‘सुनिल थापाले खलपात्रलाई पनि नायकसरह लोकप्रियता र इज्जत दिलाए’
सारांश
- वरिष्ठ फिल्म निर्देशकले अभिनेता सुनिल थापाको निधनको खबर सुनाए, जसले उनलाई स्तब्ध बनायो।
- निर्देशकका अनुसार, थापाले 'चिनो' फिल्ममा 'राते काइँला'को भूमिका निर्वाह गरी नेपाली फिल्म क्षेत्रमा ठूलो योगदान दिए।
- निर्देशकले थापाको सादगी, अभिनयप्रतिको लगनशीलता र अरूलाई सम्मान गर्ने बानीको प्रशंसा गरे।
हिजो (शनिबार)को दिन एउटा ठुलो बज्रपातको खबरसँगै सुरू भयो । म निद्राबाट ब्युँझिँदा फोन बजिरहेको थियो । त्यो फोन रोयल भीमसेन भाइको थियो । उनले सुनिल (सुनिल थापा) को निधनको खबर सुनाए । म पत्याउनै सकिरहेको थिइनँ । फेरि कृष्ण मल्लको फोन आयो । उनले पनि सोही कुरा दोहोर्याए । मलाई एकछिन त यो संसार नै ठप्प भएजस्तो महसुस भयो । विश्वासै लागेन । मलाई अहिले पनि कता–कता लागिरहेको छ, के साँच्चै सुनिल नरहेको विपना नै हो त ? कतै म कुनै नराम्रो सपना त देखिरहेको छैन ?
अघिल्लो दिन (शुक्रबार) बेलुका मात्रै म र कृष्ण मल्ल भाइ सँगै बसेर सुनिलसँग भिडियो च्याटमा कुरा गरेका थियौं । त्यतिबेला हाँस्दै बोलेको मान्छे बिहानै नरहेको खबर सुन्दा मन कसरी सम्हाल्न सकिन्छ र ? सुनिलको निधनको खबर दुई जनाबाट पाउने बित्तिकै म जर्याकजुरुक उठें । त्यो खबरले मेरो भन्दा पनि बढी नराम्रो अवस्था त मेरी श्रीमती भारतीको भयो । भारती र सुनिलकी श्रीमती रजनी एकदमै मिल्ने साथी थिए । हामी मुख समेत नधोई सिधै अस्पतालतिर दौडियौँ । त्यहाँ पुग्दा बाक्लै साथीभाइ जम्मा भएका रहेछन् । सबैका अनुहार मलिन थिए, कसैको आँखा ओभानो थिएन । म त्यहाँ टोलाएर बसिरहें ।
त्यतिबेलासम्म मलाई लागिरहेको थियो । अहिल्यै सुनिल जुरुक्क उठ्छ र सधैं झैं आफ्नो त्यो ठुलो स्वरमा भन्छ, ‘अरे क्या है, म त जिउँदै छु त !’ तर प्रकृतिको विधानलाई कसले टार्न सक्छ र ?
हाम्रो मित्रता आजको होइन, सन् १९८२–८३ देखिको हो । मैले पहिलोपटक ‘मशाल’ भन्ने फिल्मको रेकर्डिङको समयमा मुम्बईमा सुनिललाई भेटेको थिएँ । त्यतिबेला सुनिल बलिउडमा एकदमै व्यस्त र चर्चामा थिए । उनले धेरै हिन्दी फिल्म गरिरहेका थिए । त्यसपछि हाम्रो नियमित भेटघाट हुन थाल्यो ।

म फिल्म ‘चिनो’ बनाउने तरखरमा थिएँ । त्यसबेला थुप्रै पुराना कलाकारलाई फिल्मको प्रस्ताव गरें, कुरा मिलिसकेको थिएन । सुनिल मुम्बईमा भएकाले आउँछन् भन्ने लागेको थिएन । त्यसैले पहिले यतैका कलाकारसँग कुरा गरें । जब मैले फिल्म ‘चिनो’मा काम गर्नका लागि सुनिललाई प्रस्ताव गरें, उनले एक शब्द पनि नाइँनास्ती गरेनन् । उनले मलाई यो पनि सोधेनन् कि ‘मेरो रोल के हो वा मलाई कति पैसा दिन्छौ ? ‘तुलसी दाइ, तपाईंले बोलाएपछि म आउँछु, चलो आता हूँ’ उनले यति मात्र भने । बलिउडको त्यो ठुलो चमकधमक र उचाइलाई छोडेर नेपाली फिल्ममा काम गर्न आउनु उनको नेपालप्रतिको अगाध प्रेमको प्रतीक थियो ।
‘चिनो’ फिल्मले सुनिल र मलाई मात्रै नयाँ उचाइ दिएन, नेपाली फिल्म क्षेत्रलाई एउटा जीवन्त पात्र दियो ‘राते काइँला’ । यो पात्रको नामबाट उनी सधैं चिनिए । उनले खलपात्रलाई पनि नायक सरहको लोकप्रियता र इज्जत दिलाए । त्यसपछि फिल्म क्षेत्रमा खलपात्रको पनि हिरोको जस्तो चर्चा हुन थाल्यो ।
फिल्ममा ‘राते काइँला’को त्यो पात्र मेरो आफ्नै गाउँको एउटा वास्तविक क्रिमिनल पात्रबाट प्रभावित थियो, जसलाई मैले पर्दामा उतार्न चाहेको थिएँ । सुनिलले त्यो पात्रलाई यसरी आत्मसात गरे कि आज धेरैलाई ‘चिनो’का हिरोहरू को थिए भन्ने याद नहोला, उनको पात्रको नाम याद छ । अहिले पनि ‘राते काइँला’को नाम सुन्ने बित्तिकै मानिसको आङ सिरिङ्ग हुन्छ ।

मलाई आज पनि याद छ, ‘चिनो’को सुटिङ भइरहेको बेला उनको छोरा जन्मेको खबर आयो । उनी खुसीले गद्गद् भए । उनले मलाई सोधे, ‘दाइ, छोराको नाम के राखौं ?’ मैले केहीबेर सोचेर भनिदिएँ, ‘एउटा मलाई मनपर्ने नाम छ, अनमोल ।’ उनलाई त्यो नाम यति मन पर्यो कि उनले तुरुन्तै छोराको नाम अनमोल राखिदिए । पछि छोरी जन्मिँदा पनि नाम मैले दिएँ । हाम्रो सम्बन्ध केवल निर्देशक र कलाकारको मात्रै थिएन, हामी त एउटा परिवार थियौं । हाम्रो घर र उनको घरको सम्बन्ध यति गहिरो थियो, हामी प्रोफेसनल कुराभन्दा बढी व्यक्तिगत सुख–दुःख साटासाट गर्थ्यौं ।
पछिल्लो समय मैले सुनिलसँग फिल्म ‘पहाड’मा काम गरेको छु । केही समयअघि म मुम्बई जाँदा फोनमा आएपछि भेट्ने कुरा भएको थियो । त्यसअघि मात्रै हामीले डबिङको काम सकाएका थियौं । म मुम्बईबाट फर्किएको तीन दिन भयो । भेट्ने इच्छा अधुरै रह्यो ।
सुनिल एकदमै राम्रो कलाकार मात्र होइन, कामप्रति यति धेरै इमानदार थिए कि आजकलका नयाँ कलाकारहरू जस्तो मेरो सट कहिले सकिन्छ, म कहिले घर जान पाउँछु भनेर घडी हेर्ने बानी कहिल्यै थिएन । उनी सेटमा अरू कलाकारको सटमा पनि बसेर हेर्थे र राम्रो हुँदा गुड सट भनेर हौसला दिन्थे । उनको त्यो सादगी र सरलता नै उनको सबैभन्दा ठुलो गहना थियो । पर्दामा जतिसुकै ‘खुंखार भिलेन’ देखिए पनि वास्तविक जीवनमा उनी एउटा सानो बालक जस्तै थिए । सानो सानो कुरामा पनि उनी इमोसनल हुन्थे र रोइहाल्थे । उनको हृदय कोमल थियो ।
उनको खानपिनको सौख आफ्नै खालको थियो । उनी जे पनि मन पराएर खान्थे, विशेषगरी नन–भेज खानेकुरा । कहिलेकाहीं हामी बसेर रमाइलो गर्दै एक–दुई पेग पिउँथ्यौँ, तर उनले कहिल्यै मात्ने गरी पिएनन् । उनी सधैं एउटा सीमामा रहन्थे । उनको एउटै मात्र नराम्रो बानी भनेको चुरोट थियो । धेरै चुरोट पिउँथे । बिचमा ६ महिना जति छोडेका पनि थिए, तर फेरि नसकेर सुरू गरेछन् । उनले मलाई भन्ने गर्थे- ‘तुलसी दाइ, म त पहिलाको भन्दा आधी भइसकें, अब त धेरै कम गरिसकें ।’ तर सायद त्यही चुरोट नै उनको स्वास्थ्यको शत्रु बन्यो कि ?
उसको सपना फिल्ममा एकदमै च्यालेन्जिङ भूमिका गर्ने थियो । मलाई भन्थे- ‘मैले एकदम च्यालेन्जिङ रोल नै पाइरहेको छैन यार । मलाई एकदम मेहनत गर्नुपर्ने कुनै रोल, यस्तो सोच्नु न हो । कसैले गर्न नसक्ने रोल त्यो चाहिँ म गर्न ट्राइ गरौँ भन्ने छ ।’ जति भूमिका गरे पनि, जति नाम भए पनि एउटा अझै गतिलो रोल पाए हुन्थ्यो भन्ने तिर्सना थियो सुनिलमा ।

मैले अहिले भन्नुपर्दा नेपाली फिल्म क्षेत्रले आज एउटा यस्तो तारा गुमाएको छ, जसको स्थान अब कहिल्यै कसैले लिन सक्ने छैन । चेतन कार्की दाइ, प्रकाश थापा दाइ जस्ता हस्तीहरू जाँदा जुन रिक्तता भएको थियो, आज सुनिलको बिदाइले त्यो खाल्डो झन् गहिरो बनाएको छ । भिलेन त धेरै आए र आउनेछन्, तर सुनिल थापा जस्तो गहिराइ भएको र मानिसको मनमा बस्न सक्ने भिलेन अब सायदै कोही होला । उनले आफ्नो अभिनयको माध्यमबाट नेपाली फिल्मलाई मात्र होइन, इन्डियन फिल्महरूमा पनि राम्रो छाप छोडेका छन् ।
आज सुनिल भौतिक रुपमा हामीमाझ छैनन्, तर उनका फिल्महरू, उनको त्यो ‘राते काइँला’को गर्जन र उनको त्यो सरल स्वभाव सधैं हाम्रा सम्झनामा जीवित रहनेछन् । मेरो पुस्ताले त उनलाई सधैं सम्मान गर्ने नै छ, म चाहन्छु आउने नयाँ पुस्ताका कलाकारहरूले पनि सुनिल थापाबाट धेरै कुरा सिकुन् । उनीबाट सादगी, अभिनयप्रतिको लगनशीलता र अरूलाई सम्मान गर्ने संस्कार सिकुन् ।
सुनिल भाइ, तिमी सुटुक्क गयौ, हामी सबैलाई झुक्याएर गयौ । कतै कुनै दिन जुरुक्क उठेर फेरि ‘तुलसी दाइ’ भन्दै आउँछौ कि भन्ने आशा अझै मनको कता–कता जीवितै छ । तिम्रो अभाव यो इन्डस्ट्रीमा र मेरो व्यक्तिगत जीवनमा सधैं खड्किरहनेछ । तिमी जहाँ छौ, शान्तिसँग बस । मेरो प्रिय भाइ, अलबिदा ।
(वरिष्ठ फिल्म निर्देशक तथा कलाकार घिमिरेसँग रातोपाटीकर्मी कुबेर गिरीले गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण