बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वतन्त्र परीक्षण प्रणालीः उपभोक्ता सुरक्षा र नेपालको विकास आधार

शुक्रबार, २३ माघ २०८२, १७ : ४४
शुक्रबार, २३ माघ २०८२

सारांश

  • तेस्रो पक्ष परीक्षणले उत्पादनको गुणस्तर, सुरक्षा र प्रभावकारिताको वैज्ञानिक मूल्याङ्कन गर्दछ।
  • यसले स्वास्थ्य सुरक्षाको सुनिश्चितता, बजार विश्वास अभिवृद्धि, र कानुनी मापदण्डको पालना गर्न मद्दत गर्दछ।
  • नेपालको आर्थिक विकासका लागि स्वतन्त्र प्रयोगशालाको विकास, उपभोक्ता अधिकारको संरक्षण र निर्यात विस्तारमा यो महत्त्वपूर्ण छ।

हामीले दैनिक प्रयोग गर्ने सामान–औषधि, खानेकुरा, सौन्दर्य सामग्री, खेलौना वा निर्माण सामग्री–कति सुरक्षित र गुणस्तरीय छन् भन्ने प्रश्न प्रायः अनुत्तरित रहन्छ ।

बजारमा पाइने औषधिले अपेक्षित रूपमा काम गर्छ कि गर्दैन ? हामीले खाने खाद्यपदार्थ र बच्चाले खेल्ने खेलौना विषालु रसायनमुक्त छन् कि छैनन् यस्ता प्रश्नहरूको वैज्ञानिक र विश्वासिलो उत्तर दिने प्रक्रिया नै तेस्रो पक्ष परीक्षण हो । 

तेस्रो पक्ष परीक्षण भन्नाले कुनै उत्पादन वा सेवाको गुणस्तर, सुरक्षा र प्रभावकारिता निर्माता वा सेवा प्रदायकभन्दा अलग रहेको स्वतन्त्र र निष्पक्ष प्रयोगशालाद्वारा गरिने वैज्ञानिक मूल्याङ्कन हो । व्यावसायिक स्वार्थ र पूर्वाग्रहबाट मुक्त हुने भएकाले यस्तो परीक्षणको विश्वसनीयता उच्च हुन्छ । 

किन आवश्यक छ तेस्रो पक्ष परीक्षण ? 

१. स्वास्थ्य र सुरक्षाको सुनिश्चितता

औषधि र खाद्यपदार्थको हकमा यो जीवन–मरणसँग जोडिएको विषय हो । उदाहरणका लागि, कुनै औषधिमा सक्रिय तत्त्वको मात्रा मापदण्डभन्दा कम भएमा उपचार प्रभावकारी हुँदैन, बरु जोखिम बढ्छ । तेस्रो पक्ष परीक्षणले औषधि, खाना र उपभोक्ता सामग्रीमा आवश्यक तत्त्वको मात्रा, विषाक्त पदार्थको उपस्थिति तथा स्वच्छता मापदण्ड वैज्ञानिक रूपमा प्रमाणित गर्छ । 

२. निष्पक्षता र बजार विश्वास

निर्माताले आफ्नो उत्पादन राम्रो छ भन्नु स्वाभाविक हो, तर जब स्वतन्त्र प्रयोगशालाले परीक्षण गरेर ‘यो सुरक्षित र गुणस्तरीय छ’ भन्ने प्रमाणपत्र दिन्छ, तब उपभोक्ता, व्यापारी र नियामक निकाय सबैको विश्वास बढ्छ । जस्तैः कुनै सिमेन्ट उद्योगले दाबी गरेकै आधारमा बलियो मानिँदैन, इन्जिनियरिङ प्रयोगशालाको परीक्षण प्रतिवेदनले मात्र त्यसको वास्तविक क्षमता प्रमाणित गर्छ । 

३. कानुनी तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना

नेपालमा औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागजस्ता निकायहरूले धेरै उत्पादनमा तेस्रो पक्ष परीक्षण अनिवार्य गरेका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन निर्यात गन आईएसओजस्ता अन्तर्राष्ट्रिय मापदण्डअनुसारको परीक्षण रिपोर्ट आवश्यक हुन्छ । 

नेपालको सन्दर्भमा यसको व्यापक महत्त्व

नेपालजस्तो आयातमा निर्भर र निर्यात सम्भावना बोकेको देशका लागि स्वतन्त्र प्रयोगशालाको विकास केवल प्राविधिक आवश्यकता मात्र होइन, आर्थिक विकासको आधार पनि हो । स्थानीय जडीबुटीको ब्रान्डिङ र निर्यातः हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीको औषधीय गुण वैज्ञानिक रूपमा प्रमाणित गर्न सके तिनलाई अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा निर्यात गर्न सकिन्छ । 

अनुसन्धान र नवप्रवर्तनः आधुनिक प्रयोगशालाले नेपाली वैज्ञानिक, विद्यार्थी र अनुसन्धानकर्तालाई स्वदेशमै अनुसन्धान गर्ने वातावरण दिन्छ, जसले प्रतिभा पलायन रोक्न सहयोग पुर्‍याउँछ । पूर्वाधार विकासमा गुणस्तरः सडक, पुल, भवन निर्माणमा प्रयोग हुने छड, सिमेन्ट र अन्य सामग्रीको स्वतन्त्र परीक्षणले संरचनाको आयु र सुरक्षा दुवै बढाउँछ । भूकम्पीय जोखिमयुक्त देशका लागि यो अत्यन्तै आवश्यक छ । 

उपभोक्ता अधिकारको संरक्षणः मिसावटयुक्त खाद्यवस्तु, म्याद नाघेका सामग्री र गुणस्तरहीन उत्पादनको पहिचान गरी उपभोक्तालाई ठगीबाट जोगाउन तेस्रो पक्ष प्रयोगशालाहरू ‘वाचडग’का रूपमा काम गर्न सक्छन् । 

तेस्रो पक्ष परीक्षण केवल औपचारिक प्रक्रिया होइन, यो उत्पादनको गुणस्तर, सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्ने आधारभूत संयन्त्र हो । नेपालले आफ्ना प्राकृतिक स्रोतहरूको सदुपयोग गर्न, निर्यात विस्तार गर्न र नागरिकको स्वास्थ्य तथा सुरक्षाको रक्षा गर्न मान्यताप्राप्त, अत्याधुनिक र स्वतन्त्र प्रयोगशालाहरूको सञ्जाल विस्तार गर्न ढिलाइ गर्नु हुँदैन । 

जब उत्पादन वैज्ञानिक परीक्षणको कसीमा खरो उत्रन्छ, तब मात्र राष्ट्रको आर्थिक समृद्धि र जनविश्वास दुवै मजबुत बन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजयेश्वर पोखरेल
विजयेश्वर पोखरेल
लेखकबाट थप