उहाँले ‘म प्रधानमन्त्रीको उम्मेदवार हुँ’ भनेर जुन घोषणा गर्नुभयो, यो एउटा बोल्ड निर्णय हो। यसले पुराना दलहरूलाई पनि दबाब सिर्जना गरेको छ। उहाँको जित्ने नजित्ने कुरा एउटा पाटो हो, तर उहाँले युवा पुस्तामा एउटा तरङ्ग ल्याउनुभएको छ। उहाँको उम्मेदवारीले पुराना नेताहरूलाई चुनौती दिएको छ, जुन लोकतन्त्रको लागि राम्रो हो।

  • अन्त्यमा, गगनजीलाई प्रधानमन्त्री हुनका लागि चुनौतीहरू के देख्नुहुन्छ?

गगनजीको व्यक्तिगत क्षमता र वाक्पटुता राम्रो छ। उहाँको लागि मुख्य चुनौती भनेको उहाँको आफ्नै पार्टी नेपाली कांग्रेसभित्रको गुटबन्दी र पुरानो नेतृत्व हो। शेरबहादुर देउवाजी पार्टी सभापति हुनुहुन्छ, उहाँको पकड बलियो छ। गगनजीले संसदीय दलको नेता जित्न सक्नुपर्छ। त्यसका लागि आगामी निर्वाचनमा उहाँको पक्षका सांसदहरू बढी निर्वाचित भएर आउनुपर्छ। यदि उहाँले पार्टीभित्रको समीकरण मिलाउन सक्नुभयो र जनताले कांग्रेसलाई बहुमत दिए भने उहाँ प्रधानमन्त्री बन्ने सम्भावना बलियो छ।

भिडियो/फोटो : कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप