बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रियलको रोमाञ्चक जित, बार्सिलोनासँगको दुरी छोटियो

सोमबार, २६ माघ २०८२, ०६ : १४
सोमबार, २६ माघ २०८२

सारांश

  • केलियन एमबाप्पेको निर्णायक गोलले रियल म्याड्रिडले भ्यालेन्सियालाई हरायो।
  • रियलले लिगमा बार्सिलोनासँगको अंक दूरी एकमा झार्यो र जितको श्रृंखला कायम राख्यो।
  • खेलमा अल्भारो करेरासले गोल गरे र भ्यालेन्सियाका खेलाडी पोस्टमा चुके।

म्याड्रिड । स्टार फरवार्ड केलियन एमबाप्पेले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेपछि रियल म्याड्रिडले ला लिगामा भ्यालेन्सियामाथि कठिन जित दर्ता गरेको छ। यो जितसँगै रियलले लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अङ्क दुरी मात्र एकमा झारेको छ। 

घरेलु मैदानमा भएको प्रतिस्पर्धामा रियलले सातौँ लगातार जित निकाल्ने क्रममा भ्यालेन्सियालाई पराजित गरेको हो। खेलको सुरुवाती समयमा बलमाथि नियन्त्रण राखे पनि रियलले पाहुना टोलीको रक्षापंक्ति तोड्न निकै सङ्घर्ष गर्नु परेको थियो। 

भिनिसियस जुनियर र जुड बेलिङ्घम जस्ता मुख्य खेलाडी बिना मैदान उत्रिएको अल्भारो अर्बेलोवाको टोलीले पहिलो हाफमा गोलका केही अवसर सिर्जना गरे पनि भ्यालेन्सियाका गोलकिपर स्टोल दिभित्रिएभ्स्की बाधक बने। 

दोस्रो हाफको २०औँ मिनेटमा अल्भारो करेरासले उत्कृष्ट गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। उनले दुई डिफेन्डरलाई छक्क्याउँदै प्रहार गरेको बलले जाली चुमेपछि म्याड्रिडका समर्थकमा उत्साह छाएको थियो।

यद्यपि, भ्यालेन्सियाले पनि खेलमा फर्कने प्रयास नगरेको भने होइन। लुकास बेल्ट्रानको प्रहार पोस्टमा ठोक्किँदा भ्यालेन्सिया बराबरी गर्नबाट चुकेको थियो। 

खेल सकिनै लाग्दा एमबाप्पेले सिजनको आफ्नो ३८औँ गोल गर्दै टोलीको जित सुनिश्चित गरे। उनले तल्लो क्रसलाई सदुपयोग गर्दै बललाई पोस्टको दिशा दिएका थिए। 

हार बेहोरेको भ्यालेन्सिया रेलिगेसन क्षेत्रभन्दा मात्र एक अङ्क माथि १७औँ स्थानमा खुम्चिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप